नबिना लामाजी ,आउनुहोस् पाँच मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुहोस्।


•दिल निशानी मगर

नबिना लामाजी, नमस्कार

पाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु ।

नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको प्रधानमन्त्री बन्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि १२ वर्षसम्म भूमिगत भएर जनयुद्ध सञ्चालन गर्नुभएको छ । विएस्सीसम्मको अध्ययन गर्नुभएको छ । चुनाव जितेको हालको सांसद पनि हुनुहुन्छ । हरेक बिहान दुई घण्टा कसरत गर्नुहुन्छ । यस्तो छ नबिना लामाजी प्रचण्डको हैसियत ।

नम्बर २, बरु तपाईँको हैसियतचाँही के हो नबिना लामाजी ? कहाँबाट चुनाव लड्नुभएको हो ? कति मत लिएर जित्नुभएको हो ? संसदमा कसरी छिर्नुभएको हो ? म यस्तो प्रश्न तपाईलाई गर्दिन । म यहाँ प्रश्न गर्न उपस्थित भएको हैन । जम्माजम्मी तपाईँ सांसद जस्तो मान्छेलाई पनि प्रचण्डको हैसियत थाहा नभएका कारण बुझाउन आएको हो । बुझे बुझ्नुहोस्, नबुझे थाहा नपाए जस्तो गर्नुहोस् ।

नम्बर ३, अचम्म के भने गणतन्त्र विरोधी, संविधानसभा बिरोधी, संघीयता विरोधी, समावेशी-समानुपातिक नेपाल विरोधी, धर्मनिरपेक्षका विरोधी, राजतन्त्र अन्त्यका विरोधीले प्रचण्डको हैसियतका बारेमा चासो राख्नु त स्वभाविक थियो, तर सयौं वर्षदेखि उत्पीडनमा परेको एउटा निम्छरो समुदायको समानुपातिक सांसदले प्रचण्डको हैसियतमाथि प्रश्न उठाएको देख्दा नरमाइलो लाग्यो । यो त ‘सौतेनी आमालाई खुसी पार्न आफ्नै आमालाई पिटे’ जस्तो भयो । नबिनाजी, प्रचण्ड तपाईँलाई सांसद बनाउने समावेशी-समानुपातिक एजेण्डाको जननी हो, आमा हो । के कुरा बुझ्नुभयो ?

नम्बर ४, नबिना लामाजी, तपाईँ सांसद भएर पनि कस्तो थाहा नपाएको गाँठे ! प्रचण्डको हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । प्रचण्डको हैसियत संविधानसभा हो। प्रचण्डको हैसियत संघीयता हो । प्रचण्डको हैसियत समावेशी नेपाल हो । प्रचण्डको हैसियत समानुपातिक राज्य हो । प्रचण्डको हैसियत धर्मनिरपेक्ष नेपाल हो । बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने को हो नबिनाजी ? गुलेली चलाएर संघीयता आउँदैन भन्ने पनि जान्नुभएकै होला ।

नम्बर ५, नबिनाजीलाई प्रचण्डको हैसियत थाहा छैन भनौ भने पनि समानुपातिक, समावेशी कोटाबाट सांसदको टिका लगाउनुभएको छ । उहाँले सोच्नुभएको होला, केपी ओलीबाले मलाई यो सांसदको पद छोरी समान मानेर दाइजो जस्तो उपहार दिनुभएको हो, त्यसैले बाको खातिरदारी गर्नुपर्छ। तर गलत नबिना जी, गलत । यो समावेशी, समानुपातिक कोटा माग्दा हजारौले बलिदानी दिनुपरेको छ । समावेशी राज्य बनाउँदा हजुरका बाहरुले त देश टुक्रिन्छ पो भन्थे । तर, प्रचण्डले गोरु जस्तो जोतिएरै भए पनि उत्पीडनमा परेका समुदायको लागि समावेशी ब्यवस्था ल्याएरै छाडे । प्रचण्डको हैसियत तपाईँको पदसँग गाँसिएको छ। बुझ्नुभयो ?

नम्बर ६, प्रचण्डको हैसियत भनेको दुई–दुई ठाउँबाट चुनाव हारेका तत्कालीन एमाले नेता माधव कुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाउनु हो नबिना जी । किनकी उनीहरु फरक पार्टीका नेता त थिए तर समान उदेश्यका लागि हिँडिरहेका थिए । संसारमा यस्ता हैसियत भएका नेता बिरलै पाइन्छन्, जसले आफू आलोचना सहेरै भएपनि राजनीतिक सहयात्रीको गुण इमान्दारिताका साथ तिर्छ । त्यतिखेर सायद तपाई काभ्रेतिर मकै खन्दै हुनुहुन्थ्यो होला ।

नम्बर ७, प्रचण्ड प्रधानमन्त्रीको कारखाना त हैनन् तर पहिलो पटक पनि दोश्रो पटक पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका छ। त्यतिबेला चुनाव गठबन्धन बनेकाे थियो, एक्लै एमाले लडेको थिएन । यसकारण केपी ओलीको मुख हेरेर जनताले दुई तिहाई मत झण्डै दिए भन्नु दिवा सपना हो। अब पार्टी एकता कुन दु:खको साथ भएको थियो, पार्टी एकताको मूख्य बिरोधी को थियो त्यो वामदेव गौतमलाई थाहा होला, अनि अकास्मात अध्यादेश किन ल्याईयो त्यो तपाईँलाई नै थाहा होला। यस्ता नाथे पुराना कुरा गर्यो निशानीले भन्नुहोला नबिनाजी, तर मैले तपाईँलाई प्रचण्डकै हैसियत बुझाउन यस्सो छिर्के मात्र हानेको हो।

नम्बर ८, नबिना लामाजी, जतिखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संखघोष गरेर जनतालाई युद्ध र आन्दोलनका लागि सार्वजनिक आह्वान गरेका थिए, ठीक त्यतिखेर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको बिरोधमा दैनिकजसो भाषणबाजी गर्थे । गणतन्त्र बिरोधीहरुसँग चोचोमोचो मिलाउँदै आफूहरुलाई कम्युनिस्ट भन्ने तर व्यवहारमा बिग्रेका पञ्चायती मण्डलेभन्दा नि गुज्रिएको अभिव्यक्ति दिने गर्थे । तर पनि प्रचण्डले अनेक दुःखकष्ट सहेर, युद्ध आन्दोलनको फ्यूजन निर्माण गरेर गणतन्त्रको घोषणा गराइछाडे । हो यो हो प्रचण्डको हैसियत नबिना जी । गणतन्त्रको जग, गणतन्त्रको आधार, गणतन्त्रको मूलमर्म नै प्रचण्डको हैसियत हो ।

नम्बर ९, देशमा तानाशाहीहरुको थिचमिचो थियो । विभिन्न जात, धर्म, पेशा, वर्ण र समुदायका मानिसहरुमाथि विभेद थियो । देशमा अन्याय अत्याचार थियो । त्यो सबै सहन नसकेर प्रचण्डले संविधानसभाको कुरा गरे, राजतन्त्र अन्त्यको कुरा गरे, समानुपातिक, समावेशी, धर्म निरपेक्षता एजेण्डा उठाए । जसका निम्ति हजारौ शहीदहरुको बलिदानी हुनपर्यो । त्यतिखेर तपाईको ‘बा’ केपी ओलीले गुलेली खेलाएर नयाँ संबिधान बन्दैन भन्नुभएको हो । तर जे खेलाएर भएपनि नयाँ संविधान बनेरै छाड्यो । अब तपाईँलाई यस्तो समावेशी नयाँ संविधानको अन्तिमसम्म बिरोधी को थियो, त्यो भनिरहनु परेन । अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत ।

नम्बर १०, नबिनाजी, जंगबहादुर राणाको समयदेखि यो भूमिमा चलिआएको ‘भोटे मासिने जाति-समुदाय’ तपाईँ तामाङको छोरी आज समावेशी कोटाबाट सिंहदरबार छिर्नुभएको छ । सांसद हुनुभएको छ । तपाईँलाई लागेको होला, आफू एकदम क्षमतावान भएर सांसद भएँ । अथवा यस्तो पनि लागेको होला मेलै राम्रो काम गरेकाले मलाई पार्टीले मूल्यांकन गर्यों । तर त्यस्तो केही हैन, त्यो भ्रम मात्र हो । विश्वास नलागे पूर्वमन्त्री शेरबहादुर तामाङलाई सोध्नुहोला । तपाईँ त प्रचण्ड विचारले लडेर ल्याएको राज्यमा समान प्रतिनिधित्व समावेशी तथा समानुपातिक कोटामा सांसद बन्नुभएको हो । यसका लागि तपाईँले प्रचण्ड र प्रचण्डको विचारलाई धन्यबाद दिनुपर्छ । ल धन्यबाद दिन सक्नुभएन, तर हैसियतमाथि प्रश्न नउठाउनुहोस् । किनकि, त्यो त लाजमर्दो हुन्छ । उत्पीडनमा परेकाहरुलाई समावेशी अधिकार दिँदा देश टुक्रिन्छ भन्ने मान्छे तपाईँको लागि राजनेता तर देश निर्माणको लागि समावेशी राज्य हुनुपर्छ भन्ने प्रचण्डको हैसियतमाथि प्रश्न ?

