भारतले लिपुलेकमा सडम बनाएकोमा माधव नेपालको छुट्टै विज्ञप्ति- सबै भुभाग समेटेर नक्सा जारि गर्न सरकारसँग माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाण्डौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा भारतले सडक निर्माण गर्नु दु:खद र आपत्तिजनक रहेको बताएका छन्।

नेकपाको विदेश विभाग प्रमुखका हैसियतमा आइतबार विज्ञप्ति जारी गर्दै नेता नेपालले दुई देशका बीचमा यसअघि भएका सम्झौताको भारतले उल्लंघनसमेत गरेको बताएका छन्।

‘कोरोना महामारीविरूद्ध लडिरहेका बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दु:खद र आपत्तिजनक छ,’ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले थपेका छन्, ‘यसबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिको गम्भीर उलंघन हुनुका साथै नेपालको सार्वभौमिकता र अखण्डतामाथि प्रहार भएको हामीले महशुस गरेका छौं।’

उनले नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण नगर्न भारतलाई आग्रह गरेका छन्। अनधिकृत रूपमा राखेका सुरक्षाकर्मी र बाटो निर्माण गर्नु सन्धी विपरीत हुने नेपालको भनाइ छ।

उनले नेपाल सरकारलाई सबै भूभाग समेटेर नयाँ नक्सा जारी गर्न पनि आग्रह गरेका छन्।

‘सबै भूभाग समेटेर नक्सा सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै आफ्नो भूमि रक्षा गर्न सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्नुपर्छ,’ उनले भनेका छन्।

यसअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा सडक बनाउने भारतीय कदमको विरोध गरेका थिए।  
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जारी विज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar