मगरात भुमीमा बम विष्फोर्ट ,वालवालिका शव उठाउन कठिन


रोल्पा ।मगरातको एेतिहासिक भुमी रोल्पा स्थित त्रिवेणी गाउँपालिकामा विहिवार साँझ बम विस्फोट हुँदा मृत्यु भएका चार बालबालिकाको शव शुक्रबार मात्रै उठाइने भएको छ । घटनास्थलमा अर्को पनि बम भेटिएकाले त्यो डिस्पोज नभएसम्म शव त्यही राखिने भएको हो ।

विहिवार भएको विस्फोटमा एकै परिवारका दुईसहित चार बालबालिकाको मृत्यु भएको थियो । त्रिवेणी–४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ५ वर्षीय विजय खत्री, उनकी दिदी ११ वर्षीया विमला खत्री, १३ वर्षीय नोकिराम डाँगी र ११ वर्षीय गौरव नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाउँनजिकैको जंगलमा गोठाला गएका उनीहरुको विस्फोटमा परेर घटनास्थलमै मृत्यु भएको छ ।

विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ ।

बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ । जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी विहिवार साँझ नै घटनास्थल पुगेको छ ।

विस्फोट नभएको बम समेत रहेकाले सेनाको बम डिस्पोजल टोली नआउदासम्म शव उठाउन रोक लगाइएको छ । नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार विहान मात्र घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar