थबाङको विद्यालयलाई उपराष्ट्रपति, ऊर्जामन्त्री र पूर्वसभामुखको आर्थिक सहयोग

रोल्पा । उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले रोल्पाको थबाङ स्थित श्री वीर बलभद्र नमूना विद्यालयलाई आफ्नो एक महिनाको तलव सहयोग घोषणा गरेका छन् ।

नेपाल सरकारले विद्यालयलाई नमूना घोषणा गरेपछि औपचारिक उद्घाटनका लागि आइतबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै उपराष्ट्रपति नन्द वहादुर पुनमगर ‘पासाङ’ले विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका हुन् ।विद्यालयको शैक्षिक सुधारको लक्षसहित आइतबार नै अक्षय कोष स्थापनाको औपचारिक उद्घाटन गरिएको छ ।सो कोषका लागि नन्द वहादुर पुनमगर ‘पासाङ’ले आफ्नो एक महिनाको तलबमा कर र विभिन्न कोषमा कट्टि हुने रकम बाहेक सहयोग गर्नेछन् ।सो विद्यालय नन्द वहादुर पुनमगर ‘पासाङ’ले अध्ययन गरेको विद्यालय हो । उनले सोही विद्यालयबाट एसएलसी पास गरेका थिए ।

अक्षय कोषमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन मगर’ अनन्त!’ पूर्वसभामुख ओनसरी घर्तीमगरले एक एक लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन मगर ‘अनन्तको सम्बोधन।

आइतबार आयोजित कार्यक्रमलाई संबोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन मगर’ अनन्त’ले आफू र पूर्वसभामुख घर्तीमगरको तर्फबाट एक एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

एक करोडको अक्षय कोष बनाउने अभियान लिइएको अभियानमा आइतबारमात्रै करिब २५ लाख रूपैयाँ सहयोगको प्रतिबद्धता घोषणा भएको छ ।अक्षय कोषमा टंकप्रसाद प्रतिष्ठानले ९ लाख सहयोगको घोषणा गरेको छ । विद्यालयको कार्यक्रममा सहभागी हुन थबाङ पुगेका प्रतिस्ठानका कार्यकारी निर्देशक गोविन्द दुलाल व्यक्तिगत १ लाखसहित ९ लाख सहयोग गर्ने घोषणा गरे ।

उपराष्ट्रपति पुनको भाषणको पूर्ण पाठ ।

१. उत्कृष्ट सामुदायिक विद्यालय वीर बलभद्र नमूना माध्यमिक विद्यालयको औचापरिक रुपमा नमूना विद्यालय उद्घाटन कार्यक्रममा उपस्थित हुन र आदरणीय थबाङबासी आमा बुवा, दिदी–बहिनी तथा दाजुभाईहरुसँग भेटघाट गर्न पाउनु मेरो लागि निकै गौरव र खुसीको अवसर हो । सर्वप्रथमतः म नेपाल सरकारको अगुवा नमूना विद्यालय कार्यक्रमअन्तर्गत नमूना विद्यालयका लागि यो विद्यालय छनौट भई आज उद्घाटन भएकोमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावक तथा सम्पूर्ण थबाङबासीमा हार्दिक बधाई दिन चाहन्छु ।

२. आजै यो विद्यालको शैक्षिक सुधारका लागि अक्षय कोष स्थापनाको औपचारिक सुरुवात गरिएको छ । विद्यालयको गुणस्तरीय शिक्षाका लागि गोरखा मेमोरियल फण्ड, बेलायतबाट स्थापित कम्प्युटर ल्याव हस्तान्तरण गरिएको छ । आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि समुदाय तहबाटै सुरुवात गरिएको अक्षय कोष स्थापना तथा कम्प्युटर ल्याब स्थापना भएकोमा समेत विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरुमा म बधाई ज्ञापन गर्न चाहन्छु ।

