लकडाउन जारी रहे जनतामा असन्तुष्टि बढ्छ,खुकुलो बनाऔं: गृहमन्त्री राम वहादुर थापा मगर ‘वादल’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीव्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् ।

लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताए । उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोनाभन्दा ठूलो संकट पैदा हुने उनको भनाइ ।

‘कोरोना संकटलाई तोड्न विश्वले लकडाउन, आइसोलेसन, सामाजिक दूरी कायम गर्ने रणनीति लिएको छ । तर, अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरुसहित सामाजिक दुरी कायम गरेर लक डाउन खोल्नुपर्छ,’ संसदको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा थापाले भने, ‘लकडाउन खोल्न नसके कोरोनालाई रोके पनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने बताए । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडि बढ्नुपर्ने गृहमन्त्री थापाले बताए ।

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियानलगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले उल्लेख गरे । समिति बैठकमा लक डाउन खुलुलो पार्नुपर्ने उल्लेख गरे पनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताएनन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar