नेपालको राष्ट्रिय स्वधीनता विरुद्ध भारतका रक्षामन्त्री सिंहको ठाडो हस्तक्षेप : किरण


बुटवल । नेपालको अखण्ड भुभाग–कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्शामा राखेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)लगायत अन्य राष्ट्रवादी शक्तिहरुले ओली सरकारलाई तत्काल सो नक्शा खारेज गरेर नेपालको सही नक्शा प्रकाशित गर्न दवाव दिंदै आएका हुन तर ओली सरकारले यसलाई सुनेको नसुनेझै गर्दै आयो । अहिले भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेका छन् । यसलाई नेपाल सरकारले तत्काल भारतीय राजदुतलाई बोलाएर विरोध जनाउनु पर्ने थियो तर अहिले पनि ओली सरकारले कानमा तेल हालेर बसेको देखिन्छ । यसरी यो सरकार नेपालको राष्ट्रियता, सार्वभौमिता र क्षेत्रीय अखण्डताप्रति गम्भीर छैन् र जनताका जल्दावल्दा समस्याप्रति पनि जिम्मेवार छैन् भन्ने स्पष्ट भएको छ ।

यही विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणको प्रेस–वक्तव्य प्रकाशित भएको छ । प्रेस–वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ :

प्रेस–वक्तव्य
हालै भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्धको ठाडो हस्तक्षेप हो । हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा गरिएको यो अतिक्रमणको कडा विरोध तथा भत्र्सना गर्दछ र नेपाली भूमि भएर सडक निर्माण गर्ने काम अविलम्ब रोक्न भारत सरकार समक्ष जोडदार माग गर्दछ । नेपालको भुमीबाट एकलौटी रुपमा सडकको ट्र्याक खोलेर उद्घाटन गर्दासमेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्तगर्दै सो काम रोक्नका लागि तुरुन्त भारतीय सरकारसंग कुटनीतिक पहलगर्न नेपाल सरकार समक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ । साथै नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी सम्पुर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान गर्दछ ।

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
मिति : बैशाख २६, २०७७

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar