संगठन सञ्चालनको लेनिनवादी विधिबारे दुईथरी अतिवादी बुझाई छन्- एकथरी मानिस स–साना कुरामा पनि मतविरोध राखेरै जाने र हरेक पटक मतदान नै गर्नु पर्दछ भन्दछन् । यो पनि गलत हो । मतदान नै अन्तरपार्टी जनवाद वा लोकतन्त्रको एक मात्र पर्याय हैन । कम्युनिष्ट चेतनामा आधारित विवेकसम्मत ज्ञान र अनुभवका आधारमा सर्वसम्मतिमा पुग्ने प्रयास गर्नै पर्दछ । सामुहिक विवेकको केन्द्रीकृत अभिव्यक्तिको रुपमा निश्कर्षमा पुग्ने प्रक्रिया नै जनवादी केन्द्रीयताको चुरो कुरा हो ।
कोरोना भाइरस संक्रमणको सन्त्राससँगै लकडाउन जारी रहेकै अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकारका काम कारबाहीबारे पार्टी भित्रैबाट आलोचना भइरहेको छ । उसो त यसरी अहिले सरकार सञ्चालनको सन्दर्भमा आलोचना गर्नेहरुसहितको तप्का नेकपा नेतृत्वको पार्टी सञ्चालन पद्बतिबारे पनि लामो समयदेखि नै निरन्तर प्रश्न उठाउँदै आइरहेको देखिन्थ्यो । यतिबेला सरकारले मितव्यीतामा विशेष ध्यान दिनुपर्ने भन्दै त्यसरी आलोचना गर्नेहरुलाई सरकार पक्षीय मानिने नेता कार्यकर्ताले पनि प्रतिवाद गरिरहेका देखिन्छन् । यतिबेला मात्रै होइन, नेकपामा आलोचना र आत्मालोचनालाई महत्वपूर्ण अंग मान्ने तर व्यवहारमा फिटिक्कै स्वीकार नगर्ने प्रवृत्तिको लामो इतिहास नै भेटिन्छ । प्रस्तुत छ, कम्युनिष्ट पार्टीमा आलोचनात्मक चेतनाको महत्व, पार्टी सञ्चालन विधि र आत्मालोचनाको संस्कृति पुनः स्थापित कसरी हुन्छ ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सञ्चालन विधि के हो ?
मार्क्सवादी–लेनिनवादी पार्टी सञ्चालनको सिद्धान्त र विधि भनेको आमरुपमा जनवादी केन्द्रीयताको सिद्धान्त र विधि नै हो । पार्टी सञ्चालनको यो विधिलाई लेनिनवादी संगठनात्मक विधि पनि भन्ने गरिएको छ । हरेक विषयमा यथेष्ट छलफल गर्ने र पारित भएको निर्णयलाई सबैले पालना गर्ने, निर्णयलाई कार्यरुपमा उतार्ने र समीक्षा गर्ने । कामका दौरानमा भएका कमी–कमजोरीलाई खुलस्तरुपमा स्वीकार गर्ने र अगाडि बढ्ने । व्यवहारमा उतार्ने क्रममा नै निर्णयको सहिपन थाहा हुन्छ । हरेक एजेण्डामा सकेसम्म सर्वसम्मत रुपमा निर्णय गर्ने, सर्वसम्मति जुटाउनका लागि पर्याप्त मात्रामा छलफल हुन दिने, र पटकपटक छलफल गर्दा पनि सर्वसम्मति हुन सकेन भने मतदानको विधिद्वारा टुंगो लगाउने, बहुमतको निर्णय लागू गर्ने र अल्पमतको विचार वा धारणा जे छ त्यसलाई निर्णय कायान्वयनपछि समीक्षा गर्दा आवश्यक पर्यो भने पुनः छलफलमा लैजाने विधि नै संगठन सञ्चालनको लेनिनवादी विधि वा जनवादी केन्द्रीयताको प्रणाली हो । बहुमतले गरेको निर्णय सही रहेछ भने कार्यान्वयनको दौरानमा त्यसले सकारात्मक वा अग्रगामी परिणाम दिन्छ । बहुमतको निर्णय गलत रहेछ भने पनि कार्यान्वयन पछि थाहा हुन्छ । त्यस्तो अवस्थामा पहिलेको अल्पमतले बहुमत प्राप्त गर्न सक्छ । कहिलेकाहीँ एक समयका अल्पमत र बहुमत दुबै गलत हुन सक्छन् र नयाँ तथ्य पत्ता लाग्न पनि सक्छ । यो सबै परिणामबारे निर्णयलाई कार्यान्वयन गर्ने प्रक्रियामा मात्रै थाहा हुन्छ ।
बहुमतको निर्णय सधैं सही हुन्छ भन्ने छैन तर पर्याप्त समय दिएर छलफल गर्दा पनि सर्वसम्मत हुन सकेन भने त्यो अवस्थामा मतदानको विधिद्वारा बहुमत/अल्पमत गरेर अगाडि बढ्नुको विकल्प हुँदैन । सर्वसम्मति जुटाउने नाममा अनिर्णयको बन्दी बनेर बस्न सकिन्न, हुँदैन । अल्पमत पक्षले राखेका विचार/दृष्टिकोण वा कुनै पनि प्रस्ताव सधैंभरी गलत नै हुन्छन् भन्ने हुँदैन तर बहुमतको कुरा नमानेर अल्पमतको कुरा लागू गर्न त सकिन्न ।
पर्याप्त छलफल नै नगराई आफ्नो वरिपरिका कार्यकर्ताको कान फुकेका भरमा हरेक पटक मतदान गराएर बहुमत–अल्पमत सिर्जना गराउने र नेताले आफूलाई लागेका कुरा पारित गराउने काम पनि गर्न हुँदैन । पार्टी कमिटीमा आवश्यक परेका बखत मतदान गराउन हिच्किचाउन पनि हुँदैन । सर्वसम्मति गराउने नाममा पार्टीभित्रका हरेक गुटगत, मनोगत र हरेक प्रकारका गलत प्रवृतिसँग लेना-देनाका आधारमा सम्झौता गरेर अगाडि बढ्न पनि हुँदैन ।
संगठन सञ्चालनको लेनिनवादी विधिका बारेमा दुईथरी अतिवादी बुझाई छन्- एकथरी मानिस स–साना कुरामा पनि मत विरोध राखेरै जाने र हरेक पटक मतदान नै गर्नु पर्दछ भन्दछन् । यो पनि गलत हो । मतदान नै अन्तरपार्टी जनवाद वा लोकतन्त्रको एकमात्र पर्याय हैन । कम्युनिष्ट चेतनामा आधारित विवेकसम्मत ज्ञान र अनुभवका आधारमा सर्वसम्मतिमा पुग्ने प्रयास गर्नै पर्दछ । सामूहिक विवेकको केन्द्रिकृत अभिव्यक्तिको रुपमा निस्कर्षमा पुग्ने प्रक्रिया नै जनवादी केन्द्रीयताको चुरो कुरा हो ।
पार्टीभित्र पर्याप्त मात्रामा अन्तरपार्टी लोकतन्त्र वा जनवाद हुँदा अनावश्यक विवाद बढ्छ वा अराजकता हुन्छ भन्नेहरुलाई लेनिनले यसरी सम्झाउने प्रयास गर्नु भएको थियो–
“पार्टीभित्र पर्याप्त छलफल गराउँदा वा निर्णयको प्रक्रियामा अल्पमत–बहुमत गरेर फैसला गर्दा अवश्य पनि केही विवाद हुनसक्छ वा केही मात्रामा कमिटी सदस्यबीचमा असमझदारी श्रृजना हुन पनि सक्छ तर सबैको मतको सम्मान गरी निर्णय लिने यो भन्दा अर्को कुनै विधि हुन सक्दैन । जनवादी केन्द्रीयताको सिद्धान्तले स्थानीय कमिटीलाई पूर्ण स्वायत्तत्ता र आलोचना एवं समीक्षाको निर्वाध स्वतन्त्रता दिन्छ । स्वतन्त्रताको नाममा पार्टी एकता खल्बल्याउन भएन, अराजकता हुन भएन र गरिएका निर्णय कार्यान्वयन नगर्ने अटेरीपन हुनु भएन ।” (लेनिन, “फ्रिडम टु क्रिटिसाइज एण्ड युनिटी अफ एक्सन” (१९०५), कलेक्टेड वक्र्स, (अंग्रेजी), भोलुम–१०, (मस्कोः प्रोग्रेस, १९६५), पृ. ४४२–४३) ।
लेनिनले अन्तरपार्टी जनवाद वा अन्तरपार्टी लोकतन्त्रलाई अर्को एक स्थानमा “छलफलमा स्वतन्त्रता, काम कारबाही एकरूपा” भनेर थप मात्रामा अर्थ्याउनु भएको छ ।
के नेकपामा लेनिनले भन्नु भए जस्तो छलफलमा स्वतन्त्रता, कार्यान्वयनमा एकता छ त ? नेकपामा न त छलफल नै हुन्छ, न कार्यान्वयनमा एकता नै देखिन्छ । हामीले बाहिरबाट हेर्दा त नेकपामा सीमित घेरामा छलफल र निर्णय, तल्ला कमिटी र कार्यकर्ताका सुझावको बेवास्ता, अनि कार्यान्वयनमा अराजकता देखिन्छ नि ! यसबारे के भन्नु हुन्छ ?
मैलेमाथि नै भनिसकें, एकता प्रक्रिया पूरा गर्न ढिलो भएको हुँदा निर्णय प्रक्रियामा नेतृत्वको आदेश वा सीमित घेरामा छलफलको काम अलि बढी नै भएको छ तर कार्यान्वयन त भैराखेकै छ नि । गरिएका निर्णय लागू नभएका त छैनन् । यहाँ हामीले पार्टी एकता सम्पन्न गर्दा आगामी एकता महाधिवेशनसम्म सहमतिमा निर्णय गर्नेबारे गरिएको समझदारीलाई पनि हेक्का राख्नु पर्ने हुन्छ ।
लेनिनले हरेक पार्टी सदस्यलाई आलोचनाको स्वतन्त्रता हुनुपर्दछ भन्नुभएको थियो तर नेकपामा त माथिल्लो नेतृत्वको आलोचना गर्नेहरुको त हुर्मत नै काढिन्छ, आलोचनात्मक चेतना राख्ने मानिसलाई त लखेटिन्छ भन्ने देखिन्छ ।
पार्टीमा आलोचना/आत्मालोचनाको प्रक्रिया हराएर गएको छ । यसैले आलोचनालाई नसहने प्रवृति देखिएको सत्य हो । जब नेतृत्व तहमै आलोचना-आत्मालोचनाको विधि समाप्त भएर जान्छ, तब रचनात्मक सुझाव पनि गाली वा अपमानजस्तो लाग्न थाल्छन् । आलोचना–आत्मालोचनाको विधि समाप्त भएपछि प्रशंसा गर्नेहरु मन पर्न थाल्छन्, सुझाव दिनेहरुलाई भेट्न पनि मन लाग्दैन । अझै, गल्ती/कमजोरीमा खरो आलोचना गर्नेहरु त शत्रजस्ता लाग्न थाल्छन् । यस्तो अवस्था भएपछि नेतृत्वलाई प्रशंसकले घेर्न थाल्छन् । यस्तो कुरा कुनै पनि संगठनमा देखिने आम प्रवृति हो । यसबाट जोगिनु पर्दछ ।
कम्युनिष्ट पार्टीको उद्देश्य समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । यसका लागि नयाँ मानिस तयार गर्नुपर्दछ । यसो गर्नु धेरै लामो कष्टसाध्य र गम्भीर काम हो । जे चलेको छ, त्यहीअनुसार चल्ने काम त अहिलेको पूँजीवादी समाजमा भइराखेकै छ नि । नयाँ मानिस तयार गर्नु, नयाँ समाज बनाउनका लागि अत्यावश्यक छ । नयाँ मानिस भन्नाले कम्युनिष्ट चेतनाले भरिएको, गल्ती तत्कालै सुधार्न तयार हुने, आलोचनालाई सहर्ष स्वीकार गर्ने, आफ्नो कमजोरी आफैंले देख्न सक्ने र स्वीकार गर्ने मानिस नै नयाँ मानिस हो । आलोचनाले सँगै काम गरिरहेको साथीलाई, नेतृत्वलाई, समाजलाई सुधार्न मद्दत गर्दछ । आत्मालोचनाले आफ्नै आत्मिक शुद्धी हुन्छ । आत्मालोचना गर्न सक्ने मानिसको व्यक्तित्व विकसित हुन्छ, आत्मबल बढ्दछ र स्वशुद्धी हुन्छ ।
हरेक समाजको आफ्नो उत्पादन पद्धति हुन्छ । सम्बन्धित समाजले आफ्नो उत्पादन पद्धति टिकाइ राख्नका लागि त्यसलाई सुहाउँदो मानिस तयार गरेको हुन्छ । उत्पादन पद्धतिलाई सुहाउँदो हिसाबले नै विचार, सिद्धान्त, आचरण र नैतिकताका नियम तयार गरिन्छ । समाजका ती तमाम प्रणाली सुचारु गर्नका लागि नियमितरुपमा समाजका हरेक व्यक्ति-व्यक्तिलाई शुद्धीकरण गरिरहनु पर्दछ । तबमात्रै सम्बन्धित समाज टिक्छ, सुचारु हुन्छ ।
माथिको भनाइलाई म थप स्पष्ट पार्न चाहन्छु । उदाहरणका लागि आदिम साम्यवादी समाजको बिघटनपछि दास युग आयो । दासयुगीन उत्पादन पद्धति जोगाउनका लागि दास मालिकलाई भगवानको रुपमा चित्रण गर्नुपर्ने थियो । दास मालिक धेरै हुन्थे । यसैले अध्यात्मवादभित्र बहुदेववादको अवधारणा विकसित भयो । दासयुगको पछिल्लो चरणमा उत्प्रेरणाको अभावमा उत्पादन घट्न थाल्यो । उत्पादन बढाउँदा दासको रुपमा रहेका श्रमिकलाई कुनै फाइदा हुँन्थ्यो । अर्कोतिर दासहरु मालिकका सम्पत्ति थिए । दासहरुको खरिदबिक्री हुन्थ्यो । जसरी आजको कुनै किसानले गाई वा भैंसी पाल्नुभएको छ भने त्यस पशुधनलाई तन्दुरुस्त र मोटोघाटो राख्नु सम्पत्ति जोगाउनु हो । त्यसैगरी दासयुगमा दासलाई न्यूनतम मात्रामा तन्दुरुस्त राख्नै पर्दथ्यो नत्र हाटबजारमा दासको दाम कम पर्दथ्यो । दुब्लो/मरन्च्याँसे भैंसी कसले किन्छ र ? किने पनि ज्यादै कम दाम पर्छ । यसैले एकातिर दास विद्रोह, अर्कोतिर दास पाल्नु घाटाको विषय हुनथाल्यो ।
कम्युनिष्ट पार्टीहरुले पनि समाजवाद सुहाउँदो चेतनाले युक्त मानिस तयार गर्नु छ । दासयुग, सामन्ती युग र पूँजीवादी युगले युगौंदेखि तयार गरेका चरम व्यक्तिवादी व्यवहार, ठूलाले सानालाई हेप्ने-कज्याउने, आफूभन्दा ठूलाको चाकरी गर्ने, भौतिक सम्पत्ति थुपार्न मरिहत्ते गर्ने जुन चेतनाले अहिलेको मानिस आमरुपमा अभ्यस्त छ । त्यसलाई खारेर, सफा गरेर कम्युनिष्ट मानिस बनाउनु छ । यसका लागि अहिलेसम्म पत्ता लागेको स्व-शुद्धी वा आत्मिक शुद्धीको प्रणाली भनेको आलोचना-आत्मालोचनाको विधि नै हो ।
दासयुगमा राजनीतिक नेतृत्व विभाजित थियो । यसैले एकल नेतृत्वको आवश्यकता पर्न गयो । एकीकृत रुपमा उत्पादन संगठित गर्नुपर्ने, श्रमिकलाई उत्पादनमा लाग्न प्रेरित गर्ने प्रणाली विकसित गर्नुपर्ने ठोस आवश्यकता सिर्जना भएपछि बलियो एकल नेतृत्व रहने सामन्तवादी समाज अगाडि आएको हो । सामन्तवादमा आइपुग्दा हिँजोका दास स्वतन्त्र किसानमा परिणत भए । भूदासहरु पनि दासयुगका सम्पत्तिबिहिन दास श्रमिकको तुलनामा स्वतन्त्र थिए । किसानको आफ्नो जमिन हुने, त्यो जमिनको उत्पादनको मालिक किसान आफैं हुने र मालिक (जमिन्दार) को जमिनमा खेति गरेबापत अँधिया÷बटैया पाइने प्रणालीले कृषि उत्पादनमा उत्प्रेरणा जगायो । दासयुगको तुलनामा सामन्तवादमा कृषि उत्पादन प्रचुर मात्रामा बढ्यो । यसले गर्दा सामन्ती शाषकहरुका मनमा राज्य विस्तारको महत्वाकांक्षा जगायो । यसबाट संगठित राष्ट्रहरुको जन्म भयो । देशको भूगोल संगठित र विस्तार गर्ने काम सामन्तवादले नै गरेको हो । पूँजीवादले पनि शुरुमा उपनिवेश विस्तार गर्ने क्रममा कतिपय देशको एकीकरण सम्पन्न गराएको छ तर आमरुपमा छरिएर रहेका भुरे–टाकुरे राज्यलाई एकीकृत गरी बलियो राज्य बनाउने काम सामन्तवादले नै गरेको हो ।
मैले माथि नै चर्चा गरिसकेको छु, हरेक उत्पादन प्रणालीले आफू अनुकूलको मानिस तयार गर्नका लागि आफ्नै प्रकारको मानव शुद्धिकरण को प्रणाली बनाएको हुन्छ । दास र सामन्ती युगमा मालिकहरुलाई भगवानको रुप दिइसकेपछि अदृश्य भगवानप्रति निरन्तर गहिरो भक्तिभाव जगाइराख्नु पर्ने थियो । यसका लागि हरेक गृहस्थले आफ्नो गच्छे अनुसार धर्म–कर्मका कर्मकाण्ड गरिरहनु पर्ने नियम बनाइयो । यस खालको पूजा वा साधना ग-यो भने यो पाप काटिन्छ वा यो फल प्राप्त हुन्छ भन्ने खालका मान्यता संसारका सबै धर्म-प्रणालीहरुमा छन् । ती विषय सम्बन्धित उत्पादन पद्धतिप्रति समर्पित भाव जगाउन बनाइएका मानवशुद्धिकरणका प्रणाली नै हुन् ।
कम्युनिष्ट पार्टीहरुले पनि समाजवाद सुहाउँदो चेतनाले युक्त मानिस तयार गर्नु छ । दासयुग, सामन्ती युग र पूँजीवादी युगले युगौंदेखि तयार गरेका चरम व्यक्तिवादी व्यवहार, ठूलाले सानालाई हेप्ने-कज्याउने, आफूभन्दा ठूलाको चाकरी गर्ने, भौतिक सम्पत्ति थुपार्न मरिहत्ते गर्ने जुन चेतनाले अहिलेको मानिस आमरुपमा अभ्यस्त छ । त्यसलाई खारेर, सफा गरेर कम्युनिष्ट मानिस बनाउनु छ । यसका लागि अहिलेसम्म पत्ता लागेको स्व-शुद्धी वा आत्मिक शुद्धीको प्रणाली भनेको आलोचना-आत्मालोचनाको विधि नै हो । अध्यात्मवादले भन्छ- आधा मनले गरेको वा पूरै भक्तिभाव नरहेको, अरुलाई देखाउन मात्रै गरिएको धर्मले फल मिल्दैन । त्यो कुरा अध्यात्मवादले आफ्ना मानिसलाई सामन्ती उत्पादन पद्धतिप्रति निरन्तर समर्पित रहनका लागि बनाएको आत्मिक शुद्धिको नियम हो । हो, यसैगरी कम्युनिष्ट पार्टीको पनि चारित्रिक शुद्धीको प्रणाली छ । त्यो हो, आलोचना–आत्मालोचनाको प्रणाली । यही कुरा छोडेका हुँदा अहिले हामीहरुमा आमरुपमा व्यक्तिवादी अराजकता, धन/पैसा र पदबारे अत्यधिक आशक्ति बढेको छ । यसबाट जोगिनका लागि ब्यवस्थित कमिटी प्रणाली, कमिटीका नियमित बैठक र बैठकमा नियमित रुपमा आलोचना–आत्मालोचनाको प्रणाली सुसञ्चालित हुनै पर्दछ ।
अध्यक्षज्यू, कुरा त निक्कै मिठा – मिठा गर्नु भयो, सुनिरहुँजस्तो लाग्ने ! के तपाईंहरुले समग्र पार्टीपंक्तिलाई अघि भन्नुभएजस्तो आलोचना सहन सक्ने र नहिच्किचाई आत्मालोचना गर्न सक्ने नेता–कार्यकर्ताको पार्टी पंक्तिका रुपमा पुनः स्थापित गर्न सक्नु होला त ?
आज, एकीकृत कम्युनिष्ट पार्टीको जुन विशाल पंक्ति तयार भएको छ, अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार बनेको छ, यी सबै उपलब्धिलाई जोगाउने हो भने सही विचार, संगठन र आचरणको कम्युनिष्ट पार्टी बनाउनै पर्दछ । विचार ब्यवहारबाट जन्मिने कुरा हो । किताबमा राम्रा–राम्रा कुरा लेखेर मात्रै हुँदैन । किताबमा राम्रा–राम्रा कुरा त हरेक धर्मशास्त्रमा पनि हुनसक्छन् तर धार्मिक गुरुहरु नै सबैभन्दा बढी पाखण्डी हुन्छन्, भन्छन् एकथोक, गर्दछन् अर्कोथोक । किताबमा लेखिएका राम्रा कुरा लागू गर्नका लागि सही आचरण हुनुपर्दछ । कम्युनिष्ट पार्टीमा सही आचरण हुनका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तको दृढ पालना र आलोचना–आत्मालोचनाको विधि–प्रक्रिया चलेकै हुनु पर्दछ । कम्युनिष्ट आचरण पालना गर्न सकिएन भने कम्युनिष्ट पार्टी नै रहने छैन । यसैले हामीलाई आफू खारिनुको विकल्प छैन । ब्यापक छलफलबाट मात्रै निर्णय लिने र गरिएका निर्णय दृढतापूर्वक पालना गर्ने जनवादी केन्द्रीयताको प्रणाली नै आजको आवश्यकता हो । पार्टी एकताको आधारका रुपमा रहेको राजनैतिक प्रतिवेदन, विधानमा एवम् हालै सम्पन्न केन्द्रीय समितिको बैठकद्वारा पारित राजनैतिक प्रतिवेदनमा हामीले यिनै कुरामा विशेष जोड दिएका छौं । तर यी विषयलाई व्यवहारिक रुप दिन, सही र गलतका बीचमा मार्क्सवाद र अवसरवादबीचमा बहस र संघर्षको कठोर बाटो हिँड्नै पर्ने हुन्छ ।