सविन पुलामी मगर’साकार’
सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए ।विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो।
राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूर्ण अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन। नेपालको राजनीतिक इतिहासअनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ। जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ। नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन्। भाइ हो ! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे।
उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी। मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठनले गोरखाको बुङकोट काहुले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे। त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए ।
तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए। चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन्) ले खोलेकाले ४०–५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के। काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाई मनकामना बाराहीकै छेउमा झुन्ड्याई मार्नू !’ जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे। जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौ पुर्याइ मारियो।
जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे। तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबारअगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो। सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो। अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो। लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो।
उनी स्वयं बुङकोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो। स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ। मलाई झुन्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू। यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू। मलाई झुन्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए ।स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए। गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए । लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ। केही वर्षअघिसम्म लखनलाई झुन्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए।
उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङकोट, काहुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ। प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए ।
उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन। सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो। ‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो।
नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तर्त्रि्कयामार्फत दबाब दिइरह्यो। मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए । व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशानुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
सामान्य ज्ञानदेखि इतिहासकारबीच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ । जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए।
उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुन्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ। २०६२/६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ। घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापा मगरबाट गरिएको छ।नेपाल मगर संघ केन्द्रिय समिती र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्टे्रलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए।
विरसहिद अमर रहुन!
सहिदको सपना पुरा गह्रौ!