कतारमा सांस्कृतिक राष्ट्रिय चाड माघ्या सकराटी २०७६ भब्य रुपमा सम्पन्न

दोहा कतार 
नेपाल मगर सङ्घ, शाखा कतारले गत शुक्रवारको दिन मगरहरूको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी (सार ल्हेस )–२०७६ लाई भव्यताका साथ सफल पारौँ (नेपालीकुङ रोस रेवसके जिवाकिङ ड फोसाकिङ ।मगरकुङ (बाङ्छ) मोहरे वेश “माघ्या सकराटी (सार ल्हेस) -२०७६“ के मज्जुङ्खाटा सेव खासिङ) नाराका साथमा माघ्या सकराटी (सार ल्हेस) २०७६ तथा बनभोज कार्यक्रमको साथमा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । सङ्घका अध्यक्ष विजय कुमार मगरको सभापतित्वमा, नेपाल मगर सङ्घ, शाखा कतारका प्रमुख सल्लाहकार शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल मगर सङ्घ, शाखा कतारका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ,भीम तरामु मगर, नेपालबाट कार्यक्रमका लागि कतार आउनु भएका कलाकारहरू लोक दोहोरी गायिका निर्मला थापा मगर र मोडेल तथा डान्सर अस्मिता राना मगर, एन आर एन ए ( आइ सी सी) कतारका सदस्यहरू होम नाथ शर्मा, केवि हमाल, एन आर एन ए ( एन सी सी ) कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ विभिन्न वैचारिक सङ्घ संस्थाका प्रमुखहरू विशिष्ट अतिथि रहेका थिए भने सङ्घ,शाखा कतारका सल्लाहकारहरू, विभिन्न धार्मिक तथा जातीय सङ्घ संस्थाहरू,प्रदेश जिल्ला संस्थाहरू, कला तथा साहित्य संस्थाहरू, समाजसेवी, बुद्धिजीवी तथा व्यवसायीहरू, पत्रकारहरू, सङ्घ मातहतमा रहेका विभाग र एरिया समितिहरू, मार्नथ सदस्य हरू अतिथि रहेका थिए । मगर रित अनुसार पितृको पूजा गरेर तरुलको टीका लगाइ दीप प्रज्वलन सहित राष्ट्रिय गान, मगर गान सहित बिधिबत सुरु गरिएको थियो भने प्रथम सहिद क्याप्टेन लखन थापा मगर र अन्य ज्ञात अज्ञात सहिद प्रति सम्मान गर्दै एक मिनेट मौन धारणा समेत गरिएको थियो ।
स्वागत गीत र नृत्यबाट सुरु गरिएको कार्यक्रममा मगरहरूको विविध सांस्कृतिक झल्काउने नृत्यहरू हुर्रा, कौराह, सालैजो, चुड्का, टप्पा, लोक गीतमा कलाकारले नृत्य प्रस्तुत गरेका थिए । गायक राम मगर, तारा थापा मगर, नेत्र थापा मगर र डी .एन मगरको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका निर्मला थापा मगरले आफ्ना चर्चित गीतहरू सालैजो कौराह बाट उपस्थित लाई नचाउन सफल भइन । अर्की अतिथि कलाकार मोडल तथा डान्सर अस्मिता राना मगरको नृत्यले उपस्थित सम्पूर्णको मन जितेको थियो ।

दर्शकलाई थप मनोरञ्जन दिन महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरूका लागि लठो तान्ने खेल खेलाइएको थियो । म्युजिकल चेयर तर्फ सहभागी बिस प्रतियोगीहरू लाई पछि पार्दै अस्मिता पौडेल प्रथम र रिया पुन मगर दोस्रो बने । लठो तान्ने प्रतियोगिता तर्फ ८ समूह लाई पछि पार्दै जी.डब्लु.सी समूह प्रथम भएको थियो । मगर ड्रेसमा उत्कृष्ट महिला तर्फबाट जानू थापा मगर र पुरुष तर्फबाट फनिल थापा मगर विजेता भएका थिए l विजेता सबैलाई पुरस्कारले सम्मान गरिएको थियो l खेलकुद संयोजक नेपाल मगर सङ्घका केन्द्रीय समिति सल्लाहकार खिम राना मगर र सह संयोजक मगर सङ्घ कतारका पूर्व खेलकुद संयोजक तथा सदस्य सूर्य थापा मगर रहेका थिए भने कार्यक्रममा निर्मला थापा मगर र अकबुल खान ( गोर्खाली) को लाइभ दोहोरीले भरपुर मनोरञ्जन दिलाएको थियो ।

सङ्घका दित्तीय उपाध्यक्ष केशव घर्ती मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमका संयोजक तथा सङ्घका सचिव लोक बहादुर सिन्जालि मगरले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । औपचारिक कार्यक्रमलाई विवेक पुलामी मगरले सहजीकरण गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन डी.एन मगर, तिल विक्रम मगरले गरेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरूले कार्यक्रम सफलताको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्य तिर बोल्दै प्रमुख अतिथि रोका मगरले नेपालका मगरहरूले माघ महिना सुरु भएपछि घाम अलिक न्यानो हुन थाल्ने, हिउँ पग्लने, पात झरेर नाङ्गो बनेका डालीहरूमा मुना पलाउने सम्भावना बढ्ने, उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम सुरुवात भएको आभासमा हाम्रा पुर्खाहरूले हर्षित भएर खुसीयाली मनाउन थालेको दिन, महिना हुँदै बर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष सुरु हुन सुरसार गर्दा पुर्खाहरूले ‘माघे संकराती’ लाई मगरहरू ‘सारल्हेस’ (नयाँ वर्ष ) भनी मनाउन थालेको र उक्त दिन मरेका पुर्खाहरूलाई पानी चढाउने (डी डाकेँ) पर्वको रूपमा मानिने बताउँदै प्रवासमा रहेर आफ्नो चाड पर्व र कला संस्कृति भेषभुषा भाषा लाई बचाइ राखेको मगर सङ्घ कतारलाई धन्यवाद दिँदै उपस्थित सम्पूर्णलाई माघ्या सकराटीको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै सभापति मगरले कार्यक्रममा उपस्थित सम्पूर्णलाई साथै कार्यक्रम सफल बनाउने सहयोग गर्ने सहयोगीहरू लाई धन्यवाद दिँदै मगर सङ्घ कतारले आफ्नो भेषभुषा , भाषा लिपि, संस्कृति लाई सधैँ संवर्द्धन र प्रवर्द्धन गर्दै अगि बढ्दै जाने प्रतिबद्धता व्यक्त गर्दै समापन गरेका थिए । एक हजार भन्दा बढी सङ्ख्यामा उपस्थित दर्शकहरूमाझ भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar