माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको हो,उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’


थबाङ (रोल्पा) । उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताउनुभएको छ।  माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिनुभयो।  मुलुकका अन्य भेगमा गणतन्त्रको नारा शिथिल भइसकेका बेला थबाङ र रोल्पाले उक्त नारा सशक्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उहाँको भनाइ थियो।  सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थबाङले खेलेको भूमिका अन्तर्राष्ट्रियकरण भइसकेको उहाँले उल्लेख गर्नुभयो। अब भने थबाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उपराष्ट्रपतिले बताउनुभयो ।  ‘इतिहासमा थबाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो। जनयुद्धमार्फत् गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ। नेपालबाट सामान्तवादको अन्त्य भएको छ। गणतन्त्र र संविधान हाम्रो बच्चा हो। बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ।’  संविधानले नागरिकलाई कुनै पनि अधिकारबाट वञ्चित नगराएको भन्दै उहाँले संविधान निर्माणको स्वामित्व थबाङ र रोल्पाले लिने स्पष्ट गर्नुभयो। ‘सधैं एउटै बाटोमा मात्र हिडिरहँदा परिस्थितिले लात हान्न सक्छ, थुक्न सक्छ’, उहाँले भन्नुभयो, ‘पहिल्यैदेखि राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं। अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन। हामीले माग पूरा गर्नुपर्छ।’  रोल्पालीहरु मुलुकको साधनश्रोत वितरण गर्ने ठाउँमा पुगेकाले अब आफ्नो गाउँ र जिल्लाको सबै मिलेर विकास गर्नुपर्नेमा उहाँको जोड थियो। विगतमा रोल्पाली नेतृत्व र जनता एकाकार हुँदा मुलुकबाटै सामन्तवादको अन्त्य भएको भन्दै उहाँले विकास र समृद्धि हासिल गर्न पनि नेतृत्व र जनता एकाकार हुनुको विकल्प नरहेको बताउनुभयो।  उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि चेतावनी दिनुभयो। विद्रोही हुँदा र हाल राजनीतिको मूलप्रवाहमा प्रवेश गरेपछिको रोल्पा र थबाङको अवस्थामा धेरै फरक आइसकेको भन्दै उहाँले केही पनि भएन भन्ने निरासा त्याग्न आग्रह गर्नुभयो।  ‘नुन बोक्न दाङ र कोइलाबास जानुपथ्र्यो। अहिले आफ्नै घरमा नुन आइपुगेको छ। सहिद मार्गका कारण थबाङसम्म गाडी आएको छ। खोलाहरुमा पुल बनेका छन्। कृषिमा आधुनिकीकरण हुँदैछ। नेपालकै ठूलो सोलार ग्रिड थबाङमा बनिरहेको छ। स्वास्थ्य र शिक्षाको अवस्थामा धेरै सुधार भएको छ। सिंगो जिल्ला विद्युतीकरण हुँदैछ’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘रोल्पा र थबाङको अनुहार फेर्ने कामको नेतृत्व क्रान्तिबाट आएका रोल्पाली नेताहरुले गरिरहेका छन्।’  फरक प्रसंगमा उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताउनुभयो। प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहेको उहाँले बताउनुभयो। धनीलाई एक प्रकारको र गरिबलाई अर्को प्रकारको शिक्षा हुने अवस्था कायमै रहे समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने भएकाले सम्बद्ध सबैले त्यसलाई मनन गर्नुपर्ने उहाँको भनाइ थियो।  उपराष्ट्रपतिले सोही विद्यालयबाट ३४ वर्षअघि एसएलसी पास गर्नुभएको थियो। 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar