काठमाण्डौ: खानेपानी मन्त्री बिना मगरले मुख्यतःमहान १० वर्षको महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र महिला मुक्तिका लागि भएका विभिन्न सङ्घर्षहरुले नेपालका महिलाहरु राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारका क्षेत्रमा सशक्तरुपमा स्थापित हुँदै गएको बताउनु भएको छ । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री मगरले सो कुरा बताउनु भएको हो । नेपालको संविधान २०७२ ले राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री मगरले भन्नुभएको छ, ‘सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि महिलाहरुले गौरव गर्न लायक उपलब्धि हासिल गरेका छन् । महिलाका नाममा दर्ता भएका आर्थिक संस्थाहरुलाई विशेष व्यवस्था, निजामती प्रशासन लगायत कर्मचारीतन्त्रमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्वको व्यवस्था, आमाको नाममा नागरिकता प्राप्तिको संवैधानिक व्यवस्थाजस्ता प्रावधानहरु महिला मुक्तिका दृष्टिले गौरवपूर्ण उपलब्धि हुन् ।’ शुभकामनाको पूर्णपाठ
महिलाहरुले न्याय, समानता र स्वतन्त्रताका खातिर कठोर सङ्घर्ष गरेको दिनलाई स्मरण गर्दै ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनी साथै संसारभरिका न्यायप्रेमी महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । अमेरिकाको न्यूयोर्कस्थित एक गार्मेन्ट फ्याक्ट्रीका श्रमिक महिलाहरुले १० घण्टा कामको माग राख्दै सुरु गरेको महिला आन्दोलनले आज महिला मुक्तिको व्यापक आयाम समात्दै विश्वव्यापी रुप लिएको छ । यसरी सुरु भएको महिला आन्दोलनले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमार्फत् विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको कुरा यहाँहरु सबैमा विदितै छ । मार्च आठ आज पनि विश्वभरिका महिलाहरुका लागि न्याय, समानता र स्वतन्त्रताको सङ्घर्षका निम्ति प्रेरणादायी दिनका रुपमा स्थापित छ । यस दिनले महिलाहरुको अधिकारका लागि सिङ्गो मानव जातिलाई जागृत मात्र गरेको छैन, धर्तीको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाहरुलाई पूर्ण समानताका निम्ति निरन्तर सङ्घर्ष गर्न पनि प्रेरित गरिरहेको छ । नेपालमा पनि महिला मुक्तिको आन्दोलन विभिन्न आरोह–अवरोहका बीच अगाडि बढिरहेको छ । मुख्यतः १० वर्षको महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र महिला मुक्तिका लागि भएका विभिन्न सङ्घर्षहरुले नेपालका महिलाहरु राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका क्षेत्रमा सशक्त रुपमा स्थापित हुँदैछन् । नेपालको संविधान २०७२ ले राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि महिलाहरुले गौरव गर्न लायक उपलब्धि हासिल गरेका छन् । महिलाका नाममा दर्ता भएका आर्थिक संस्थाहरुलाई विशेष व्यवस्था, निजामती प्रशासन लगायत कर्मचारीतन्त्रमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्वको व्यवस्था, आमाको नाममा नागरिकता प्राप्तिको संवैधानिक व्यवस्थाजस्ता प्रावधानहरु महिला मुक्तिका दृष्टिले गौरवपूर्ण उपलब्धि हुन् । यद्यपि, संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि निरन्तरको खबरदारी हाम्रो जिम्मेवारी बन्न आइपुगेको छ । अर्कोतिर, धार्मिक एवं सांस्कृतिक रुपमा थोपरिएको असमानताको जाँतोबाट सिङ्गो महिला समुदायलाई मुक्त गर्दै आर्थिक एवं सामाजिक रुपमा सबलीकरण गर्ने हाम्रो जिम्मेवारीले पूर्णता पाइसकेको छैन । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिलामैत्री चिन्तन र संस्कारको विकास गर्दै पूर्ण समानताको विश्वव्यापी आकाङ्क्षा हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् । फेरि एकपटक सम्पूर्ण महिला दिदीबहिनीहरुमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
बिना मगर मन्त्री
मिति : २५ फागुन, २०७६
राजनीती जनयुद्ध, जनआन्दोलन र महिला मुक्ती संघर्षले महिला स्थापित हुदै :- खानेपानी मन्त्री विना मगर
Facebook Notice for EU!
You need to login to view and post FB Comments!