नम्बर ११, नबिनाजी तपाईलाई थाहा नै होला कि नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभएको छ । भोलि त्यो स्थानमा तपाई तपाईँ पनि पुग्नसक्नुपर्छ । तर आज हेर्नुहोस् गणतान्त्रिक नेपालमा हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । प्रचण्ड नेतृत्वमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । हुनसक्छ तपाईले पनि दुईचार वटा ढुंगा प्रहरीलाई हान्नुभएको होला । केही दिन सडकमा उफ्रिनुभएको पनि होला । त्यो गरे भन्दैमा प्रचण्डको हैसियत नै सोध्न भ्याएको ? यो त अति नै लज्जास्पद पो भयो । यो त बयलगाढा चढेर अमेरिका पुगे जस्तो पो भयो ।

नम्बर १२, नबिनाजी, इतिहास साँची नै छ। राजालाई पैसा चढाउन को–को गए र जान तयारी थिए भनेर । तर जतिसुकै चलखेल भएपनि जनयुद्धको जगमा अगाडि बढेको दोस्रो जनआन्दोलनपश्चात पुनः स्थापना भएको व्यवस्थापिका संसद्ले २०६३ जेठ ४ गते ‘संसद्को घोषणा’ जारी गरेको थियो । जसले निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बन गरेको थियो । श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गान फेर्ने निर्णय गरेको थियो । तपाईँलाई थाहा छ नबिनाजी, यस्ता निर्णयहरुको ‘डिजाइन’ प्रचण्डले गरेका थिए । तपाईँ प्रचण्डको हैसियत सोध्नुहुन्छ ?

नम्बर १३, तपाईँ प्रचण्डको अर्को हैसियत पनि जान्नुहोस् नबिनाजी, कि तपाईका बा’हरुले अन्तिमसम्म बिरोध गरेको, सकभर घोषणा नगर्न षड्यन्त्र गरिरहेको संविधानसभाले गणतन्त्र घोषणा गर्दा १५ दिनभित्र तत्कालीन राजालाई नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो । जेठ २९ गते राजाले नारायणहिटी छाडेपछि नारायणहिटी दरबार सर्वसाधारणका लागि खुला भयो । मूलभूत रुपमा जनयुद्ध र जनआन्दोलन अनि प्रचण्डको विचारका कारण २७० वर्षदेखि राज गर्दै आएको राजतन्त्रको अन्त्येष्टि भयो । नबिनाजी, आज तपाईँ भन्नुहुन्छ, प्रधानमन्त्री ओलीलाई केही माईकालालले राजीनामा गराउन सक्दैन । यति मात्रै भनेको भए त हुन्थ्यो नि, प्रचण्डको हैसियत पनि सोध्नुहुन्छ । प्रचण्डको हैसियत के हो, जानुहोस् पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुहोस् ।

नम्बर १४, नबिनाजी, मैले सुरुमा पनि भनेकि, यो राज्यलाई समावेशी, समानुपातिक बनाउनुमा प्रचण्डको ठूलो हात छ । प्रचण्ड विचारको योगदान छ । हाम्रो देश नेपाल हिजोसम्म सयौँ फूलहरु मिलेर बनेको थियो तर राज्यमा ती फूलहरु फुल्न पाएका थिएनन् । यो वा त्यो बहानामा विभिन्न जातजाति, धर्महरु उत्पीडनमा परेका थिए । तर प्रचण्डले गणतन्त्र नेपालका परिकल्पना गरे । आज नेपालको संविधान २०७२ को भाग १ को ३ र ४ मा भनेको नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेको देशका रुपमा स्वीकार गरिएको छ । र, यिनै स्वीकारहरुमा प्रचण्डको हैसियत घाम जस्तै छर्लंग देखिएको छ ।

बरु तपाईँले प्रचण्डको जस्तै हैसियत कहिले बनाउने हो नबिनाजी ? कि केपी ओलीबाकै चाकडी गरेर जीवन बिताउने हो ?

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar