२५६४औँ बुद्ध जयन्ती विहिवार बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्न सरकारको आव्हान!


काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित २५६४औँ बुद्ध जयन्तीमा देशैभर दीप प्रज्ज्वलन गर्ने सरकारले निर्णय गरेको छ । बुद्ध जयन्तीको अवसरमा औपचारिक कार्यक्रम नगरेर बिहीबार बेलुकी ७ बजे देशैभर दीप प्रज्ज्वलन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

यसवर्षको बुद्ध जयन्ती वैशाख २५ गते बिहीबार परेको छ । २५६४औँ बुद्ध जयन्तीलाई सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको कामनासहित विश्व शान्तिको कामना गर्दै मनाउने तयारी गरिएको हो ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar