पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लकडाउनलाई कडाइपूर्वक पालना गर्न आग्रह गरेका छन्।
नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ वर्षमा कोरोना भाइरसको महामारी विरूद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना समेत गरेका छन्।
उनले नयाँ वर्षले अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गरेका छन्।
‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरूपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरूद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु।’
प्रचण्डले भनेका छन्,’कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील पनि गर्दछु।’