कोरोना संक्रमणले अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा


काठमाडौं । सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।

पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । सरकारको निर्णयानुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उनले बताए । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आगामी १२ गते रथारोहण गर्न सकिन्छ । रथारोहण गरेपछि रथयात्रा लकडउनपछि जनजीवन सामान्य भएपछि गर्न सकिने उनको सुझाव छ । उनले भने, “सङ्कटको समय भएकाले रथयात्रापछि गराउन सकिन्छ ।”

झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ७० वर्षको भए । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उनको मन दुखेको छ । उनले २२ २३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आएका छन् । विगतमा पनि धेरै वर्षमा अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उनको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उनको भनाइ छ । विसं. २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उनले बताए। उनले भने, “पानेजु चारजना र जजमान गरेर झण्डै १० जना भएपछि रथारोहण गर्न सकिन्छ ।”

ललितपुर वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताए। जात्राका लागि नभई नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उनको भनाइ छ । “जात्रा नै रोक्ने कुराले धेरैको मन दुखेको छ ।” अध्यक्ष व्यञ्जनकारले भने ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन जात्रा नियमित हुनुपर्ने भए पनि लकडाउनका कारण जात्रा सञ्चालन गर्न समस्या देखिएको बताए । रथ बनाउन धेरै जनशक्ति चाहिने भएकाले पनि जात्रा सञ्चालन गर्न सजिलो नभएको उनले बताए । उनले भने, “कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले पनि भीडभाड गर्न हुँदैन ।”

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताए । रथ बनाउन धेरै जनशक्ति चाहिने हुँदा अहिले नै निर्माण गरिने सम्भव नभएको बताए । “लकडाउनपछि नै रथ बनाउने र रथारोहण गर्न सकिन्छ ।” उनले भने ।

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाह पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौं भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद पर्‍यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाह पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठीन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ ।

रासस 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar