भक्तपुर कोरोना संक्रमित भेटिएको मध्यपुरठिमी १२ घरका २५ जनामा स्वाब संकलन


भक्तपुर । मध्यपुरठिमि नगरपालिका वडा नम्बर ४ शङ्खधर चोकस्थित कोरोना सङ्क्रमित भेटिएपछि सिल गरिएको बस्तीको १२ घरका २५ जनाको स्वाब सङ्कलन गरिएको छ । सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख २९ गते भक्तपुर आएर मध्यपुरथिमि शङ्खधर चोकस्थित भाडामा बस्ने एक नर्स साथीको कोठामा बसेकी २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नर्स बसेको घर र आसपासका अन्य घरमा बस्नेको आज स्वाब सङ्कलन गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको बीरुदल गण सूर्यविनायकका गणपति कर्णेल शिव पौडेल, सशस्त्र प्रहरी दुवाकोट गणका प्रहरी उपरीक्षक विश्व भट्टराईसहितको संयुक्त सुरक्षा फौजको नेतृत्वमा भक्तपुर अस्पतालको चिकित्सकसहितको प्राविधिक टोली र आरएनए १६ ग्रुपका दुई सदस्यसहितको टोलीले आज स्वाब सङ्कलन गरेका हुन् ।

वीरदल गणका कर्णेल शिव पौडेलले नर्स बसेको घरमा बस्ने सबै १४ जनाको र बस्तीका ११ घरको ११ जनाको गरी २५ जनाको स्वाब सङ्कलन गरी लगिएको जानकारी दिए । सुनसरीको रामधुनी नगरपालिका झुम्का स्थायी घर भइ भक्तपुरको सल्लाघारीमा बसी ललितपुरको आरोग्य फाउण्डेसनमा कार्यरत महिलाको गत ३० गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब सङ्कलन गरी पिसिआर परीक्षणमा कोरोना सङ्क्रमित पाइएपछि २९ गते बास बसेको थिमिस्थित नर्सको कोठा र आसपासका क्षेत्रमा ३१ गते सिल गरिएको थियो । महिला अहिले टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

सङ्क्रमित महिलासँगै बसेकी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने उनलाई भक्तपुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । थिमिको यो बस्तीमा १२ घरमा सिलबन्दी गरेर बाहिरका मानिस भित्र जान नदिने र भित्रका मानिसलाई बाहिर आउन नदिएको र यो बस्तीबाहेक शङ्खधर चोकबाट दक्षिण बाराही जाने मुख्य सडक, अरनिको राजमार्गको थिमि चोकको सर्भिस ट्रयाक र अन्य आसपास क्षेत्रका अन्य साना सडकमा पनि स्थानीयवासीले बास र्तेस्याएर प्रवेश निषेध टाँसेर आवतजावतमा रोक लगाएका छन् ।

स्वाब सङ्कलनमा आएका मध्यपुरठिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा कोरोना सङ्क्रमित पाइएपछि यहाँको सबै बस्तीलाई सुरक्षित राख्न बस्तीमा नयाँ मान्छेलाई प्रवेश गर्नदेखि हिँडडुल गर्न पनि रोक लगाइएको बताए ।

उनले कतिपय सडकमा स्थानीयवासीले आफ्नो बस्तीमा नयाँ मान्छे र सवारी साधन आउन नदिन बस्तीका स्वयंसेवकले बाटो बन्द गराएको बताउँदै नगरपालिकाले अरनिको राजमार्ग र पेप्सीकोला, सानोठिमी भक्तपुरको मूल सडकबाहेक अन्य भित्री सडक बन्द गराएको उनले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar