सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप: सभापती शेरवहादुर देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

४ जेठ, काठमाडौं । प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए ।

कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको देउवाले टिप्पणी गरे ।

‘यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णत असफल छ, सरकार महामारी नियन्त्रणकोका लागि गर्न पूर्ण रुपले असफल छ’ उनले भने ।

नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुखद रहेको देउवाले बताए । यत्तिका दिनपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आवश्यक नहुनु सरकारको कमजोरी भएको उनको भनाइ छ ।

‘म सरकारलाई सोध्न चाहन्छु लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?’ उनले भने ।

विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेका र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै देउवाले उनीहरुलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग गरे ।

उनले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र समुदायस्तरमा पीसीआर परीक्षण ब्यापक बनाउन सरकारलाई आग्रह गरे । नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै देउवाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न सुझाव दिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar