सुन्दर सृष्टी पुनः सजाउनु छ – मिना थापा मगर


सुन्दर पोखरा हिजोआज
शान्त छ, सुनसान छ
र त यो झन सुन्दर बनेको छ

तर शहरभित्रका महलभित्र
डर छ, भय छ, चिन्ता छ
झुपडीमा भोक छ, शोक छ
र चुल्हो निभेको छ

धनीका ठुला सपना तुहिएको छ
गरिवको भरपेट खाने र बस्ने
चिन्ता थपिएको छ

परदेशीको सानो संसार सजाउने
सपना टुटेको छ
घरदेशीको अनेकौ मृगतृष्णरुपी चाहना
फुलाउने रहर सुकेको छ
चंगा हो सपना चुडिन सक्छ
गंगा हो सपना बग्न सक्छ

त्यसैले
भो अव मलाई धेरै सपनाहरु देख्नु छैन
अनगिन्ती रहरहरु बुन्नु छैन
कल्पनाको जालो बुनेर
सगरमाथाको पहाड चढ्नु छैन
मात्र यहाँ मानव अस्तित्व बचाउने
त्यही एउटा चिन्ता छ

यतिबेला
मानव संसारलाई ध्वस्त पार्ने
अदृश्य शक्तिको हमला छ
रंगिन संसारको धुन बज्ने
विश्वकै सुन्दर शहरहरुमा
लासहरुको कर्कश चित्कार छ

कसरी बुनूँ मेरा अनगिन्ती सपना
महामारीले आक्रान्त बनाएको धर्तीमाताले
बचाउको लागि गुहार मागेको बेला
चाहिँदैन बरु मलाई भौतिक सुख र सम्पन्नता
आज संसारका मानिसको जीवन बचाउनु छ
बरु आऊ सँगै हातेमालो गरौं अब
सुन्दर सृष्टीलाई पुनः सजाउनु छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar