प्रधानमन्त्रीको भीम रावललाई जवाफ- केभी प्रसारण लाइन परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो


प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी-रातमाटे-हेटौंडा र लप्सिफेंदी-रातमाटे-दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताएका छन्।मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली उक्त परियोजना जसरी पनि बनाउने बताए।

‘नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा भएको उक्त परियोजनाबारे केही माननीयहरूले एमसिसी जस्केलाबाट छिर्‍यो भन्नुभएको रै’छ,’ प्रधानमन्त्री ओलीले भने,‘यो परियोजना जस्केलाबाट आएको होइन। मूलढोकाबाट आएको हो। एमसिसीले बनाए बनाउँछ अरू कसैले बनाए पनि बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं।’उनले नेपालमा धेरै बिजुली उत्पादन गरिरहेका र बंगलादेशलाई समेत बेच्ने योजना बनाइरहेकाले बिजुली ट्रक/रेल/ पानीजहाजमा बेच्न नमिल्ने भएकाले प्रसारण लाइन बनाउन लागिएको बताए।
यसअघि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले एमसिसी परियोजनामा उल्लेखित भएको लप्सीफेंदी-रातमाटे-हेटौंडा र लप्सीफेंदी-रातमाटे-दमौली-बुटवल प्रसारण लाइन नीति तथा कार्यक्रममा परेको भन्दै जस्केलाबाट एमसिसी पसाउन खोजेको त होइन भन्दै प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले भने एमसिसी पास गर्ने कि नगर्ने जिम्मा संसदलाई भएको बताए।
‘अविच्छिन्न उत्तराधिकारी भएकाले यो सरकारले अघिल्लो सरकारले गरेको सम्झौता एमसिसी संसदमा टेबल गरेको छ। अब त्यसलाई पास गर्ने कि फेल गर्ने निर्णय संसदलाई छ,’  प्रधानमन्त्री ओलीले भने,‘पार्टीमा कुनै छलफल गर्नुपर्ने भए त्यो अर्कै विषय हो।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar