महान दश बर्षे जनयुद्ध किन भयो ? जनयुद्ध देशभर कहाँ के भएको थियो ?


काठमाण्डौ। पुर्ब PLA साकार पुलामी मगर
२०५२ फागुन १ गते नेपाली सर्वहारा वर्ग, प्रगतिशील तथा उत्पीडित समुदायका लागि खुसीको दिन हो जुन दिनमा देश र जनताका शत्रु सामन्तवाद र साम्राज्यवादका विरुद्ध ने.क.पा. (माओवादी) ले जनयुद्धको घोषणा गरेको थियो । जसमा एेतिहासीक मगरात,आधुनिक नेपाल भुमीबाट सुरुवात भएको थियो। माओवादी पार्टीले ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दैै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि अगाडि बढौँ’ मूल नारासहित जनयुद्ध अगाडि बढेको थियो । जुन लक्ष्य र उद्देश्य निर्माण गरेको थियो, दीर्घकालीन जनयुद्ध नै भने पति त्यो चिनियाँ क्रान्तिको हुबहु नक्कल थिएन । त्यसमा नेपाली विशेषता र मौलिकता थिए । गाउँबाट सहर, साना सहरबाट ठूला सहर हुँदै केन्द्रीय सत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्ध कार्यदिशा निर्धारण गरिएको थियो । यसमा नेपाली मौलिकता, विशिष्टता र फरकपन थियो भन्ने के कुराले पुष्टि गर्दछ भने फागुन १ गते एकै दिन धेरै स्थानमा फरक–फरक प्रकृतिका विद्रोहात्मक कारबाहीहरू भएका थिए । सामन्त, सुदखोर प्रवृत्तिका विरुद्ध गोर्खाको च्याङ्लीमा रहेको साना किसान विकास बैक दलाल पुँजीवादको प्रतीक काठमाडौँ जडीबुटीस्थित पेप्सीकोला कम्पनी र रोल्पा तथा सिन्धुलीका प्रहरी चौकीसहित सानाठूला सयौँ कारबाहीहरू भएका थिए । सुरुआतमा नै दुस्मन कित्ताभित्र खैलाबैला मच्चिएकै थियो । तर पनि शासकहरू बाहिर जनविद्रोहलाई न्यूनीकरण गर्दै थिए । एउटा गुलेली चलाउन नसक्नेले बन्दुकको कुरा गर्ने ? युद्धको कुरा गर्ने ? राजा फाल्ने कुरा गर्ने ? हाल सम्माननिय प्रधानमन्त्री केपी ओली त २०६१ सालसम्म भन्दै थिए– गणतन्त्र ल्याउने कुरा ठेलागाडा चढेर अमेरिका जाने सपनाजस्तै हो । त्यसो त जनताका वैरीहरूले जनताको शक्तिलाई हेप्दै, न्यूनीकरण गर्दै आएका छन् । त्यसैले जनताले चलाएको न्यायपूर्ण युद्धको सधैँ जित भएको छ र प्रतिक्रियावादी शासकहरूको हार भएको छ। जनताको अगाडि जस्तोसुकै शक्तिशाली शासकहरू पनि पराजित भएका छन् । रुसको जार, चीनको च्याङ काइसेकदेखि नेपालको राजतन्त्र सबै जनताका सामु घुँडा टेक्न बाध्य भएका छन् । त्यसैले अध्यक्ष माओले इतिहासका निर्माता जनता हुन् भन्नुभएको थियो । त्यसरी भन्नु भनेको उनीहरूको द्वन्द्ववादविरोधी, अधिभूतवादी, आदर्शवादी विश्वदृष्टिकोणको कारण हो । देशविदेशमा प्रतिक्रियावादीहरूले महान् जनयुद्धलाई त्यसरी बुझे जसरी अरू देशका आन्दोलनहरूलाई बुझ्ने गर्थे । त्यसो हुनु अनिवार्य थियो किनकि विश्वका सबै प्रतिक्रियावादीहरूको वर्गचरित्र एउटै हुन्छ ।
जनयुद्ध तीव्र गतिमा अगाडि बढ्दै गयो । दुस्मनको मुटु सिंहदरबारमा खेलाबैला मच्चियो। गाउँ–गाउँबाट जनताका शत्रुहरू लखेटिए । उनीहरू भागेर सहर, सदरमुकाम र राजधानीमा केन्द्रित हुन थाले । अध्यक्ष माओले भन्नुभएको थियो– क्रान्तिको मुख्य उद्देश्य सत्ताको प्रश्न हल गर्नु हो ।
केन्द्रीय सत्ता कब्जा गर्न बाँकी रहे पनि, दुस्मनका केन्द्रहरूलाई टिकाउने जरा, गाउँको सत्ता खाली गर्दै जनताको सत्ता धमाधम बन्दै गए । जनताको सुरक्षा र दुस्मनको शक्ति विघटनका लागि जनसेना निर्माण हुँदै गएका थिए । एकपछि अर्को दुस्मनको शक्तिमाथि हमला बढ्दै गयो । गाउँगाउँमा जनसत्ता बन्दै, आधारइलाका बन्दै गए । भौतिक निर्माण, न्याय सम्पादन, सहकारी (अर्थ र वित्त) का काम, जनकम्युनहरू निर्माण सञ्चालन हुँदै गए। लाखौँ जनता वर्गयुद्धमा होमिँदै गए । जनताले ने.क.पा. (माओवादी) को नीति र योजना स्वीकार गरिसकेका थिए । जनता र पार्टी नङ र मासु, माछा र पानीसरह भएका थिए । श्वेतआतङ्कको स्थान लालआतङ्कले लिएको थियो । ठूला दुस्मनका प्रतिनिधिहरू देश छोडेर भाग्दै थिए । दुस्मनको राज्ययन्त्र निष्क्रिय हुँदै गाएको थियो । प्रहरी बल पराजित भैसकेको थियो । राज्यसत्ताको प्रमुख अङ्ग शाहीसेना जनयुद्धका विरुद्ध परिचालित थियो। त्यति मात्र कहाँ हो र ? हाम्राविरुद्ध इजरायल, बेलायत, अमेरिकाजस्ता मुलुकका कुख्यात सैन्य हतियार, प्रविधि र तालिम सञ्चालित थियो । तर पनि ने.क.पा. डग्मगाएन र एक कदम पनि पछि हटेन । बरु मुख्य दुस्मनलाई एक्ल्याउँदै, उसमाथि प्रहार गर्दै मित्र शक्तिहरूलाई गोलबन्द गर्दै अगाडि बढ्यो । दुस्मन शक्तिको पराजय र विघटन अनिवार्य थियो ।
वर्गसङ्घर्षको इतिहास हेर्दा मानव जातिले आजसम्म कहिल्यै र कतै पनि निजी स्वार्थका निम्ति लड्नेहरूसँग सामूहिक र न्यायपूर्ण लडाइँ लड्नेहरूले हार्नुपरेको छैन । देश र जनताका निम्ति रगत दिन चाहने शक्तिसँग पैसाका निम्ति लड्नेले कहिल्यै लड्न सक्दैन । नेपालको सन्दर्भमा पनि त्यो सत्य साबित हुँदै गयो । दुस्मनको मुख्य शक्तिका विरुद्ध पार्टीले प्रहार केन्द्रित गर्दै गयो । उसको दक्षता र मनोबल खासै उच्च थिएन । त्यसले के पुष्टि गरिरहेको थियो भने जनताको जनवादी व्यवस्था स्थापना निश्चित बन्दै गएको र प्रतिक्रियावादी व्यवस्था विघटनको सङ्घारमा थियो । पूर्वी क्षितिजमा रातो सूर्योदय हुँदै गरेको छर्लङ्ग देख्न सकिन्थ्यो ।महान दश बर्षेजनयुद्धको अध्यक्ष क.’प्रचण्ड’ दशबर्षे जनयुद्धको महासचिव कमरेड रामबहादुर थापा मगर “बादल”, हुनुहुन्थ्यो हाल शक्तीसाली गृहमन्त्रीको रुपमा स्थापीत हुनुहुन्छ।जनमुक्ति सेनाका कमाण्डर रहेका डिपुटी कमाण्डरहरु क. नन्द बहादु पुनमगर ‘पासाङ’सम्मानिय उपराष्टपतीमा हुनुहुन्छ। क. बर्षमान पुनमगर ‘अनन्त’उर्जा जलस्रोत तथा सिचाइ मन्त्री हुनुहुन्छ, जनार्दन शर्मा ‘प्रभाकर’ र चक्रपाणी खनाल ‘बलदेव’ हुन।

समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९९४ फेव्रुअरी १३) मा महान जनयुद्धको घोषणा गरियो । जनयुद्धको मुलनारा :- प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं, थियो ।
२०५२ साल
फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुआत । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा ।

फागुन ६ः नेकपा माओवादीका महामन्त्री क. प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीको जिम्मेवारी स्वीकार ।
फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।
२०५३ साल
असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ १’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।
वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको सहादत ।
२०५४ साल
असारः माओवादीको केसको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।
माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।
फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
वैशाखः तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’ को किलो शेरा टू नामक क्रूर अपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको हत्या ।
भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ १’ भने मूल नारा तय ।
कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
पुस १८ः २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित कब्जा ।
सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथि लुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार।
फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
२०५६ साल
वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न सुरु गर्यो र आजसम्म पाँच हजार बढी बेपत्ता रहेको अवस्था ।
जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।
भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘क। वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।
असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा। यसपछि प्रहरीहरू केन्द्रीकृत ।
चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा।
२०५७ साल
असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा ।
भदौ १४ः झापा महवारी इप्रका कब्जा ।
असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा ।
असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।
फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।
चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा।
२०५८ साल
जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
जेठ १९ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास ।
जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड।
जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।
असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।
असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास । असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।
साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
साउन ४ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
साउन ८ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।
साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक ।
१४ गते पहिलो चरणको वार्ता गोदावरीमा ।
२८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।
कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह ।
मङ्सिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
मङ्सिर ८ः जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
मङ्सिर १०ः पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
मङ्सिर ११ः देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार।
मङ्सिर १२ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्य आतङ्क ।
मङ्सिर २२ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
फागुन ४- जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भिडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा ।
जेठ ८ः मुख्यतः माओवादीविरुद्ध लगाइएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी हत्या।
असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा ।
असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।
असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा।
मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैङ्क कब्जा ।
माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।
माघ २९ः युद्धविराम आचार संहिता जारी ।
चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन।
चैत २०ः काठमाडौँमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।
२०६० साल
वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया ।
कात्तिक १०ः जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।
कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
पुस २ः जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।
माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
फागुन १९ः जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
चैत ७ः जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला। २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज क। किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा।
चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा सहादत ।
जेठ ६ः डोटीको घन्टेश्वरमा जनसेना–शाहीसेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु ।
असार ३ः अखिल ९क्रान्तिकारी० द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल।
साउन÷भदौ- माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
भदौ २०ः माओवादी केसद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
मङ्सिर १ः जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
मङ्सिर ५ः कैलालीको पण्डोनमा जनसेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एमः १६ सहितका हतियार कब्जा ।
मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।
पुस ३ः काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा ।
पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाहीसेनाको सफाया ।
पुस १७ः धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवदी अध्यक्षको अपिल।
माघ २०-२२ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
चैत २०-३०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल।
२०६२ वैशाख
वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
जेठ २७ः काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
असार ८ः जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृत्यु।
असार ११ः जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु ।
साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।

असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।

मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।
मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘क। सुनिल’ को सहादत।

मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।
पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।
माघ १ः जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।
माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
माघ २७ः जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।
चैत २४ः सात दल-माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु।
२०६३ साल
वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।

जेठ ४ः पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।
जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।
असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।

साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।
माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।
२०६४ साल
साउन १८ः नेकपा माओवादीको पाँचौँ विस्तारित बैठक साउन १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा बस्यो । जिल्ला सचिवालय सदस्यदेखि माथिकाले भाग लिएको उक्त बैठकमा माओवादी अध्यक्षले ‘नयाँ वैचारिक स्पष्टता र नयाँ एकता कायम गर्न एकजुट होऔँ’ शीर्षकको २४ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत ।

उक्त दस्तावेजमाथि १९ गतेदेखि २३ गतेसम्म छलफल गरी आवश्यक संशोधनसहित पारित । उक्त बैठकले संविधानसभा निर्वाचन अगाडि गोलमेच सम्मेलन, गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीमा जोड दिने निर्णय ।
भदौ १ः माओवादी र सातदलका शीर्षस्थ नेताहरूबीच संयुक्त बैठक । माओवादीको संविधानसभा निर्वाचनमा जानुअगाडि नै गणतन्त्र घोषणा गर्नुपर्ने अडान ।
भदौ ७ः माओवादी पार्टी केन्द्रद्वारा मुलुकका सबै क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा समसामयिक राजनीतिक विषयमा केन्द्रित रही बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना।
भदौ १६ः संविधानसभा निर्वाचन बिथोल्न अज्ञात समूहद्वारा काठमाडौँको बालाजु, सुन्धारा र त्रिपुरेश्वरमा बम विस्फोट ।

असोज १ः सरकार, सात राजनीतिक दल गम्भीर नबनेको र आफूले अघि सारेका २२ बुँदे मागपत्र उपर कुनै सुनुवाई नभएको भन्दै माओवादी संयुक्त सरकारबाट हटी सोही दिन खुलामञ्चमा जनसभा । शान्तिपूर्ण आन्दोलनमा अगाडि बढेको घोषणा ।
असोज ६ः कांग्रेसको सङ्घीय गणतन्त्रमा जाने सम्बन्धमा महासमिति बैठक । उक्त बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने औपचारिक निर्णय । कांग्रेस र कांग्रेस प्रजातान्त्रिक बिच पार्टी एकता ।
असोज १३ः माओवादीद्वारा देशव्यापी प्रदर्शन गरे पनि देशभरका निर्वाचन कार्यालय घेराऊ गर्ने कार्यक्रम जनप्रदशर्नमा परिणत ।
मङ्सिर १५ः राष्ट्रियता, गणतन्त्र र संविधानसभा निर्वाचनको सन्देश छर्दै योङ कम्युनिस्ट लिगद्वारा मेची–महाकाली अभियान सुरु ।
पुस ८ः माओवादी र संसदवादी राजनीतिक दलहरूबीच विभिन्न विषयमा २३ बुँदे सहमति भयो । उक्त सहमतिअनुसार अन्तरिम संविधान– २०६३ मा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने र यसको कार्यान्वयन चैत मसान्तभित्र हुने संविधानसभा निर्वाचनले गर्ने निर्णय । प्रत्यक्ष निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गत २४० निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीअन्तर्गत ३३५ सदस्य सङ्ख्या र प्रधानमन्त्रीबाट मनोनित हुने २६ सङ्ख्या किटान ।
पुस ११ः प्रधानसेनापति रुक्माङ्गत कटुवालले पटक पटक सैनिक ‘कु’, डेमोक्रेटिक ‘कु’ आदिको धम्की दिएपछि माओवादी अध्यक्षद्वारा नेपाल लेखक सङ्घद्वारा आयोजित साहित्यिक विचार गोष्ठीमा बोल्दै सैनिक ‘कु’ गरिए जनमुक्ति सेनाले विद्रोह गरी एके- ४७ हतियार बोकेर लड्ने चेतावनी ।
पुस २१ः काभ्रे जिल्लाको नमोबुद्ध फुलबारी रिसोर्टमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु ।
पुस २७ः माओवादी, कांग्रेस र एमालेको बैठकद्वारा चैत २८ गते संविधानसभा निर्वाचन गर्ने निर्णय ।
२०६५ साल
वैशाख ३०ः राष्ट्राध्यक्षको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा जेठ १५ गते संविधानसभाको पहिलो बैठक आह्वान ।
जेठ १४ः संविधानसभा सदस्यद्वारा शपथग्रहण।
जेठ १५ः ऐतिहासिक संविधानसभाको पहिलो बैठक, नेपाललाई औपचारिकरूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन।
जेठ २९ः ज्ञानेन्द्रले नारायणहिटीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागार्जुन दरबार प्रस्थान ।
नेपालको ऐतिहासिक विकासको अवस्थाअनुसार सङ्घर्षका सबै रूपहरूको प्रयोग गर्दै मुख्यतः जनयुद्धबाट भन्दै आएझैं गाउँबाट सहर घेर्ने रणनीतिका आधारमा कृषिक्रान्तिलाई मेरुदण्ड मानी वर्गसङ्घर्षका बीचबाट र त्योसँग एकाकार हुँदै अघिबडेको जनयुद्धको यो प्रक्रिया शक्तिसन्तुलन छापामार जनयुद्धको प्रक्रियाबाट प्राप्त उपलब्धीलाइ सस्थागत गरौँ।विविध सङ्घर्षको यो क्रान्तिकारी प्रक्रियालाई सक्रियमा गोल बन्द हौँ सङ्घर्षले विश्वभरिका कम्युनिस्ट क्रान्तिकारी एवम् सङ्घर्षशील जनसमुदायको समेत सहयोग र समर्थन प्राप्त सहित अघि बडौँ क्रान्तिकारी सङ्घर्ष मानिसद्वारा मानिसमाथि भइरहेको शोषण, उत्पीडन र युद्धको सदाका लागि अन्त गर्न चलिरहेको विश्वसर्वहारा क्रान्तिको अभिन्न अङ्गको रूपमा रहनेछ । अन्तमा जनताको नयाँ जनवादी राज्यसत्ता स्थापनाका निमित्त जनयुद्धको प्रक्रियामा अघि बढ्न तथा आआफ्ना ठाउ“बाट हरतरहले यसलाई सहयोग र समर्थन योग्दान दिनुहुने आदिवासी जनजाती, मजदुर, किसान, महिला, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत सबै तह र पेसागत जनसमुदायहरु सलाम दिनुपर्छ।धन्यवाद।
विद्रोह : जनताको अधिकार हो ।
जनयुद्ध : जिन्दावाद ।
प्रतिक्रियावादी राज्यसत्ता : मुर्दावाद ।
नयाँ जनवादी क्रान्ति : जिन्दावाद ।
मार्क्सवाद– लेनिनवाद–माओवाद : जिन्दावाद।
विर सहिद अमर रहुन।
क्रान्तिकारी अभिवादनसहित ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar