नेकपाको ११ बुँदे आचारसंहिता : विवाह भोजमा कडाइ, तँ भन्न नपाइने


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ११ बुँदे आचारसंहिता जारी गरेको छ । कार्यकर्ता र पार्टी पंक्तिलाई अनुशासित र मर्यादित बनाउने भन्दै अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित आचासंहिता सर्कुलर भएको छ ।

आचारसंहिता पार्टीका नेता कार्यकर्ताको बोल्ने शैलीदेखि जीवनशैलीसम्म परिवर्तन गर्नुपर्ने समेटिएको छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याउनुपर्ने, भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध गर्न नहुने उल्लेख छ ।

यस्तै, आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमुना बन्नुपर्ने, पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्ने आचार संहितामा उल्लेख छ । यस्तै, आफ्नो जीवनलाई सधैं जनताबीच खुला किताबजस्तै राख्न प्रयत्न गर्नुपर्ने बताइएका छ ।



के छ ११ बुँदामा ?

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ ।

२. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिक पूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अप्ठ्यारो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।

बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु हुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछुत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ।

३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ। आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, उठबस गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नु हुँदैन ।

४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ । उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्युनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।

५. समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछुत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमुलक निकायमा उम्मेदार बन्न बन्देज लगाउनुपर्छ ।

६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ ।

७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफुसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमुना बन्नुपर्छ ।

८. समाजवादी संस्कृतिको आधार सामूहिक जीवन प्रणाली हो । सामूहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न सकियो भने सामूहिक जीवन प्रणाली विकास गर्न सकिन्छ । त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्त्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्छ ।

९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुला किताबजस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

१०. समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रणी भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछुत, जातपात र जातिभेदजस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुष्कार्यबाट आफुलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सजायको भागिदार बनाउन सहयोग गर्नुपर्छ ।

११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो । मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar