सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय हो, निश्चित व्यक्तिको देवतत्वकरण नगर्न वामदेव गौतमको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् ।
आज विहान एउटा प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले शुरुदेखि नै पार्टीमा जोडदार माग गर्दै आएको उल्लेख गर्दैै उनले यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफूले नै राखेको बताए । र, पार्टीको निर्णय अनुसार सरकारले निर्णय गरेको भन्दै उनले अभार प्रकट पनि गरेका छन् । 
उनले भनेका छन्, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।’
वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले सिमाना व्यवस्थापनसँग सम्बन्धित देशका ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको उल्लेख गरेका छन् ।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णय प्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यही अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ,’ उनले स्मरण गराएका छन् । सबैले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने पनि उनले बताएका छन् ।
प्रेस नोट
ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ ।
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।
वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ ।
अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ ।

७ जेठ २०७७

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar