नेकपा केन्द्रिय सचिवालय ३ निर्णय गर्दै विवादलाइ मत्थर पार्दै


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकले जारी विवादलाई केही मत्थर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइएको छ ।

१– सचिवालय बैठक वैशाख २५ गते
२– उपयुक्त समयमा वामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने
३– अध्यक्ष ओली र दाहालद्वारा आत्मालोचना

बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आ आफ्नोतर्फबाट भएका कमजोरीबारे आत्मालोचना गरेका छन् ।
बैठकमा कस्ले के भन्यो ?

नेकपा सचिवालयको बैठकको सुरुवात अध्यक्ष ओलीले गरेका थिए । एक सचिवालय सदस्यका अनुसार, नरम शैलीमा आत्मालोचनासहित ओलीले आफ्नो कुरा राख्न सुरु गरेका थिए । उनले बैठकमा भने, ‘पार्टीमा पार्टी एकताको भाव अनुसार काम हुनुपर्थ्यो । त्यो भएन । पार्टी फुटतर्फ जान दिनु हुँदैनथ्यो । त्यसका लागि कमिकमजोरी मैले पनि लिनुपर्छ । आत्मालोचना गर्छु । अर्का अध्यक्ष प्रचण्डतिर देखाउँदै उहाँले पनि गर्नुहुन्छ । मिल्नुको विकल्प छैन । कमजोरीलाई सच्चाएर जान सकिन्छ ।’

ओलीले पार्टी र सरकारबीच आगामी दिनमा समन्वय गरेर जान तयार रहेको बताएका थिए । उनले बैठकमा भने, ‘एकतावद्ध भएर जानुपर्छ । काम गर्दा भएका कमिकमजोरीलाई आउँदा दिनमा सच्चाउनु पर्छ । अब सरकार र पार्टीबीच समन्वय गरेर जान्छु । सबैलाई मेरो आग्रह छ, मिलेर जाऔँ ।’

नरम स्वभावमा ओलीका कुरा सुनेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमिकमजोरी सच्चाउने कुरा सही भए पनि अब स्थायी समिति बैठक राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘आत्मालोचना गरेर रुपान्तरण गर्ने कुरा ठिक छ । तर स्थायी समिति बैठकमा हामीले छलफल गर्नुपर्छ । त्यसैले स्थायी कमिटी बैठकको मिति तोक्नुपर्छ । पार्टी एकताको भावअनुसार अगाडि बढ्नुपर्छ । यो अवस्था कसरी आयो भन्ने कुराको पनि हामीले ध्यान दिनुपर्छ । पार्टी एकतालाई ध्यान दिएरै अहिलेसम्म यसरी चलिरहेको छ ।’

बालुवाटारमा दिउँसो भएको बैठकमा बादल र गाैतमले ओलीलाई साथ दिने खबर पाइसकेकाले प्रचण्डले बैठकमा स्थायी कमिटी बैठकलाई जोड दिएर कुरा गरेका ती सचिवालय सदस्यले जानकारी दिए । त्यस लगत्तै बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि स्थायी कमिटी बैठकलाई जोड दिएर आफ्ना धारणा राखेका थिए । उनले भने, ‘पार्टी एकतावद्ध भएर जानुपर्छ भन्नेमा ठिक छ । आत्मालोचना पनि ठिक छ । तर माग भएको स्थायी कमिटी बैठक किन नराख्ने ? किन भयो ढिला ? त्यसैले स्थायी कमिटी बैठक अविलम्व राखेर यी सबै विषयको छलफल गर्नुपर्छ ।’

खनालपछि बोलेका वरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिगत पद प्रतिष्ठामा मिलेर पार्टी एकतावद्ध नहुने बताए । उनले भने, ‘व्यक्तिगत स्वार्थमा चोचोमोचो मिलाएर वा एकदुई जनाको कुरा मिल्दैमा मिल्छ भन्ने ठान्नु भएको छ भने त्यो गलत हो । एकताकै पक्षमा हामीले धेरै काम गरेका छौँ । यो अवस्था किन आयो भन्ने कुरालाई ध्यानदिनु पर्दैन ? त्यसैले स्थायी कमिटी बैठक बोलाएर जानुपर्छ । यावत विषयमा त्यहीँ छलफल गरौँला ।’

नेपालपछि बोलेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीले गल्ती कमिकमजोरी सच्चाएर जाने भन्ने कुरामा समर्थन गरे । उनले भने, ‘प्रधानमन्त्रीले गल्ती कमिकमजोरी सच्चाएर जान्छु भन्ने कुरा राम्रो हो । अब गुट नगरौँ । अहिलेसम्मका क्रियाकलापका लागि आत्मालोचना भइसकेपछि गुटबन्द बन्द गरौँ । अब मिलेर अगाडि बढ्नुपर्छ । पार्टी एकताको भाव अनुसार अगाडि बढ्ने कुरा ठिक छ । त्यसै अनुसार जानुपर्छ ।’

अघिल्लो बैठकमा सैद्धान्तिक पक्षमा जोड दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा नेतृत्वको आलोचना गरे । उनले भने, ‘फुटको घन्टी अन्त्य भएकामा राम्रो हो । फुटसम्मको तरंग किन आयो ? भैँसेपाटीमा दुवै पदबाट राजीनामा माग्ने भनिएकै थिएन । यहाँ आएर कसले माग्यो ? व्यक्तिगत स्वार्थमा छलछाम गर्ने ? त्यसैले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्छ । प्रधानमन्त्रीले अस्ति ल्याएका प्रस्ताव खै ? प्रधानमन्त्रीको बोलीमा ओज हुनु पर्दैन ? हामीले जवाफ के दिने ?’

आजको बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको एउटै धारणा रहेको थियो । उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलले बैठकमा भने, ‘बैठकमा अध्यक्षबाट एकतावद्ध भएर जाने कुरा सही छ । एकजुट हुनुको विकल्प छैन । अध्यक्षले भनिसकेपछि अब त्यसै अनुसार अगाडि बढ्नुपर्छ । यो समयमा स्थायी समिति उपयुक्त हुँदैन ।’

त्यसपछि बोलेका गृहमन्त्री बादलले भने, ‘नेतृत्वले रुपान्तरण गरेर जाने भन्नु राम्रो कुरा हो । अहिले रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । फुटतर्फ पार्टीलाई लैजान दिनु हुन्छ । नेतृत्वले आत्मालोचना गरेपछि अब त्यसै अनुसार जानुपर्छ ।’

अन्तिममा बोलेका महासचिव पौडेलले बैठकमा अध्यक्षको मिलेर जाने प्रस्तावको समर्थन गरे । उनले भने, ‘रुपान्तरण भएर जाने कुरा आइसकेपछि पार्टीलाई थप एकतावद्ध भएर जानुपर्छ । भएका कमिकमजोरी सच्चाएर अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो । यसले राम्रो सन्देश दिन्छ । अहिलेको आवश्यकता पनि त्यहीँ हो ।’

अन्तिममा फेरि उपाध्यक्ष गौतमले समय मागे। उनले बैठकमा भने, ‘अघि प्रकाश कामरेडले भन्नु भएको कुरा ठिक हो । मेरो इज्जतको कुरा छ । म राष्ट्रियसभामा जान्न, त्यहाँ गएर प्रधानमन्त्री बन्न पाइने रहेनछ । मन्त्री बन्न पनि समस्या रहेछ । प्रतिनिधिसभामा जान्छु । यसबारेमा केही त निर्णय गर्नुपर्छ ।’ 

गौतमको कुरा आइसकेपछि निर्णय गर्दै जाँदा २५ गते स्थायी समिति बैठक बोलाउने, त्यसका लागि २४ गते सचिवालय बैठक बोलाउने र उपयुक्त समयमा गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय भएको थियो ।

बामदेव पाल्पाबाट चुनाव लड्ने ?

सचिवालय बैठकमा छलफल नभए पनि गौतमले पाल्पाबाट चुनाव लड्ने इच्छा देखाएका छन् । त्यसका लागि शनिबार दिउँसो महासचिव पौडेलले उनलाई पाल्पाबाट दलबहादुर रानालाई राजीनामा गर्न लगाउने र त्यहाँबाट चुनाव जिताउने विषयमा सहमति गरेका स्रोतको दावी छ ।

महासचिव पौडेलको प्रस्तावमा सहमति जनाएर गौतमले सचिवालय बैठकमा ओलीलाई समर्थन गरेका हुन् । तत्कालको संकट ओलीको तर्फबाट महासचिव पौडेलले टारेका एक सचिवालय सदस्यले बताएका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar