अन्तरिक्षमा ३२८ दिन बिताएर क्रिस्टिनाले राखिन् विश्व रेकर्ड

अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत वैज्ञानिक क्रिस्टिना कोचले आफ्नो पहिलो  अन्तरिक्ष यात्राका क्रममा विभिन्न विश्वरेकर्ड बनाएकी छिन्।
३२८ दिन अन्तरिक्षमा बिताएकी उनले सबैभन्दा लामो समयसम्म स्पेसफ्लाइट उडाउने महिला र महिला मात्रै सामेल अन्तरिक्ष उडानमा भाग लिने महिलाका रूपमा रेकर्ड बनाएकी हुन्। उक्त परियोजनामा क्रिस्टिनालाई नासाकै अर्की वैज्ञानिक जेसिका मेरले साथ दिएकी थिइन्।
त्यसबाहेक क्रिस्टिनाले पहिलो अन्तरिक्ष यात्रामै ३२८ दिन बिताउने वैज्ञानिकको रेकर्ड पनि बनाइन्। सबैभन्दा लामो समय अन्तरिक्षमा बिताउने वैज्ञानिकको रेकर्ड भने नासाकै स्कट केलीको नाममा छ। उनले अन्तरिक्षमा लगातार ३४० दिन बिताएका थिए।
‘लाखौं मानिसका लागि प्रेरणा बन्न पाएको त्यस क्षणमा हामी आत्मविभोर भएका थियौं। हामीले एकअर्काको आँखामा गर्वको भाव देख्युँ’  क्रिस्टिनाले भनिन्, ‘हामी दुई जनाले मात्रै उक्त मिसनलाई कन्ट्रोल गरिराखेका थियौं। पृथ्वीभन्दा बाहिर पुगेका हामी दुई महिला त्यहाँ आइलागेका समस्यासँग जुधिरहेका थियौं। त्यो साँच्चै नै विशेष क्षण थियो।’
क्रिस्टिना बिहीबार बिहान मात्रै पृथ्वीमा फर्किएकी हुन्। मिसनका क्रममा उनले ६ पटक ‘स्पेसवाकु गरिन्, ४२ घण्टा १५ मिनेट स्टेसनबाहिर बिताइन्।त्यस क्रममा उनले त्यहाँ विभिन्न किसिमका अनुसन्धान तथा परीक्षणहरू गरिन्। अन्तरिक्षमा गुरुत्वाकर्षण नभएको ठाउँमा ‘मानव शरीरले कसरी प्रतिक्रिया जनाउँछ, मानवको दैनिकी के कति कारणले भिन्न हुनसक्छ?’ जस्ता विषयको परीक्षण गर्ने गरिन्छ। अन्तरिक्षयात्रीले कहिलेकाहीँ परीक्षण गर्छन् भने कहिलेकाहीँ स्वयं परीक्षणको विषय पनि बन्दछन्।
क्रिस्टिनाको अनुसन्धान अन्तरिक्षमा लामो समय बस्दा मानव स्वास्थ्यमा पर्न सक्ने असर र अन्तरिक्षमा बोटविरुवाले देखाउने प्रतिक्रियाबारे केन्द्रित थियो। त्यस्तै, उनले ट्युमर बढ्न नदिने तौरतरिकाहरूको पनि परीक्षण गरिन्। ती परीक्षण क्यान्सरको उपचारका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।
‘जे होस्, ३२८ दिन लामो अन्तरिक्ष यात्राले गौरवान्वित बनाएकी छु’ क्रिस्टिनाले भनिन्।
स्रोत:एजेन्सी।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar