कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा बढी देखिन सक्ने अवस्था भएकोले यसमा प्राथमिकता दिनुपर्छ : मन्त्री बिना मगर


कञ्चनपुर: नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा बढी देखिन सक्ने अवस्था प्रति चिन्ता प्रकट गर्दै कोरोना परीक्षणमा सुदूरपश्चिम प्रदेशलाई उच्च महत्व दिनुपर्ने धारणा राख्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशहरुमा कोरोना भाइरसको परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्री पठाउने विषयमा बुधबार तीन जना मन्त्रीहरुसंग गरेको छलफलका क्रममा मन्त्री बिना मगरले सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको बढी जोखिममा रहेकोले त्यहाँका नागरिकहरुको स्वास्थ्य परीक्षण लगायतका सन्दर्भमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्याल संग छलफल गरेको छ । केही दिन अघि मन्त्री परिषद्को बैठकले प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङलाई प्रदेश १ सरकार र भूमि व्यवस्था तथा सहकारी मन्त्री अर्याललाई गण्डकी प्रदेश सरकारसंग समन्वय गर्न जिम्मेवारी दिएको थियो । सोही अनुसार, कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारसंग खानेपानी मन्त्री बिना मगरले समन्वय गरिरहनु भएको उहाँका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिनुभएको छ।

तीनै जना मन्त्रीहरूले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग छलफल गर्नुभएको छ । तीनै जना मन्त्रीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालसंग आवश्यक स्वास्थ्य सामग्रीहरु पठाउने तयारीका विषयमा छलफल गर्नुभएको हो । कोरोना भाइरसको संक्रमणको बढी जोखिम सुदूरपश्चिम प्रदेशमा रहेको उल्लेख गर्दै मन्त्री ढकालले सुदूरपश्चिमलाई बढी प्राथमिकता दिएर स्वास्थ्य सामाग्रीहरु छिट्टै पठाइने प्रतिबद्धता जनाउनु भएको छ । उहाँका अनुसार, संघीय सरकारबाट सुदूरपश्चिम प्रदेश सरकारलाई सहायता स्वरुप र्यापिड टेस्ट कीट समेत उपलब्ध गराइएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट स्वाब परीक्षण गर्ने आरटी पिसिआर मेसिन समेत धनगढी पठाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा रियल टाइम पिसिआर मेसिन जडान ।।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म नेपालमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा देखिएपछि नेपाल सरकारले एक थान रियल टाइम पिसिआर मेसिन सुदूरपश्चिम प्रदेशमा पठाएको छ । एकै पटक धेरैजनाको कोरोना भाइरस परीक्षण गर्न मिल्ने रियल टाइम पिसिआर मेसिन पठाएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको उक्त मेसिन बुधबार बिहान नेपाली सेनाको स्काइ ट्रकमा राखेर धनगढी पुगाइएको हो । उक्त मेसिनबाट धनगढीमा परीक्षण शुरु गरेपछि यसअघि त्यहाँ रहेको मेसिन कञ्चनपुरको महाकाली अस्पतालमा जडान गरेर परीक्षणको व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

 सुदूरपश्चिम प्रदेशमा संक्रमणको जोखिम उच्च देखिपछि परीक्षणको दायरा समेत बढाउनु पर्ने भएकोले स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय गरेर उक्त मेसिन थप गरिएको प्रतिनिधि सभा सदस्य डा. भट्टले बताउनु भयो । चार घण्टाको अवधिमा ९६ वटा र एक दिनमा ४०० वटा नमूनाको स्वाब परीक्षण गर्न मिल्ने क्षमताको रियल टाइम पिसिआर मेसिन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा जडान गरिएको र बिहिबार देखि परीक्षणको काम थालिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले जानकारी दिनुभयो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar