कोरोना भाइरसको महामारीले तारबार लागाएर सिमा बन्द गर्नुोर्छ भन्ने सन्देश दियो:देव गुरुङ


काठमाडौँ — नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना नियन्त्रण गर्न कठिन हुने बताएका हुन् ।

सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा बन्द गर्नैपर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए ।

प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सीमामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने ।

त्यस्तै आरडीटी परीक्षण विश्वसनीय नभएको भन्ने गुनासो आइरहेकाले यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनुपर्ने गुरुङले बताए । कोरोना भाइरसको महामारीका बेलामा अन्य रोगका बिरामीको उपचारमा बेवास्ता गरिएको भन्ने गुनासो आएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने गुरुङले बताएका छन् । कोरोना भाइरसको रोकथाम र उपचारमा निजी अस्पतालले तदारुकता नदेखाएको भन्दै यसले निजी अस्पताललाई पनि राष्ट्रियकरण गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।

त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई पनि अनुकुल समयमा स्वदेश फर्काउन सरकार तयार हुनुपर्ने गुरुङले बताएका छन् । सर्वोच्च अदालतले समेत विदेशमा अलपत्र नागरिक ल्याउने प्रबन्ध गर भनेर अन्तरिक आदेश दिएको अवस्थामा सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।

पछिल्ला कदमले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकार गम्भीर छैन कि भन्ने प्रश्न उठेको पनि गुरुङले बताए । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेलामा यससँग सरोकार नै नभएका अध्यादेश ल्याउन खोज्नु गलत भएको उनले बताए । अध्यादेश फिर्ता भए पनि महामारीप्रति सरकार कति गम्भीर छ भन्ने सवाल भने उठेको उनले दाबी गरे ।

त्यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको कुरामा पनि छानबिन हुनुपर्ने उनले बताए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar