काठमाण्डु: वैशाख १२ गते भुइँचालो जाँदा काठमाडौं उपत्यका कसरी हल्लिएको थियो ।
अर्काइभबाट
बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए।
पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। बचेको शक्ति काठमाडौंमुनि थुप्रिएर बसेको छ।
दोस्रो, यो भुइँचालोले काठमाडौं उपत्यका र वरपरका क्षेत्र साबिकभन्दा करिब एक मिटर माथि उठेको छ। काठमाडौंभन्दा उत्तरी हिमाली क्षेत्रको उचाइ भने लगभग ६० सेन्टिमेटर घटेको छ।तेस्रो, ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ।
‘नेचर जियोसाइन्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित यी तीन विश्लेषणमध्ये पहिलो बुँदाबारे ‘भुइँचालो कथा’ शृंखलाको अघिल्लो लेखमा चर्चा गरिएको छ।
काठमाडौंमुनि थुप्रिएको भुइँचालो
अब रह्यो बाँकी दुइटा विश्लेषण।
के काठमाडौं उपत्यकाले साँच्चिकै आफ्नो ठाउँ छाडेकै हो? काठमाडौंभन्दा उत्तरको गणेश हिमाल क्षेत्र पहिलेभन्दा ६० सेन्टिमेटर होचो भएकै हो? रोचक कुरा त, उत्तरी हिमालको उचाइ घटेको छ भने त्यो तथ्यांकले ठूलो भुइँचालो जाँदा हिमाली शृंखला अग्लो हुन्छ भनी बुझ्ने आधार कसरी दिन्छ?
यसका लागि सबभन्दा पहिला वैशाख १२ को भुइँचालोमा काठमाडौं उपत्यका, वरपरका क्षेत्र र उत्तरी हिमाली भूभाग कसरी हल्लियो भन्ने तथ्यांक हेरौं।त्यस दिन जमिन कसरी हल्लिएको थियो भन्ने त तपाईंहरूलाई पनि मोटामोटी अन्दाज होला। आफू उभिएको धर्ती घरि पूर्व सरेको, घरि पश्चिम हुत्तिएको र घरि दक्षिणतिर बगेको हामीले महसुस गरेकै हौं। असन, इन्द्रचोकजस्ता भीडभाडयुक्त ठाउँको सिसिटिभी फुटेज हेर्ने हो भने त्यहाँ जम्मा भएको भीड कहिले हुर्रर पूर्व त कहिले हुर्रर दक्षिणतिर बत्तिएको मज्जैले देखिन्छ।
हामीले जे भोग्यौं, के काठमाडौं उपत्यका त्यसरी नै हल्लिएको तथ्यांकले देखाउँछ?
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले त्यस दिन ककनी र चिलिमेबाट संकलन गरेको जिपिएस तथा स्याटलाइट तस्बिरले यहाँको भौगोलिक उतारचढाव झल्काउँछ। ककनीमा रेकर्ड गरिएको तथ्यांकले काठमाडौं उपत्यका र चिलिमेको तथ्यांकबाट धुन्चे, गोसाइँकुन्ड र गणेश हिमालसम्मको भौगोलिक उतारचढाव थाहा हुने विभागका उप–महानिर्देशक सोमनाथ सापकोटा बताउँछन्।
‘बेलायती वैज्ञानिकहरूको निष्कर्ष यही तथ्यांकमा आधारित छ,’ नेपालको भुइँचालोबारे लामो अनुसन्धान गरेका भूगर्भ वैज्ञानिक सापकोटाले सेतोपाटीसँग भने।
‘काठमाडौं उपत्यकाको यत्रो ठूलो भू–भाग यति कम समयमा ८० सेमी पूर्व गएर १२५ सेमी पश्चिम आउनु भनेको निकै ठूलो उतारचढाव हो,’ राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने।त्यस दिन काठमाडौंको भू–भाग उत्तर–दक्षिण पनि मज्जाले नै हल्लिएको तथ्यांकले देखाउँछ।
यो सुरुमा ह्वात्तै १.८ मिटर दक्षिण सरेको थियो। त्यसपछि झन्डै २० सेन्टिमिटर उत्तर सर्यो। तुरुन्तै ४० सेमी दक्षिण गयो। फेरि ३० सेमी उत्तर गयो। त्यहाँबाट २० सेमी दक्षिण झरेपछि थर्थर हल्लिँदै त्यही ठाउँमा स्थिर हुन पुग्यो। यो भनेको पहिलेको ठाउँभन्दा लगभग १.८ मिटर दक्षिण हो। यो सबै उतारचढाव १५–२० सेकेन्डकै बीचमा भएको देखिन्छ।
यतिमात्र होइन, भुइँचालोले काठमाडौंलाई घरि तल थेचार्ने र घरि माथि उफार्ने पनि गरेको थियो।तथ्यांकअनुसार यो भूभाग भुइँचालो जानेबित्तिकै खुत्रुक्क तल झर्यो, अनि एकैचोटि १.६ मिटर माथि चढ्यो। त्यसपछि २० सेकेन्डसम्म तलमाथि हल्लिँदै पहिलेको ठाउँभन्दा १.३५ मिटर माथि गएर स्थिर भयो।
बेलायती वैज्ञानिकले काठमाडौं उपत्यका करिब एक मिटर माथि उठेको छ भनेको यही हो।
भुइँचालोलगत्तै काठमाडौं उपत्यका घचक्क पूर्व सर्दा उत्तरको हिमाली क्षेत्र भने ५० सेन्टिमिटर पश्चिम सरेको थियो। त्यसपछि फेरि १०–१५ सेमीको दरले पूर्व–पश्चिम दिशामा थर्थर हल्लिरह्यो। यसबीच साबिकको ठाउँभन्दा बढीमा ६० सेमी पश्चिम हुत्तिएको देखिन्छ।
‘यो क्षेत्रमा सुरुको २०–३० सेकेन्डकै बीचमा निकै ठूलो उतारचढाव आएको छ,’ वैशाख १२ यताका प्रत्येक कम्पन र तरंगलाई मिहीन केलाएका भूगर्भविद् अधिकारी भन्छन्, ‘भुइँचालोको कम्पन थामिँदासम्म चिलिमे क्षेत्र साबिकको ठाउँभन्दा २० सेन्टिमिटर पश्चिम आएर स्थिर भएको छ।’
काठमाडौंजस्तै उत्तरी भूभाग पनि ह्वात्तै दक्षिण सरेको छ। यसको दक्षिण सर्ने दर भने काठमाडौंको भन्दा अलि कम छ। काठमाडौं १.८ मिटर दक्षिण सरेको थियो भने चिलिमे क्षेत्र १.५५ मिटरसम्म दक्षिण झरेर अन्तमा साबिकको ठाउँभन्दा १.४ मिटर दक्षिण आएर स्थिर भएको छ।
थेचारिने र उफारिने तथ्यांक भने काठमाडौं र चिलिमेबीच ठिक उल्टो छ।
काठमाडौं खुत्रुक्क तल झरेर एकैचोटि माथि उक्लेको थियो। जबकि, चिलिमे भुइँचालोलगत्तै खुत्रुक्क माथि उक्लेर ह्वात्तै ७० सेन्टिमिटर तल झरेको देखिन्छ। त्यही धरातलमा २० सेकेन्डभन्दा बढी थर्थर हल्लिँदै अन्तमा साबिकभन्दा ६० सेन्टिमिटर तल स्थिर भएको छ।
ककनी र चिलिमेमा जिपिएसबाट रेकर्ड गरिएको तथ्यांकले के देखाउँछ भने, काठमाडौं उपत्यका साबिकभन्दा १.३५ मिटर माथि उठेको छ, जबकि धुन्चे, गोसाइँकुन्ड र त्योभन्दा माथिको गणेश हिमाल क्षेत्र ६० सेन्टिमिटर तल झरेको छ।
‘काठमाडौंका भू–भागले पहिलेको ठाउँ केही न केही मात्रामा छाडेर पश्चिम–दक्षिण सरेको छ र अलिकति माथि उचालिएको छ,’ उनले भने, ‘यहाँको उत्तरी हिमाली क्षेत्र पनि पश्चिम–दक्षिण त सरेको छ तर उचाइ पहिलेभन्दा तल झरेको छ।’
अमेरिकी वैज्ञानिक रोजर विलह्यामले पनि विभागको यही तथ्यांकका आधारमा काठमाडौं उपत्यकाको भौगोलिक परिवर्तनबारे आफ्नो निष्कर्ष सार्वजनिक गरेका थिए।
कोलोराडो विश्वविद्यालयका प्राध्यापक विलह्यामले भुइँचालोको केही दिनपछि नै राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो शोधपत्र प्रस्तुत गर्दै भनेका थिए, ‘काठमाडौं उपत्यका सुरुको ५ सेकेन्डमा प्रतिसेकेन्ड ५० सेन्टिमिटरका दरले हल्लिएको थियो। यसले यहाँको पूरै भू–भाग पहिलेभन्दा अलि टेँढो भएको छ।’
उनको निष्कर्षअनुसार, उपत्यकाको उत्तरी क्षेत्र पश्चिममा ५० सेन्टिमिटर र दक्षिणमा १.८ मिटर सरेको छ भने १.३ मिटर माथि उचालिएको छ। त्यस्तै, मध्य क्षेत्र पश्चिममा ५० सेमी र दक्षिणमा १.५ मिटर सरेको छ भने ६० सेमी माथि उचालिएको छ।