भद्र महिला तथा सज्जन वृन्द

३. आज म निकै खुसी छु । किन की म यसै विद्यालयको पूर्व विद्यार्थी हुँ । ३४ वर्षअघि यसै विद्यालयबाट मैले एसएसली पास गरेको हुँ । जब मलाई सदरमुकाम लिबाङमा रहेको विद्यालयबाट विद्यालय वा राजनीति छाड्न चेतावनी दिइयो म ९ कक्षामा भर्ना हुन यहाँ आएँ । यहींबाट एसएलसी पास गरेँ । आज यो कार्यक्रममा उपस्थित हँुदा यस विद्यालयको कक्षा कोठामा पढेको, छात्राबासमा बसेको, प्राङगणमा खेलेका क्षण ताजै भएर आएका छन् । मेरा गुरुहरु, सहपाठीहरुलाई विशेष स्मरण गरिरहेको छु ।

४. आफूले पढेको विद्यालयले शैक्षिक क्षेत्रमा गरिरहेको प्रगति देखेर अत्यन्त गौरवाम्बित र हर्षित छु । गत शैक्षिक सत्रको एसइइमा यो विद्यालयले जुन नतिजा दियो, यो यस विद्यालय, रोल्पाको मात्रै होइन देशैभरका सामुदायिक विद्यालयका लागि खुसी र गौरवको विषय हो । आज नमूना विद्यालयको रुपमा छनौट हुनु पनि यो विद्यालयको ठूलो प्रगति हो । नमूना विद्यालय छनौटका लागि माननीय शिक्षामन्त्रीज्यू र यसको पहल गर्नुहुने ऊर्जामन्त्रीज्यू, जनप्रतिनिधिहरु, विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिदिनुहुने गोरखा मेमोमोरियल फण्डका प्रतिनिधि तथा विद्यालयको प्रगतिमा सहयोग गर्नुहुने सबैलाई म यस विद्यालयको पूर्व विद्यार्थीको हैसियतले समेत धन्यवाद व्यक्त गर्दछु । खुसीको यस क्षणमा २०१५ सालमा यो विद्यालय स्थापना गर्नुहुने आदरणीय बर्मान बुढालगायत संस्थापकहरु, विद्यालयलाई यहाँसम्म ल्याईपु¥याउनु हुने सबैलाई स्मरण गर्दै धन्यवाद व्यक्त गर्दछु ।

आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरु,

५. शिक्षाको महत्व विशाल छ । आज हामीले जस्तो जनशक्ति उत्पादन गर्छौँ भोलीको राष्ट्र त्यस्तै बन्नेछ । भोलीको राष्ट्रका लागि हामीले कस्तो जनशक्ति उत्पादन गर्छौँ ? यो हाम्रो आजको शिक्षा र शिक्षा प्रणालीमा निर्भर रहन्छ । समृद्ध नेपाल निर्माणका लागि हामीलाई दक्ष जनशक्तिको खाँचो छ । हाम्रो शिक्षा प्रणाली यसै आवश्यकतालाई पूर्ति गर्ने प्रकारको हुनुपर्दछ ।
६. सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर यस्तो होस् की जहाँ पढ्दा हाम्रा नानी बाबुहरुले गौरवको अनुभूति गरुन् । अभिभावकहरुले सामुदायिक विद्यालयमा नानी बाबु पढाउन पाएकोमा गौरव गरुन् । सरकार, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरु सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारितापूर्वक काम गर्ने हो भने यो कुनै गाह्रो हो जस्तो मलाई लाग्दैन । म यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

७. संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । तर, पनि कतिपय बालबालिका शिक्षाको पहुँचबाट बञ्चित छन् । हामी जसलाई भोलीका राष्ट्रका कर्णधार भन्छौँ, आजका ती सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनेमात्र होइन, उनीहरुलाई आजको समाज, आजको विश्व सुहाउँदो प्रतिस्पर्धी गुणस्तरीय शिक्षा वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सिपमुलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनुपर्दछ । साथै, उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँच योग्य बनाई निःशुल्क बनाउँदै लैजानुपर्छ । नीजि शिक्षालाई समय क्रमअनुसार नियमन गर्दै लैजानुपर्दछ ।

८. संविधानले शिक्षालाई मौलिक हक भने पनि आज समाजले सबैभन्दा धेरै पैसा शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेको छ । जनताका मौलिकहकमा यस्तो अत्यावश्यक क्षेत्र व्यापारीकरण हुनु ज्यादै दुःखद कुरा हो । अर्कोतर्फ यसले समाजमा ठूलो दरार, वर्ग विभाजन गराइरहँदा समाजमा द्वन्द्व, अस्थिरता, अशान्ति, भ्रष्टचार, अनियमितताको कारक समेत बनिरहेको छ । यसमा सबै पक्षको ध्यान जान जरुरी छ ।

९. यो विद्यालयले यस आसपासको क्षेत्रमा मात्रै होइन रोल्पा र देशकै शैक्षिक क्षेत्रमा योगदान दिंदै आएको छ । आगामी दिनमा देशकै सामुदायिक विद्यालयको शैक्षिक सुधारमा यस विद्यालयले अग्रणी भूमिका खेल्ने मैले विश्वास लिएको छु । आगामी दिनमा यस विद्यालयमा मातृभाषामा पनि अध्ययन अध्यापनको व्यवस्था हुने अपेक्षासहित म व्यवस्थापन समिति र नेपाल सरकारको ध्यानाकर्षण समेत गराउँदछु । जसरी यस विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक सुधारका लागि कार्यक्रमहरु प्रस्तुत भएका छन्, यसमा मेरोतर्फबाट गर्ने पहल र सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्दछु । साथै, यो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि उचित निर्णय लिन माननीय शिक्षामन्त्री, नेपाल सरकार, प्रदेश, स्थानीय सरकार र शिक्षा विभागको विशेष ध्यानाकर्षण गराउँदछु ।

आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु,

१०. रोल्पा जिल्ला तथा थबाङको इतिहास ज्यादै गौरवपूर्ण छ । यो परिवर्तनकारी राजनीतिक आन्दोलनको उद्गम भूमी हो । रोल्पा तथा थबाङ जहिले पनि परिवर्तन, अग्रमनको पक्षमा उभियो । राणा सासन, पञ्चायती शासनको विपक्षमा उभियो । राजतन्त्रको विपक्षमा उभियो । र, जनयुद्धमार्फत गणतन्त्रको झण्डा उठायो । यीनै पाखा पखेरा, बस्तीबाट उठेको जनयुद्ध र त्यसको जगमा उठेको जनआन्दोलनबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । आज हामीले प्राप्त गरेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरु जनयुद्ध र जनआन्दोलनको जगबाट सम्भव भएकोले यी उपलब्धी रोल्पा र थबाङको जगमा भएको हो भन्न सकिन्छ ।

११. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताका उपलब्धीहरु रोल्पाली जनता र थबाङ्गी जनताले प्राप्त गरेका ठूला उपलब्धी हुन् । यी उपलब्धी प्राप्तीको लागि भएको आन्दोलनमा शीर्ष योगदान पु¥याउनुहुने थबाङ्गी जनताप्रति म यस अवसरमा सम्मान व्यक्त गर्दछु र धन्यवाद दिन चाहन्छु । हामीले प्राप्त गरेको उपलब्धीमा हामीले नै गौरव गर्ने हो । म प्राप्त उपलब्धीहरुप्रति गौरव गर्न थबाङ्गी जनतालाई आग्रह गर्दछु ।

१२. हामीले चाहे जस्तो र सम्पूर्ण उपलब्धी प्राप्त भएन होला । तर जे जति उपलब्धी प्राप्त भएको छ, यसको संरक्षण र विकास जरुरी छ । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख भनिएको छ । संविधान गतिशील दस्तावेज हो । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, नेपाली जनताको स्वतन्त्र बाहेकका धाराहरु परिवर्तनशील छन् । जनताको चाहना, आवश्यकता र समानुकुल संविधानमा परिवर्तन हुन सक्छन् । तर, हाम्रो उपलब्धीहरुलाई यहीं संविधानले नै संस्थागत गरेको छ । यो हाम्रो संविधान हो । यो नै देशको समृद्धिको मूल आधार हो । यसलाई हामीले बच्चालाई जसरी माया गरौं । यसको संरक्षण गरौँ । यसो गर्नु नेपाली जनताको कर्तव्य र जिम्मेवारी हो । यसमा रोल्पाली र थबाङ्गी जनताको झन् ठूलो कर्तव्य र जिम्मेवारी छ । किनकी यसैमा नै रोल्पाली, थबाङ्गीको पहिचान, स्वाभिमान छ । रगत, पसिना छ । यसको महत्व बुझ्न सकेनौँ र उपलब्धीको रक्षा गर्न सकेनौँ भने समृद्धिको यात्रा रोकिन सक्छ । यो कुरा सबै भन्दा धेरै रोल्पाली र थबाङ्गीले बुझ्नु पर्छ भन्ने लाग्छ ।

१३. हामीले हाम्रो स्वाभिमान, स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्नुछ । हिजो हामी रोल्पाली जनता राज्यको विपरित धारामा उभिएर संसारलाई फरक सन्देश दिएर पहिचान बनाएका थियौं । आज हाम्रो उपलब्धी र रगत पसिनाको रक्षा गर्दामात्रै हाम्रो पहिचान र स्वाभीमान स्थापित हुन्छ । र, हाम्रो समृद्धिको अभियान पुरा हुन सक्छ । नयाँ संविधान भित्रै रहेर नै हाम्रो प्रगति र विकास सम्भव छ ।

आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु

१४. लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लडाईमा होस्, चाहे त्यो संविधान निर्माणको सवालमा होस्, शान्ति प्रक्रियाका काममा होस् वा स्थानीय तहको पुनर्संरचना गर्दा होस्, रोल्पाली जनता र नेतृत्वले खेलको भूमिका महत्वपूर्ण छ । स्थानीय तह निमार्ण गर्दा तपाईं थबाङ्गी जनता काठमाडौंसम्म आइपुग्नुभयो । यसमा हामी सबै लाग्यौँ र नै यो सम्भव भयो ।

१५. अब तपाईं हामीले भनेको जस्तो गर्नका लागि, यो देशको समृद्धिका लागि, यो जिल्लाको समृद्धिको लागि, यो थबाङको समृद्धिका लागि फेरी पनि जनता र नेतृत्व एक ढिक्का हुन जरुरी छ । शहिदहरुका सपना पूरा गर्न, हाम्रो रगत पसिनाको महत्व बुझ्न एकाकार हुन जरुरी छ । दीर्घ, ललि रोका, एटमलगायत सम्पूर्ण शहिदहरुको सपना पूरा गर्न एकाकार हुन जरुरी छ । शहिद कुनै व्यक्ति वा पार्टीको मात्रै हुँदैन । त्यो देश र राष्ट्रको हो । उहाँहरुको सपना पूरा गर्ने अठोट गरिराख्नु पर्छ ।

१६. आफ्नो ठाउँ, आफ्नो गाउँको विकासको लागि आफ्नै प्रयास पनि जरुरी छ । हाम्रो प्रयासबाट रोल्पा र थबाङको मुहार क्रमशः फेरिदैछ । हाम्रो हिजोको दिन कति कस्टपूर्ण थिए ? नुन बोक्न हामी हप्तौँ, महिनौँ लगाएर घोराही, कोइलाबास, नेपालगन्ज, बुटवल जानु पथ्र्याे । आज घर आँगनमा आइपुगेको छ । आवश्यक बस्तु घरछेउँ मै उपलब्ध हुन थालेको छ । शहिद मार्गले थबाङमा बस स्टेसन बनेको छ । पुल बन्दै छन् । कृषि उत्पादन केन्द्र बन्दैछन् । नेपालकै ठूलो सौर्य मिनिग्रिड निमार्णको काम यहीं भइरहेका छन् । बाढी नियन्त्रणका लागि तटबन्ध बन्दैछन् । स्वास्थ्य क्षेत्रमा राम्रो काम भइरहेको छन् । १५ सैय्याको अस्पताल निमार्ण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योगना अघि बढिरहेको छ ।

१७. जलजला पर्यटन क्षेत्रको प्रवद्र्धन भइरहेको छ । शहिद मार्ग कालोपत्रे हुँदैछ । सुलिचौर उवा सडक स्तरउन्नती र कालोपत्रे हुँदा विकासको मुहारले झनै फेरिनेछ । मध्यपहाडी लोकमार्गसँग जोडिएको शहिदमार्गलाई डोल्पा हुँदै चीनसम्म जोड्ने योजना अघि बढिरहेको छ । विद्युतीकरणले तिब्रता पाएको छ । माडीखोलामा १५६ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएको छ, कृषि क्याम्पस, पोलिटेक्निक इन्स्टीच्यूट स्थापना भएका छन् । जिल्ला अस्पतालका भवन निर्माण भइरहेको छ । सडक सञ्जाल गाउँ गाउँ पुगेको छ ।

१८. जनताको जीवनस्तर क्रमशः बदलिदैछ । यो हामी सबैको साझा प्रयासबाट सम्भव हुदैछ । परिवर्तन भन्ने कुरा रातारात हुने होइन । यो कुनै कुनै जादु पनि होइन । तपाईं हाम्रो प्रयासबाट क्रमिक हरुपमा हुने हो । रातारात, तुरुन्तै जनताको जीवनस्तर बदलिने पनि होइन । यो उत्पादन प्रणालीसँग जोडिएको विषय हो । रातारात जीवनस्तर त भ्रष्टचारीहरुको बदलिन सक्छ । तस्करहरुको बदलिन सक्छ । उनीहरु रातारात करोडपति, अर्बपति हुन सक्छन् । तपाईं हामी त्यसो हुन सक्दैनौँ । रातारात जीवन बदलिए पनि भ्रष्टचारीहरु भ्रष्टचारी नै हुन्, तस्करहरु तस्कर नै हुन् ।

१९. हामी राज्यको सहि नीति, हाम्रो इमान्दारीता, परिश्रमबाट नै जीवन स्तर बदल्न सक्छौँ । क्रान्ति भनेको रातारात घरमा पैसाको मुठो ल्याइदिने, रातारात भकारी भरीदिने पनि होइन । क्रान्ति भनेको संविधान, कानुनमा परिवर्तन, राज्य प्रणाली तथा संरचनामा परिवर्तन, सोंच र चिन्तनमा परिवर्तन, उत्पादन सम्बन्धमा परिवर्तन र वितरण तथा व्यवस्थापन प्रणालीमा परिवर्तन ल्याउने हो । हामीले गरेको क्रान्तिले सबै क्षेत्रमा परिवर्तन ल्याएको छ । परिवर्तनका लागि हामीले हाम्रो प्रयासहरु निरन्तर जारी राख्न जरुरी छ । हामीले समृद्धि हासिल गर्न सक्छौं ।

२०. अन्तमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा म श्री वीर बलभद्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगर, विद्यालय व्यवस्थापन समिति, थबाङ गाउँपालिका, थबाङ्गी जनतामा हृदयदेखि धन्यवाद दिन चाहान्छु । र, यो विद्यालय र थबाङ्गी जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ! नमस्कार

(श्री वीर बलभद्र नमूना माध्यामिक विद्यालय, थबाङ, रोल्पाद्वारा मिति २०७६/११/११ गते आयोजित ‘नमूना विद्यालय उद्घाटन कार्यक्रम’मा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गरेका सम्बोधन भाषणको पूर्ण पाठ)

संमाननिय उपराष्टपती ज्युलाइ स्वगत गर्दै


WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar