बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्‍यो :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापा

मणि थापा – स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

“अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण बनेको छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा उनीहरु जिउँदा छन् या छैनन् परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ; बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्दछ ।”
७ जेठ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले बेपत्ता योद्धाहरुको स्थिति सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

जनयुद्ध र ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता पारिएका योद्धाहरुको स्मृति दिवसका अवसरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेकपा र सरकारले बेपत्ता योद्धाहरुको स्मृति दिवस कर्मकाण्डीरुपमा मनाउनु र वक्तव्यबाजी गर्नुभन्दा उनीहरुका परिवारलाई वास्तविक अवस्था प्रष्ट बताइदिनु पर्ने साथै सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

“शान्ति प्रक्रियामा आइसकेपछि कैयन पटक जनयुद्धका नेतृत्व र नेताहरु सरकारमा गएपनि जनयुद्धका बेपत्ताहरुको स्थितिबारे मौनता देखिनु योद्धाहरुप्रतिको अपमान हो” नेता थापाले भने, “सत्तासिन पार्टी र वर्तमान सरकारले स्मृति दिवसका अवसरमा बेपत्ता परिवारलाई सहानुभूति दिनुभन्दा उनीहरुको अवस्था के हो सार्वजनिक गर्नु पर्दछ ।”

उनले वक्तव्यवाजी र फोस्रो सहानुभूतिको चरण सकिएको भन्दै बेपत्ता योद्धाका परिवारहरुले ‘जिउँदो भए सास चाहियो, नभए लाश चाहियो’ भनेको पनि दशक बितेको बताए ।
“बेपत्ता योद्धाका सन्दर्भमा फोस्रो वक्तव्यवाजी र सहानुभूतिको चरण सकिएको छ अब नक्कली कुराको अर्थ छैन्,” नेता थापाले भने, “अहिले नेकपा नेतृत्वको सरकार छ, बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्ने उपयुक्त वातावरण बनेको छ; वर्तमान सरकार र पार्टीले बेपत्ताको बारेमा उनीहरु जिउँदा छन् या छैनन् परिवारलाई प्रष्टसँग भनिदिनु पर्दछ; बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्नुपर्दछ ।”

दशवर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट १ हजारभन्दा बढी नागरिक बेपत्ता पारिएको देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका अनुसार राज्यबाट ८ सय ४२ र तत्कालीन नेकपा माओवादी पक्षबाट १५२ व्यक्ति बेपत्ता पारिएको तथ्याङ्क छ । तर बेपत्ता परिवार समाजको तथ्याङ्कमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या १ हजार ९५ रहेको छ ।

बेपत्ता परिवारलाई आफ्ना आफन्त आउने आस अझैसम्म रहेको छ । उनीहरु हराए, मारिए वा जिउँदै छन्, अहिलेसम्म केही पत्ता नलाग्नु ठूलो बिडम्बना नै हो ।

सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar