डा. बाबुराम भट्टराइले प्रधानमन्त्री ओलिलाइ भने-आफ्नै छविलाई पनि बचाउन तपाईंले राजीनामा दिनुस्!

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाण्डौ:समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताएका छन्।

संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले सरकारले कोरोना संकटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी विभाजन र सांसद अपहरणजस्ता कार्यमा संलग्न भएको भन्दै यसले सरकारकै छवि बग्रिएको बताए।

उनले कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आफ्नो उचाइ यथावत् राख्न सुझाएका छन्।’अनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ।’

भट्टराईले सरकारले कोरोना रोकथामको लागि सरकारले गरेको तयारी चित्त बुझ्दो नभएको बताए। उनले संक्रमित संख्या थोरै देखिए पनि पिसिआर परीक्षण कम हुँदा संक्रमण लुकेको हुनसक्ने शंका व्यक्त गरे।

भट्टराईले विदेशमा बिच्चली परेका नेपालीहरूलाई उद्दार गर्ने कुरामा कुनै ठोस कदम नचालेको दाबी गरे।

‘मलाई रातको १२ बजे माल्टा र मलेसियाबाट अलपत्र भयौं भनेर फोन आउँछ। तर सरकारले ठोस निर्णय गर्न सकेको छैन,’ उनले भने।

उनले विदेशबाट १५ लाख संख्यामा नेपालीहरू बेरोजगार भएर फर्किने भन्दै उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकार केन्द्रीत हुनुपर्ने बताए। स्वदेशमै रहेका मजदुरहरूको सरकारले उचित व्यवस्थापन गर्न नसकेको भट्टराईको भनाइ छ।

‘हामीले मजदुरी गर्ने, गर्भवती महिलाहरू रुँदै गाउँ फर्केको देख्यौं तर सरकारले टुलुटुलु हेरेर बस्यो,’ उनले भने।

उनले श्रमिकहरूले पैसा नपाएको उल्लेख गर्दै सरकारले व्यवसायीसँग राहतको प्याकेज व्यवस्था गरेर भएपनि श्रमिकलाई पैसा दिनुपर्ने बताए।

‘लकडाउनको बेला संसद बन्द भए पनि सांसदले तलब भत्ता खाने अनि श्रमिकलाई चाहिँ नदिने,’ उनले प्रश्न गरे।

उनले सरकारले संकटको बेला केन्द्रीकृत भएर काम गर्न नसकेको बताए। सरकार प्रमुख नै रातभर पार्टी फुटाउने षड्यन्त्रमा लागेको र आफूखुसी संवैधानिक नियुक्ति गर्ने कुरामा उद्दत रहेको भन्दै यसले अनिष्टको संकेत गर्ने जनाए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar