काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघकी फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीले कोभिड–१९ विरुद्धका लडाईंमा स्थानीय सरकारले मुख्य भूमिका खेल्नु पर्ने बताएकी छन् ।
इन्चार्ज घर्तीले आइतबार कोरोना भाइरसविरुद्धको लडाईंमा स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा समस्यामा परेका मजदुरहरु र विपन्न परिवारलाई तत्काल उद्दार, राहत तथा विपद व्यवस्थापन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
उनले कोरोना रोकथाम र नियन्त्रणका लागि देश नै लकडाउनमा गएपछि विपन्न परिवार र दैनिक ज्यालादारी श्रमिकहरुको जीवन सबैभन्दा कष्टकर भएकाले समस्यामा परेका सबै मजदुरको उचित व्यस्थापन स्थानीय सरकारले गर्नुपर्ने बताइन् ।
“स्थानीय सरकार र सम्बन्धित वडाले समस्यामा परेका मजदुरहरुलाई विशेषतः दैनिक ज्यालादारी मजदुरहरु, विपन्न परिवार, असहाय नागरिकहरुलाई विना भेदभाव उद्दार, राहत तथा विपद व्यवस्थापन गर्नुपर्दछ” इन्चार्ज घर्ती भनिन् ।
स्थानीय सरकारले राहत वितरण गर्दा स्थानीय तहमा क्रियाशील ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले यसो गरिए वास्तविक श्रमिकहरु, विपन्न परिवार नछुट्ने बताइन्।
पूर्वमाओवादी निकट अन्टुफ र पूर्वएमाले निकट जिफन्टको समेतको इन्चार्ज रहेकी जयपुरी घर्तीले दुबै महासंघ र पेशागत संगठनका प्रदेश, जिल्ला, स्थानीय तह र वडा/प्रतिष्ठानस्तरका नेतृत्वहरु र कमिटीलाई राहत वितरणमा सूक्ष्म निगरानी गर्न र स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर अघि बढ्न सुझाइन्।
यसैगरी सीमानाकामा अलपत्र परेका नागरिकलाई उद्दार गरी कवारेन्टाइनमा अनिवार्य राखेर अघि बढ्न केन्द्र र प्रदेश सरकारले भूमिका खेल्नु भन्दै वैदेशिक रोजगारीमा गएका मजदुरहरु, अध्ययनका सिलसिलामा विदेशमा रहेका विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा र उनीहरुको अवस्थाबारे सरकार जानकार हुनुपर्ने साथै समस्यामा परेका नागरिकहरुलाई कुटनीतिक नियोगमार्फत् तदरुकताका उचित व्यवस्थापन गर्नु पर्ने बताइन् ।
“स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकता गाँस, वास र कपासको परिपूर्ति साथै स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेण्टी गर्नुपर्छ” इन्चार्ज घर्तीले भनेकी छन्, “कोभिड–१९ को संक्रमणबाट बच्न लकडाउन अवधिभर जो जहाँ रहनुभएको छ, त्यहीँ सुरक्षित अवस्थामा रहनुहोस् र यो साझा लडाईं भएकाले लकडाउनको पूर्ण पालना गरौं; आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।”