परमाणु प्रहार (हाइड्रोजन बम) क्षमता बढाउने किम जोङ उनको योजना


एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोंङ उनको परमाणु महत्वकांक्षा दिनदिनै चुलिंदै गएको छ । सरकारी समाचार एजेन्सी केसीएनएले आज दिएको जानकारीबाट यस्तो खुलासा भएको हो । जानकारी अनुसार हालै किम जोङ उनको नेतृत्वमा उच्च सैन्य आयोगको बैठक सम्पन्न भएको छ ।

बैठकमा परमाणु युद्ध निरोध र परमाणु मारक क्षमता बढाउने विषयमा छलफल भएको थियो । केसीएनएले परमाणु युद्ध निरोध बारे खुलस्त रुपमा बताउन नसकेपनि बैठकले थुप्रै महत्वपूर्ण निर्णयहरु गरेको दावी गरेको छ ।

बैठकमा उत्तर कोरियाली जनसेनाको आर्टीलरी मारक क्षमता बढाउने, सशस्त्र फौजको निर्माण र विकास गर्ने तथा सशस्त्र फौजलाई एक हाई अलर्ट अपरेशनका लागि तम्तयार राख्ने लगायतका विषयमा गहन छलफल भएको बताइएको छ ।

यसअघि किमको स्वास्थ्य बारे थुप्रै समाचारहरु बाहिर आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई चेतावनी दिन अमेरिकी परमाणु परीक्षण बारे बैठक आयोजना गरेको समाचार शुक्रबार वाशिंगटन पोस्टमा प्रकाशित भए पछि उत्तर कोरियाली परमाणु क्षमता बृद्धि गर्ने विषय केन्द्रित यो समाचार सार्वजनिक भएको हो ।

यसभन्दा अगाडी उत्तर कोरियाले विशाल गोदाम निर्माण गरिरहेको समाचार आएको थियो । परमाणु हतियार राख्न र परीक्षण प्रयोजनका लागि गोदाम निर्माण गरिएको बताइएको थियो । गत मार्चमा उपग्रहबाट लिईएको तस्विरबाट यस्तो खुलासा भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोंङ उनबीचको पछिल्लो परमाणु वार्ता भंग भएपछि यो तस्विर सार्वजनिक भएको थियो । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar