नेकपा स्थापना दिवस र लेनिनको जन्म दिनको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)को प्रेस–वक्तव्य

ओली गुट सत्ता लिप्साको निरन्तरताका लागि आफ्नै पार्टीभित्र सङ्घर्ष चर्काउँदै थप निरङ्कुशताको बाटोमा लागि रहेको छ

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस आज बैशाख १० गते तथा विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रवर्तक लेनिनको जन्म दिन यहि अप्रिल २२को अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव क. किरणले एक प्रेस–वक्तव्यमार्फत ७० वर्ष लामो नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त समिक्षा गर्दै एकता–सङ्घर्ष–रुपान्तरणका विभिन्न श्रृङ्खला र नयाँ आधारमा नयाँ एकता एवम् फुट समेत हुँदै अगाडि बढिरहेको तत्थ्य औलाउनु भएको छ । 
वक्तव्यमा नेपालमा अहिले कम्युनिस्ट नामधारी करिव दुई–तिहाइ बहुमतको सरकार गठन भएको छ । परन्तु यही नै बेला नेपालको राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी तथा विस्तारवादीहरुको हस्तक्षेप बढेर गएको छ भन्दै जनतन्त्र तथा जनजीविकाका समस्या विकराल बनेका छन् । भ्रष्टाचार व्यापक छ । यतिसम्म कि कोभिड–१९ महामारी रोकथामका लागि बाहिरबाट स्वास्थ्य उपकरण आयात गर्ने क्रममा समेत ओली सरकार कमिसनका पछाडि दौडिराखेको छ । वस्तुतः सरकारले कम्युनिस्टको नामबाट कम्युनिस्टकै बदनाम गरिराखेको छ भनेर भन्नु भएकोछ । 
वक्तव्यमा नेपालका जेलहरुमा राखिएका विप्लव नेतृत्वका नेकपाका नेता तथा कार्यकर्ता कमरेडहरु सहित भारतका जेलहरुमा राखिएका लेखन, पत्रकारिता तथा सांस्कृतिक रूपान्तरणका अभियानमा क्रियाशील रहिआएका सम्पूर्ण वाम बुद्घिजीवी राजबन्दीहरूको यथाशीघ्र रिहाइका लागि हाम्रो पार्टी नेपाल र भारत सरकार समक्ष सशक्त आवाज उठाउँछ भनिएकोछ । वक्तव्यको पूर्णपाठ तल दिइएकोछः

प्रेस–वक्तव्य
आज १० वैशाख २०७७ तदनुसार २२ अप्रिल २०२० ऐतिहासिक महत्वको दिन हो । ठीक ७० वर्ष पहिले आजकै दिन भारतको कलकत्तामा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आज २२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रवर्तक लेनिनको जन्म दिन पनि हो । आजको यस दिनले नेपालको कम्युनिस्ट आन्दोलनको मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा समेत विशेष महत्व राख्दछ ।
नेपाली कम्युनिस्ट आन्दोलनले आज ७० वर्ष पुरा गरी ७१ वर्षमा प्रवेश गरेको छ । ७० वर्ष लामो नेपाली कम्युनिस्ट आन्दोलन एकता–सङ्घर्ष–रुपान्तरणका विभिन्न श्रृङ्खला र नयाँ आधारमा नयाँ एकता एवम् फुट समेत हुँदै अगाडि बढिरहेको छ । अर्ध–सामन्ती र अर्ध तथा नव–औपनिवेशिक अवस्थामा रहेको देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि नेपालमा विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष र महान् जनयुद्ध समेत भएका छन् । गौरवपूर्ण सङ्घर्षको यो लामो इतिहासमा नेपाली जनताले जनमुक्ति सेनाको निर्माण तथा जनसत्ता अभ्यासको प्रत्यक्ष अनुभूति समेत गरेका छन् । परन्तु नेपाल र नेपाली जनता घरेलु दुश्मन दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र वाह्य दुश्मन साम्राज्यवाद तथा विस्तारबादको शोषण तथा उत्पीडनबाट अहिलेसम्म पनि मुक्त भएका छैनन् । नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा दक्षिणपन्थी संशोधनवाद प्रमुख बाधक रहँदै आएको छ । 
यति बेला नेपालमा कम्युनिस्ट नामधारी करिव दुई–तिहाइ बहुमतको सरकार गठन भएको छ । परन्तु यही नै बेला नेपालको राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी तथा विस्तारवादीहरुको हस्तक्षेप बढेर गएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो देशमा गाभेर भारतीय विस्तारवादी शासकहरुले नयाँ नक्सा सार्वजनिक गर्दा पनि नेपालको कथित कम्युनिस्ट सरकारले त्यसको विधिसम्मत विरोध दर्ज गर्नसम्म सकेको छैन । नेपालमा सैन्य अखडा स्थापना गरी दक्षिण तथा पूर्वी एशियामा आफ्नो प्रभाव विस्तार गर्ने र चीनमाथि आक्रमण गरेर नेपाललाई रणभूमि बनाउने योजना अनुसार अमेरिकी साम्राज्यवादले अगाडि सारेको एमसीसी परियोजनालाई चौतर्फी विरोधका बावजुद संसदबाट पारित गर्न नेपाल सरकार आफै लागिपरेको छ । जनतन्त्र तथा जनजीविकाका समस्या विकराल बनेका छन् । भ्रष्टाचार व्यापक छ । यतिसम्म कि कोभिड–१९ महामारी रोकथामका लागि बाहिरबाट स्वास्थ्य उपकरण आयात गर्ने क्रममा समेत ओली सरकार कमिसनका पछाडि दौडिराखेको छ । वस्तुतः सरकारले कम्युनिस्टको नामबाट कम्युनिस्टकै बदनाम गरिराखेको छ । झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन् । साथै, यहाँनेर कुन कुरा पनि उल्लेख गर्न जरुरी छ भने कोरोना भाइरसको महामारीका विरुद्ध सिङ्गो देश एकढिक्का भई लाग्नु पर्ने बेलामा ओली गुट सत्ता लिप्साको निरन्तरताका लागि आफ्नै पार्टीभित्र सङ्घर्ष चर्काउँदै थप निरङ्कुशताको बाटोमा लागि रहेको छ । वैशाख ८ गतेको अध्यादेश प्रकरण यसै कुराको एक अभिव्यक्ति हो ।
आफूलाई कम्युनिस्ट पार्टीका नाममा प्रस्तुत गर्दै आएको पार्टीको नेतृत्वमा बनेको सरकारद्वारा कम्युनिस्ट पार्टीकै रूपमा सङ्गठित अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाई सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धरपकड गर्नु तथा कारागारमा थुनेर राख्नु निकै विडम्वनापूर्ण तथा अशोभनीय विषय हो । तसर्थ, पार्टीस्थापना तथा लेनिन दिवसको यस ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य महामारीको भयाबह स्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनका नेता हेमन्त प्रकाश ओली, सांस्कृतिक आन्दोलनका नेता माइला लामा, महिला मुक्ति आन्दोलनकी नेतृ उमा भुजेल लगायतका नेता तथा कार्यकर्ता कमरेडसहित सम्पूर्ण राजबन्दीहरूको अविलम्व रिहाइका लागि हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ । 
यसैगरी लेनिन दिवसको ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य भीषण महामारीको अवस्थामा भारतका जेलमा कष्टकर जीवन यापन गरिरहेका ९० प्रतिशत अपाङ्ग प्राध्यापक जी. एन्. साइबाबा, लेखक तथा सांस्कृतिक योद्घा बरबर राव, लेखक तथा सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे लगायतका लेखन, पत्रकारिता तथा सांस्कृतिक रूपान्तरणका अभियानमा क्रियाशील रहिआएका वाम बुद्घिजीवी राजबन्दीहरूको यथाशीघ्र रिहाइका लागि हाम्रो पार्टी भारत सरकार समक्ष सशक्त आवाज उठाउँछ । 
क्रान्तिले गंभीर धक्का खाएको बेला, हामीले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सैद्धान्तिक भण्डाफोर गर्दै र सच्चा कम्युनिस्ट शक्तिहरुसंग एकता–संङ्घर्ष–रुपान्तरण मार्फत् नयाँ आधारमा नयाँ एकता निर्माण गर्नका लागि स्वच्छ वैचारिक सङ्घर्ष चलाउँदै क्रान्तिकारीहरुलाई एकताबद्घ गर्ने कोशिस गर्दै आएका छौं । पार्टी स्थापनाको यस अवसरमा हामी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि पुनः प्रतिबद्धता जाहेर गर्दछौं र पार्टीका सम्पूर्ण कमरेडहरु, आम जनसमुदाय र विश्व सर्वहारा वर्गप्रति हार्दिक अभिवादन व्यक्त गर्दछौं । 
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
मिति ः १० बैशाख २०७७

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar