आगामी बजेटको प्राथमिकता:स्वस्थ्य पूर्वधार,रोजगारी र कृषि क्रान्ती

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाण्डौं: सरकारले आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्तिमा आधारित हुने उल्लेख गरेका छन्।

खतिवडाले कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने जानकारी गराएका छन्।

तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उनले जानकारी दिए।

प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा उपलब्ध स्रोत साधानको अधिकतम उपयोग गरी स्वास्थ्य पूर्वाधार, जनशक्ति उत्पादन तथा इक्वीपमेन्ट व्यवस्थापन गर्नका लागि बजेट तथा कार्यक्रम तर्जुम्मा हुने उनले जानकारी दिए। यसमा हरेक नेपाली नागरिकमा स्वास्थ्य उपचारको पहुँच स्थापित गर्नका लागि बीमा पनि विस्तार गरिने उनको भनाइ छ।

खतिवडाका अनुसार सरकारले विदेशी सहायतालाई पनि स्वास्थ्य तथा दीगो विकासका आयोजनामा परिचालन गर्ने रणनीति लिनेछ भने यो रणनीति नियमित भन्दा फरक हुने छ।

सरकारको दोस्रो प्राथिमकता रोजगारी हुने छ। कोरोना महामारीपछिको अवस्थामा बेरोजगारी भयावह हुने विभिन्न प्रक्षेपण भइरहेका बेला सरकराको बजेट तथा कार्यक्रम पनि त्यसलाई न्यूनीकरणमा केन्द्रित हुने छ। एकातर्फ स्वदेशमै रोजगारीको अभाव रहने र अर्कोतर्फ विदेशमा गएका उल्लेख्य नेपाली फर्किने संभावना रहेकाले बढ्ने बेरोजगारलाई लक्षित गर्दै सरकारले बजेटमार्फत विशेष कार्यक्रम ल्याउने जनाएको छ।

खतिवडाले कोरोना महामारीका कारण गुमेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगार बनाउनका लागि उद्दमशिलताको अधिकतम उपयोग हुनेगरी बजेट तथा कार्यक्रम तर्जुमा गरिने जानकारी दिए।
संघीयताको अधिकतम लाभ लिंदै रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले बताए।

स्वदेशमै गुमेको रोजगारी पुनरुत्थान गर्नेदेखि महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जनाको अवसरका रुपमा सरकारले देखेको र सोहीअनुसार कार्यक्रम तय गरिने उनको भनाइ छ।

रोजगारी सिर्जनाका लागि सरकारले पहिलो प्राथमिकता लगानी प्रबर्द्धनलाई लिएको छ। वैदेशिक साहयता परिचालनमा निजी क्षेत्रलाई समेत परिचालन गरी उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने सरकारको रणनीति छ। उद्दमशीलता उपयोग गर्नका लागि आवश्यक पुँजी तथा सीपको व्यवस्था सरकारले गर्ने छ। सीप विकासका लागि सरकारले विशेष कार्यक्रम बनाउने खतिवडाको भनाइ छ।
निजी क्षेत्रबाट थप हुने रोजगारीको अवसरबाट पनि बाँकी रहेको जनशक्तिलाई व्यवस्थापन गर्नका लागि स्वरोजगार कार्यक्रमलाई सरकारले अघि बढाउने छ। यसमा सीप तथा प्रविधिको उपलब्धतालाई सहज पारिने सरकारको भनाइ छ।

रोजगारी सिर्जनाका लागि सरकारको अर्को प्राथमिकता कृषि क्रान्ति गर्ने रहेको छ। कृषि क्रान्तिको विस्तृत मोडालिटी बजेट तथा कार्यक्रम छि नै आउने भएपनि खतिवडाले कृषि क्रान्ति गरिने बताएका छन्।

‘वर्षौदेखि टुटेको कृषि उत्पादनको सम्बन्ध जोड्न कोरोना अवसरका रुपमा हामीबीच देखिएको छ। हामीले रोजगारी सिर्जना तथा आत्मनिर्भरताका लागि कृषि क्रान्ति गर्नुपर्छ। त्यहीअनुसार आगामी वर्षको बजेट तथा कार्यक्रमहरु कृषिमा भूमी व्यवस्थापनदेखि पुँजी तथा प्रविधिमा सरकारले लगानी बढाउने छ’ उनले भने।

सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने उनको भनाइ छ।
नयाँ आयोजना नआउने
कोरोना महामारीका कारण सरकारले बजेट तथा कार्यक्रममा नयाँ आयोजनामा बजेट बिनियोजन गर्ने सम्भावना न्यून रहेको छ। सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै खतिवडाले अत्यावश्यक बाहेक नयाँ आयोजनामा बजेट बिनियोजन नहुने प्रष्ट पारेका छन्।

विकासमा देखिएका नयाँ चुनौतिका कारण १५ योजनामा समावेश कार्यक्रम नै फेरि प्रथामिकता गर्ने तयारीमा रहेको सरकारले अहिलेका रुपान्तरणकारी आयोजनालाई भने बजेट कटौति नगर्ने जनाएको छ।

मन्त्री खतिवडाले सीमित स्रोत तथा साधनका बाबजुद पनि सरकारले त्यस्ता आयोजनामा बजेटको कमी हुन नदिने जानकारी गराए।

निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्नेतिर सरकारले ध्यान हुने तर नयाँ आयोजना सुरु नगर्ने सरकारले प्रष्ट पारेको छ।
स्रोतको सकस
कोरोना महामारीका कारण उत्पादन तथा खपत घटेकाले सरकारी लक्ष्यअनुसार राजश्वको आधार खुम्चिने निश्चित छ। यस्तोमा सरकारले विश्व महामारीको अवसरमा अन्तर्राष्ट्रिय सहायता परिचालनमा विशेष ध्यान दिने खतिवडाले जानकारी दिए।

आगामी वर्षदेखि करको दर बृ‌द्धि गर्ने सरकारको कुनै पनि लक्ष्य नभएको र कर प्रणालीमा सहजीकरण तथा चुहावट नियन्त्रण र दायरा विस्तारबाट राजश्व बढाइने खतिवडाले बताए।

विदेशी साहयता परिचालिन गर्दा सरकार मात्र नभएर निजी क्षेत्रलाई पनि सहभागी गराएर देशव्यापी पुँजी परिचालनलाई व्यापक बनाइने उनको भनाइ छ।
पर्यटन क्षेत्रलाई विशेष प्याकेज
कोरोना महाकारीका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यसबाट उत्पन्न बेरोजगारी लगायतका समस्या सम्बोधन गर्न सरकारले विशेष प्याकेज ल्याउने खतिवडाले जानकारी दिएका छन्।

बजेट तथा कार्यक्रमबाट पर्यटन उद्योग तथा श्रमिकका लागि विशेष कार्यक्रम ल्याएर सम्बोधन गरिने उनले जानकारी दिए। पर्यटनमा पूर्वाधार निर्माणदेखि आन्तरिक उत्पादनसँग जोड्नेसम्मका प्राथमिकता छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar