खानेपानी संस्थाको आयस्रोत रक्षमता बढाउन खानेपानी मन्त्री विना मगरको निर्देशन

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ ।

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले  संस्थानको गरिमालाई अझ उचाईमा पु-याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ ।

एउटै गति र एकरुपतामा काम अघि बढाउनुस्। यो संस्थाको उचाई अझ बढाउनुस् ।” ‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस् ।,’ निर्देशन दिंदै उहाँले भन्नुभयो, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताउनुभयो । ‘संस्थानका चुनौतिहरु धेरै छन्, यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ।’ सचिव बेल्बासेले भन्नुभयो, ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणाली (बल्क सिस्टम) मा आधारित ठूल ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ।

त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।’उहाँले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गर्नुभयो । संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिनुभयो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar