गायनसँगै व्यवसायमा फड्को मार्दै चर्चित लोकदोहोरी गायिका जूना श्रीष मगर

काठमाण्डौ: गायिका जुना श्रीष मगर स्वरको माधुर्यतामा लोकप्रियता हासिल गरेकी गायिका हुन् । सामान्य पारिवारिक पृष्ठभूमिबाट हुर्केकी जुना किसानकी छोरी हुन् । बाग्लुङको गल्कोट नगरपालिका ११ रिघा गोठलाङ टोल जन्मिएकी गायिका जुना खेती किसानीसँगै बाल्यकाललाई बिताएकी थिइन्। परिवारमा दुई छोरीमध्येकी जेठी छोरी जुनाको पृष्ठभूमि गाउँले परिवेश, मेलापात, दाउरा घाँससँगै रोधी नै हो । भूगोल अनुसार सांस्कृतिक भावनामा तैरिएकी थिइन् उनी । स्कुले जीवनसँगै गाउँको रोधीमा बिताएको क्षणलाई उनले एसएलसी दिएपछि गाउँमै छाडेर २०६१ सालमा हिंडेकी थिइन् । बाग्लुङको रिघा छाडेर पोखरातर्फ लागेकी उनले पोखरामा दोहोरी साँझमा साढे एक बर्ष काम गरिन् । दोहोरीका धेरै प्रतियोगिताहरुमा भाग लिदै कहिले जित्दै त कहिले हार्दै कलाकारितामा भविश्य खोजिन् । यही क्रममा उनी २०६२ साल मंसिरमा काठमाडौं प्रवेश गरिन् । सोही बेला काठमाडौंको शान्ति दोहोरी साँझमा काम गर्न थालिन् । ती दिनका संघर्षले अहिले यो अबस्थामा पु¥याएको उनी बताउँछिन् । जुन भोगाईहरु धेरै छन् । कुनै तिता कुनै मिठा कुनै रमाइला कुनै अबिस्मरणिय । गायिका जुना श्रीषले दोहोरी साँझ, प्रतियोगितामा धेरै गीत गाइसकेको भए पनि औपचारिक रुपमा भने हिरामणी गौतमको ‘लौरी टेकेर’ नै हो ।

पोखरामा फेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो यो गीत। उनको गायनको पाइला ‘लौरी टेकेर’ भए पनि पहिलो एल्बम ‘आँसु’ हो। जुन एल्बमलाई अभ्यास डिजिटलबाट बजारमा ल्याइएको थियो । गायिका सम्झना लामिछाने मगर र जुनाको संयुक्त पस्तुति थियो एल्बम ‘आँसु’ । जसमा ४ वटा गीत समावेश थियो । सालैजो, दोहोरी र एकल गीत थियो । जसमा सागर बिरही, राजु गुरुङको लय शब्द र बिरु लामासँग गायिका जुना र सम्झनाले स्वर दिएका थिए ।

त्यो बेलादेखिका उनको गायनको संघर्ष अझै जारी छ । उनी भन्छिन्– ‘धेरै भैसक्यो अझै संघर्षमै छु, खुशी त्यसैमा छु । गीत सङ्गीतकै माध्यमबाट कल्पनासम्म नगरेको दुई चार वटा देश पनि घुम्न पाएँ । त्यतिबेला सोच्ने गर्छु अझै धेरै संघर्ष र मेहनत गर्छु किनकी सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली गीत सङ्गीतलाई माया गर्नुहुने दर्शक श्रोताहरुको मन जित्नु छ भनेर। तर संघर्षलाई संघर्ष मात्रै सम्झियो भने त दुःख लाग्छ नि यसले कहिल्यै अगाडि बढ्न दिँदैन । अडियोदेखि अहिले डिजिटल बजारसम्म आइपुग्दा उनले आवाज भरेका गीतहरुको संख्याले डेढ सय माथि उकालो लागिसकेको छ । उनलाई चिनाउने गीतका रुपमा पछिल्लो समय जाम सुस्तै बनेको छ । योभन्दा अगाडिका उनका गीतहरुले उनलाई जसरी उचाइ दिलाएको थियो त्यसमा जाम सुस्तैले अझै उच्च बनाइदिएको छ । उनको स्वरमा रहेको न्याउली चरी, घुम्टे पारी गाँजा, बर्खा, आँसु चुहाउनलाई होइन, बाग्लुङ बजार लगायत डेढसय भन्दा माथि रहेका छन् । पछिल्लो समय हुने अवार्डहरुमा उनको गीतले उत्कृष्ट पाँचभित्रका मनोनयनमा भने पर्दै आएको छ भने अहिलेसम्म उनले ३ वटा अवार्ड चुमिसकेकी छन् । पछिल्लो समय उनी रेस्टुरेन्ट ब्यावसायतर्फ लागेकी छन् । काठमाडौंको रेडन कलेज अगाडी दोभान रेस्टुरेन्ट संचालनमा ल्याएकी छन् गायिका जुनाले । गायनको अलावा खाली समयको प्रयोग गर्नको लागि रेष्टुरेन्ट खोलेकी हुँ उनले भनिन्– ‘मेरा आफन्तजन शुभचिन्तकहरुसँग भेट हुने एउटा चौतारीको रुपमा पनि रेष्टुरेन्टलाई लिएको छु । कलाकारिता क्षेत्रमा अहिले भबिश्य त मेरो मात्रै होइन कसैको पनि राम्रो देखिँदैन । कलाकारहरुले विकल्पको पेशा पनि अँगाल्नु पर्ने अवस्था सिर्जना भएको छ । तर मैले व्यवसायमा लगानी गरे पनि कलाकारिता भने छोड्दिनँ । किनकी कलाकार बन्न कै लागि मैले आधा जिन्दगी समर्पण गरेको छु, उनले बताइन् । भबिश्यमा गीत गाएर कलाकार बनेर धन सम्पत्ति जोड्छु भनेर त सोचेको थिएनँ । लोक गीत सङ्गीतमा अत्यन्तै रुचि थियो पहिला त रहरै रहरले गाएर हिडेकी हुँ उनले भनिन्– ‘पछि गीत सङ्गीतमा भिज्दै गएँ, गीत सङ्गीतप्रतिको जिम्मेवारी पनि बढदै गयो ।’ अहिलेको अबस्थासम्म आईपुग्दा अलि अलि दर्शक श्रोताले चिन्न थालेका छन् जुना भन्ने गर्छिन् । स्रोताले खोजी गर्न थाले, बिदेशसम्म पुगियो र हिजो हिजो नै थियो आज ठिकै छु सन्तुष्टि नै छु । भोलि पनि यहि गीत सङ्गीतमै रहेर रमाउन पाँउ । यसैमा बाँचेको छु यसैमा मर्न पाउँ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar