सरकारको नीति तथा कार्यक्रम सुखी नेपाली समृद्ध नेपाल बनाउने भन्दा पनि दुःखी नेपाली दरिद्र नेपाल बनाउनेमा केन्द्रीत :रेणुकुमारी यादव

समाजवादी पार्टीकी नेता तथा सांसद रेणुकुमारी यादव

काठमाडौं । समाजवादी पार्टीकी नेता तथा सांसद रेणुकुमारी यादवले सरकारको नीति तथा कार्यक्रम सुखी नेपाली समृद्ध नेपाल बनाउने भन्दा पनि दुःखी नेपाली दरिद्र नेपाल बनाउनेमा केन्द्रीत भएको भन्दै कटाक्ष गरेकी छिन् । 
सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै उनले सरकारले पुरानै कुराहरुलाई अघि सारेको बताइन् । उनले कोरोनाबाट मृत्यु भएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना पनि गरेकी छिन् । उनले सरकारले कोरोना विरुद्ध सम्पूर्ण तयारी गरेको दावी गर्ने तर महिलाको शव सामाजिक सञ्जालले उठाउनुपरेको उल्लेख गरिन् । 

उनले मधेशमा क्वारेन्टाइनको अवस्था नाजुक रहेको बताउँदै मृत्यु भएपछि मात्रै कोरोना पुष्टि गर्ने संसारमै नेपाल पहिलो देश भएको आरोप लगाइन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीय तह, प्रदेश तहमा यति शैयाको अस्पताल बनाउने भन्ने पुरानै शैलीको भनाई रहेको बताउँदै हरेक प्रदेशमा एक सय शैयाभन्दा माथि आइसियु र भेन्टिलेटर सहितको अस्पताल हुन जरुरी रहेको बताइन् । 

सांसद यादवले काठमाडौंंको टेकुमा कुनै पनि उपचार नहुने र कोरानाबाट बाँकेमा मृत्यु भएका यूवालाई सिटामोल सम्म नदिएको दावी गरिन् । अहिले ४० लाख नेपाली विदेशमा रहेको भन्दै आइएलओको रिर्पोट अनुसार कोरोनाको प्रभावबाट विश्वमा ५ जनामा ३ जना बेरोजगार हुने अवस्था रहेको बताउँदै विदेशमा रहेका नेपाली स्वदेश फर्किदा के काम लगाउने सरकारको के तयारी छ भन्दै प्रश्न गरिन । 

उनले नीति तथा कार्यक्रममा किसानका लागि बजार व्यवस्थापन, मेसिनको व्यवस्था, वीमाको व्यवस्था किन गर्न नसकेको बताउँदै आलोचना गरिन् । कृषिमा सुधार नगरी सुखी नेपाल समृद्ध नेपाल बन्न नसक्ने बताइन् । 
उनले देशको बजेट १५ खर्ब हुँदा १० खर्ब रेमिट्यान्सको रुपमा विदेशबाट आएको भन्दै उक्त पैसा अब नआउने बताउँदै देशको आर्थिक अवस्था डगमगाउदा कसरी व्यवस्थित गरिँदैछ भनेर प्रश्न गरिन् ।  उनले सरकार भष्ट्राचारका अनेक काण्डमा फसेको भन्दै साना माछा पक्रेर सुकुटी बनाउन कुनै आवश्यकता नरहेको भन्दै खुलेआम घुमिरहेका ठूला माछा पक्रन आग्रह गरिन् । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar