सिडिओले तास खोल्ने, रक्सी खाने साथी,गुण्डाहरूलाई पास बाँड्दा कोरोना फैलियो : सांसद विडारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण विडारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कोरोना भाइरसको संक्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि दोषी रहेको बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद विडारीले सिडिओले सवारी साधानको पास वितरणमा कडाइ नगर्दा कोरोनाको संक्रमण लकडाउनको अवधिमा पनि फैलिएको आरोप लगाए ।

‘यो कोरोना फैलिनुमा एउटा सिडिओ पनि दोषी छ,’ सांसद विडारीले भने, ‘तास खेल्दाको साथी, रक्सी खाँदाको साथी जम्मैलाई पास बाँडिदिएको छ । अनि त दुई चार हजार रुपैयाँ भएका टोलका गुन्डाहरु गाडीका पास लिएर हिँड्ने । जनतालाई आक्रान्त पार्ने ।’

सांसद विडारीले गाउँगाउँमा किसानले उत्पादन गरेको वस्तुहरु सरकारले नै शहरसम्म ल्याएर बिक्री गर्नुपर्ने बताएका छन् । साथै, गाउँमा किसानलाई आवश्यक वस्तु सरकारले पुर्याउनुपर्ने माग गरेको छ । यसो गर्दा आवातजावत कम हुने र कोरोना संक्रमणको जोखि पनि कम हुने उनको भनाइ छ ।

‘सरकारले कम्तीमा एक हजार मालवाहक सवारी साधन आफ्नो नियन्त्रण, रेखदेखमा आफ्नो सुरक्षा सहित गाउँगाउँमा पठाउनु पर्यो । गाउँले जनताले उत्पादन गरको सम्पूर्ण चिजहरु शहरमा ल्याइदिनुपर्यो । शहरबाट गाउँमा मल, बिउ, कीटनाशक औषधि, जो जे चाहिने हो त्यहाँ पुर्याइदिनुपर्यो,’ सांसद विडारीले भने, ‘जनता आवतजावत गर्न रोकिदिनुपर्यो । यसले भारतीय सामान नेपाल आउन रोकिन्छ । भारतीय तरकारी, फलफूल आउन रोकिन्छ । हामी आत्मनिर्भर हुन्छौं । आयात घट्न सक्छ ।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar