कविता- मेरी आमा

काठमाण्डौं। स्वेच्छा पुलामी मगर
कविता मेरी आमा
मलाई हिजो मेरी आमाले जन्माइन्, मेरो परिचय छोरी भयो। हुर्कंदै जाँदा मेरो परिचय नारीमा बदलियो र अहिले अविवाहित आमाको रूपमा बदलिएको छ। समय परिवर्तनशील छ।

समयसँगसँगै हाम्रा विचारहरू र परिचयहरू पनि परिवर्तन हुँदै जाँदा रहेछन्। म आफैंलाई आमा चाहिएको थियो। पीडामा निर्धक्क रुने काखको खोजीमा थिएँ। अचानक म त मैले नजन्माएका सन्तानको लागि रुने काख पो बनेछु।

मेरी आमा गुनगुनाउँदा वनमा सल्लाका रुखहरु सुसाउँथे रे सुस्तरी बतास चल्दा डाँँडापाखाबाट बुकीफूलको हरर बास्ना डुलिआउँथ्यो रे पहराहरु पनि राष्ट्रिय गीत गाउँथे रे मेरी आमा सुसेल्दा वन, जङ्गल, खोला, पहरा सबै रमाउँथे रे १ मेरो आमा नाच्दा खोलानाला बग्न बिर्सिएर रमिते हुन्थे रे आमासँगै हरेक बिहानी झरनाहरु इन्द्रेणीको सप्तरङ्गी माला उनिबस्थे रे ।

मेरी आमा गुनगुनाउँदा
वनमा सल्लाका रुखहरु सुसाउँथे रे
सुस्तरी बतास चल्दा डाँँडापाखाबाट
बुकीफूलको हरर बास्ना डुलिआउँथ्यो रे
पहराहरु पनि राष्ट्रिय गीत गाउँथे रे
मेरी आमा सुसेल्दा
वन, जङ्गल, खोला, पहरा सबै रमाउँथे रे १
मेरी आमा नाच्दा
खोलानाला बग्न बिर्सिएर रमिते हुन्थे रे
आमासँगै हरेक बिहानी झरनाहरु
इन्द्रेणीको सप्तरङ्गी माला उनिबस्थे रे ।

झुल्के घामको पहिलो किरणसँगै आमा
मयुरसँग कत्थक सिक्थिन् रे
डाँफेसँग कञ्चन माया गाँस्थिन् रे
मुनालसँग लोकभाकामा बोल्थिन् रे
उनेर थुप्रै-थुप्रै दोहोरी गित
रोधीमै नाच्थिन् रे/गाउँथिन् रे
आमाको सुन्दर गीत सुनेर प्रकृतिको काखमा
साना-साना बाख्रा पाठापाठीहरु खेल्न आउँथे रे
मेरी आमाले मलाई जस्तै
तिनीहरुलाई पनि माया बाँड्थिन् रे
खेलाउँथिन् रे/सुम्सुम्याउँथिन् रे
ममताले चुम्दै म्वाइँ खान्थिन् रे
किरा फट्याङ्ग्राले सङ्गीत गरेका गीतहरुमा
मिठो भाका भर्थिन् रे
ओढारको कापमा झुन्डिएर
लार्भा कोरल्दै गरेको
सुत्केरी पुतलीको प्रसव पीडा भुलाउन
आमा वरिपरि आएर
भाले पुतलीहरु रमाई रमाई नाच्थे रे ।

मेरी आमा
घरि तल्लो गरा, घरि माथ्लो गरामा
कम्मर मर्काई मर्काई नाच्थिन् रे
अम्बक, सुन्तला
र भोगटेका बोटहरु दर्शक बन्थे रे
भर्लाका पात, काभ्रा र लाकुरीका बोटहरु
विशाल पहराको छातीमा
झुन्डिएर सुस्तरी ताली बजाउँथे रे
प्रकृतिकी चेली मेरी आमा
हरेक कदममा सफल हुन्थिन् रे
मेरो जस्तो आमाको सपना
कहिल्यै अधुरो हुन्न थियो रे ।

मेरी आमाले
धर्ती बनेर आकाशसँग प्रेम गर्ने
रहर कहिल्यै गरिनन् रे
उनलाई थाहा थियो रे
ती आकाश र तारा हुन्
र उनीहरु त्यहीँ ठीक छन्
नबुझेरै छाडिदिइन् रे
कतिपय आधुनिक कुराहरु ।

मोबाइल कुन चराको नाम हो
मेरी आमालाई कहिल्यै थाहा भएन रे
अनि केको खिच्नु सेल्फी
केको गर्नु फेसबुक च्याट
र, माया लाउनु अञ्जान सोल्टीसित ।
आमाको ‘ब्लाक एण्ड हृवाइट’ जमाना
उसै-उसै सुन्दर थियो रे
मधुमालतीकोे जीवन र चलचित्र जस्तै ।

मेरी आमा
बरु ठूलठूला रुख चढथिइन् रे
छिमलेर भारीका भारी
डालेघाँसका हाँगाहरु झार्रे
आदिवासी मगरातकी मेरी आमा
पूजा गर्दै प्रकृतिको भुमीको आँगनमा
सहर्ष आराधना नाच्थिन् रे
ह्रोरठी र हुर्रा गाउँदै
झ्यउरेको तालमा ताल मिलाई
धरतीसित माया लाउँदै
धाननाच नाच्थिन् रे अनि छुट्ने बेला
दस औँला जोडी गर्थिन् रे
झोर्ले,जेदो,सिमेपउ नमस्कार सबैमा

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar