भारतिय सेना प्रमुखले आफ्नो भनाइ सच्याउनुपर्छ: प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भारतीय सेना प्रमुखले दिएको लिपुलेकबारेको भनाइ सच्याउनुपर्ने बताएका छन्।

भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले गत शुक्रबार नेपाली भूमि लिपुलेकबारे टिप्पणी गर्दै कसैले उचालेर नेपालले विवाद गरिरहेको बताएका थिए।

भारतीय सेना प्रमुखको उक्त भनाइ आपत्तिजनक रहेको श्रेष्ठले उल्लेख गरेका छन्। शनिबार ट्वीट गर्दै श्रेष्ठले नेपाल सार्वभौम र स्वतन्त्र देशको रूपमा उभिइरहेको पनि उल्लेख गरेका छन्।
‘उसले यसलाई सच्याउनुपर्छ,’ उनले भनेका छन्। कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने उनले बताएका छन्।

‘हाम्रो भूमिको रक्षा गर्न हामी प्रतिवद्ध छौं। हाम्रो पुर्खाले मातृभूमिलाई बचाए। उनीहरूप्रति वफादार भएर हामी भूमिको रक्षा गर्छौ,’ श्रेष्ठले भनेका छन्।

उनले कुटनीतिक तवरबाटै सीमा विवाद हल गर्न तयार रहेको पनि बताएका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar