गृहमन्त्री बादलको निर्देशन: अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नु’


चितवनः गृहमन्त्री राम वहादुर थापा मगर ‘बादल’ले अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्न पर्हरिलाइ निर्देशन दिनुभएको छ। समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताउनु भएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले समृद्धि र सुख एउटा पाटो हो भने शान्ति सुरक्षा अर्काे पाटो भएको बताउनुभयो ।

लक्ष्य हासिल गर्नका लागि सुरक्षा मजबुद बनाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभयो । आन्तरिक सुरक्षाको निगरानीमा सरकारको जोड रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताउनुभयो । एक पालिका एक ईलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीलाई निर्देशन दिंदै उहाँले भन्नुभयो “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।” मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई संकटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।” पहाडी क्षेत्रमा प्रहरीचौकी विस्तारको रणनीतिमा सरकार रहेको उहाँले स्पष्ट पार्नुभयो ।चितवन जिल्लाको विकास तीब्र गतिमा भईरहेको भन्दै उहाँले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताउनुभयो । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा सदस्य घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, बरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, प्रहरी नायव उपरीक्षक शंकर सिलवाललगायतले बोल्नु भएको थियो ।

११ कोठे सो भवन रु. १ करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माण सम्पन्न भएको हो। भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar