कोभिड-१९ (कोरोना भाइरस)को संकटको बेलामा भ्रष्टचार गर्नेलाई कार्वाही गर्छौँ। महासचिव : नेत्रविक्रम चन्द ‘विप्लव’

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही चेतावनी दिएको छ। महासचिव विप्लवले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नेपालमा रोकेर जनतालाई आश्‍स्त बनाउन केपी वली सरकार असफल भएको पनि ठहर गरेका छन्। 

यसको प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताएका छन्। शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिएका छन्। 

उनले पार्टीले गर्ने ६ कार्यसूची पनि प्रस्तुत गरेका छन्। कोरोना सङ्क्रमणले जनता आकुलव्याकुल भएको समयमा पनि सरकारबाट भएको भ्रष्टाचारको भण्डाफोर जारी राखिने उनले बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आउने सम्भावित असहज परिस्थितिको सामनाका लागि सचेत रहन पनि पार्टीपंक्तिलाई सचेत गराएका छन्। ‘चीनको वुहान सहरबाट देखापरेको कोरोना भाइरस अहिले विश्वलाई नै प्रभावित पार्ने गरी फैलिरहेको छ । यसले हजारौँको ज्यान लिइसकेको छ, लाखौँमा सङ्क्रमित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अर्बौं मानिसलाई भयभीत बनाएको छ । यो भाइरसको प्रभावलाई मानिसहरूले दोस्रो विश्‍वयुद्धपछिको संकट भन्‍न थालेका छन्। यसले विश्व-अर्थव्यवस्थामा गम्भीर प्रभाव पार्ने आँकलन गरिएको छ।’

कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारीस्तरबाट पहल नलिइएको बताउँदै विप्लवले सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको जिकिर गरेका छन्। ‘यो रोग देखिएपछि विश्वका तमाम देशसहित नेपालमा पनि रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो। तर पुँजीवादी व्यवस्था भएका देशको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृत्तिका कारण त्यहाँका जनताले ठूलो क्षति बेहोर्नु परेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन। जसले लाखौँ नेपाली नागरिकहरु विविध समस्यामा परेका छन्।’

चीनमा कोरोना प्रकोप बढेसँगै त्यसको फैलावट हुनसक्ने सम्भवनाबारे चर्चा गरे पनि रोकथामका उपाय ओली सरकारले नगरेको आरोप विप्लवको छ। ‘अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्नेलाई समयमै परीक्षण गरिए । यस्तो समस्या देखिएपछि विदेशमा रहेका नेपाली नागरिकलाई देशमा ल्याउने सरकारी पहलकदमी शून्य रह्यो’, उनले भनेका छन्, ‘ठूलो दबाबबाट मात्र चीनबाट केही विद्यार्थी नेपाल ल्याइयो।’

नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल-भारत नाका नेपालीहरू स्वदेश फर्कन दिएर भारतीयलगायत विदेशीका लागि सीमा बन्द गर्न नसकेको पनि उल्लेख गरेका छन्। ‘कतिपय सरकारी संयन्त्र नै सीमा बन्द नगर्ने पक्षमा रहेको देखा पर्‍यो । कोरोना प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि त्यसबारे आवश्यक सामग्रीबारे पहल गरिएन’, अगाडि भनिएको छ ‘भारतमा पनि कोरोना प्रकोप बढेपछि स्वाभाविक रूपमा खुला सिमाना रहेको भारतबाट नेपालीहरू नेपाल आउने प्रक्रिया बढ्यो । तर यसप्रकारका नागरिकलाई सीमा क्षेत्रमा रोकी देश प्रवेशमा प्रतिबन्ध गरियो र अमानवीय व्यवहार सरकारले देखायो।’
कोरोना सङ्क्रमणसँगै आवश्यक उपकरण खरिदप्रक्रिया समयमा नगरी भ्रष्टाचार गर्न खोजिएको जिकिर विप्लवले गरेका छन्। ‘विदेशमा रहेका नागरिकलाई हवाईजहाजबाट स्वदेश ल्याउँदा टिकटबाट आउने रकममा समेत कमिसनखोरी गरियो’, उनले भनेका छन्, ‘कोरोनाको आशङ्कामा निजी क्षेत्रबाट चलेका अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरे। केहीको ज्यानसमेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन।’
नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको बताएका छन्। उनले बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा लिप्त रहेको उल्लेख गरेका छन्। 
विज्ञप्तिमा अझ अगाडि भनिएको छ, ‘बिरामीहरू कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरूको सूचना सरकारले लुकाएको हुनसक्ने आशङ्का बढेको देखियो । चितवनलगायत विभिन्न स्थानहरूमा सयौँ शैय्याको अस्पताल निर्माण गरेको प्रचारबाजी गरे पनि त्यसप्रकारका अस्पतालको प्रयोजन नभएको वा अस्पताल नै नभैकन प्रचार सामग्री मात्र तयार गरिएको देखियो । कोरोना भाइरस सङ्क्रमित भएको आशङ्कामा त्यस्ता बिरामीको उपचार गर्नुको बदला केही बिरामीलाई देशका विभित्र अस्पतालहरू घुमाएको पाइयो । क्वारेन्टाइनमा राखिएका मानिसहरूलाई परिवारसँगको भेटघाट तथा असुरक्षित सम्पर्कबाट अलग गर्नुपर्ने अवस्थामा सुरक्षित संयन्त्र बनाएर उनीहरूको खाने, बस्ने, पिउने व्यवस्था गर्नुपर्नेमा त्यसो नगरिएको, नियमित स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था नगरिएको अवस्था देखाप¥यो । कोरोनाको निहुँमा सम्पूर्ण क्षेत्रमा कालोबजारी, भ्रष्टाचार, अनियमितता बढाइएको अवस्था रह्यो । बाहिर भ्रष्टाचार नगर्ने र गर्न नदिने नारा दिए पनि भित्र स्वयम् सरकार भ्रष्टाचारमा संलग्न रहेको देखापर्यो ।’
कोरोना प्रकोप बढिरहँदा सरकारी पक्षबाट देखाइएको नालायकी र गैरजिम्मेवारीका बारेमा प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘कोरोना प्रकोप देखिएसँगै दैनिक आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि गरिएको छ । आपूर्ति व्यवस्था कमजोर रहेको छ । स्वास्थ्य क्षेत्रमा उपयोग गर्नका लागि आयात गरिएका उपचारका सामानहरू विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप हुन सकेनन् । चिकित्सकहरूले त्यसको प्रयोग गर्न अस्वीकार गरे । यसबाट के प्रस्ट भएको छ भने कोरोना भाइरस महामारीका विरुद्धको सङ्घर्षमा नेपालको दलाल पुँजीवादी सत्ता र सरकार असफल भएको मात्र छैन, जनताका दृष्टिमा भ्रष्ट र बदनाम पनि हुन पुगेको छ ।’
नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले यो समस्या समाधान गर्नका लागि कोरोना नियन्त्रण नहुँदासम्म निम्नकामहरू गर्नु आवश्यक देखिन्छ भन्दै १६ बुँदे सुझाव दिएका छन् । ती सुझाव यसप्रकार छन् :
१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ । सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ ।
२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ ।
३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ ।
४) अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ ।
५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ ।
६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ ।
७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ ।
८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ ।
९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ ।
१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ । रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ ।
११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ । त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।
१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ ।
१३) कोरोनाको निहुमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ । ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ । यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ । यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ ।
१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निक्र्योल गरेर मात्र आयात गर्नुपर्छ ।
१५) नेपाल–भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ ।
१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ ।
नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को विज्ञप्ती यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar