रामेछाप प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार बिक्रम राना मगर भन्छन्–‘ मुलुकको हितका लागि प्रचण्ड, ओली र देउवाको पतन अनिवार्य’


काठमाडौँ । बिक्रम राना मगर रामेछापमा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्र भित्र बेथिती मौलाएपछि पार्टी नै समाप्त हुने स्थिति आएको भन्दै उनले विद्रोह गरेका हुन् ।

हुलाक संचारसंग कुरा गर्दै नेता मगरले नेकपा माओवादी केन्द्र नेतृत्वको प्राइभेट कम्पनी भएको आरोप लगाए । पार्टीमा नीति, विचार, सिद्धान्त र मुद्दामा छलफल हुन छाडेको उनको गुनासो छ । नेतृत्वलाई जे मन लाग्यो त्यही पार्टीको निर्णय हुने परिपाटी आफूलाई मन नपरेको उनको भनाइ छ ।

केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामेछाप जिल्लाका इन्चार्ज श्याम श्रेष्ठ कुशलका कारण आफू विक्षिप्त भएको मगरको गुनासो छ । जिल्ला इन्चार्ज श्रेष्ठले आफूले टिकट नपाउने भएपछि कांग्रेसका लागि टिकट सिफारिस गर्नु दुर्भाग्य भएको उनी बताउँछन् । प्रचण्डले पनि देशभरका नेता कार्यकर्ताको भावना बुझन नसकेको उनको आरोप छ ।

मगर भन्छन्, ‘ प्रचण्डलाई भेट्न मलाई ९ वर्ष लाग्यो । म पार्टीको सिनियर नेता, हजारौं कार्यकर्तासहित ०७० सालमा माओवादीमा प्रवेश गरेको नेतालाई स्वकिय सचिव, पीए भन्नेहरुले भेटाएनन् । त्यस्तो पार्टी पनि उँभो लाग्छ ? माओवादी पार्टी समाप्त हुँदैछ ।’

मुलुकको अवस्था नाजुक हुनुमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिम्मेवार भएको मगरको भनाइ छ । उनका अनुसार ओली मुलुकका लागि सबैभन्दा बढी घातक छन् । देशका लागि ओलीसहित प्रचण्ड र देउवाको पतन अनिवार्य छ ।

सत्ता गठवन्धन र एमालेबाट जनता वाक्कदिक्क भएकाले अबको निर्वाचनमा चमत्कारीक नतिजा आउने मगरको दाबी छ । पद र पैसाका लागि मात्र दलका नेताहरु कुदिरहेको उनको आरोप छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar