भारतसँग खुल्ला सिमा रहेको कारण नेपालले विशेष सावधानी अपनाउन आवश्यक: मा.गृहमन्त्री रामवहादुर थापा मगर’वादल’


काठमाडौं, २१ वैशाख । कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाईने भएको छ ।

आइतबार  माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’को उपस्थितिमा गृहमन्त्रालयमा बसेको बैठकमा सो सम्बन्धि प्रक्रिया अगाडि बढाउ निर्णय गरेको हो । निर्वाचनको समयमा महत्त्वपूर्ण संरचनाको जिम्मा सेनालाई दिएर प्रहरीलाई निर्वाचनमा परिचालन गरिने विगतको नजिर अनुरुप अहिले कोरोनाले निम्ताएको महामारी नियन्त्रण गर्न सिमामा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो ।

बैठकले सिमाबाट लुकिछिपि प्रवेश गर्नेक्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सिमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तिव्रता दिने निर्णय गरेको छ । 

बैठकमा गृहमन्त्री बादलले  कोरोना संक्रमणको केन्द्र चीन, युरोप अमेरिकाहुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेको भन्दै खुला सिमा रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले सिमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए। साथै उनले सिमावर्ति जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरि सिमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए ।

सिमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहमन्त्रालय प्रक्रिया अघि बढाएको बैठकमा जानकारी दिए । बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथि प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar