काभ्रेमा क्वारेन्टीनमा पाँच सय भारतबाट आएको, आरडीटी किट सकियो।


काभ्रेपलाञ्चोक, एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन्। उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ।

हालसम्म करिब पाँच सय भारतबाट आएका छन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भारतबाट पछिल्ला दिनमा दैनिक सयको हाराहारिमा जिल्लावासी आउन थालेको बताए।

‘अब क्वारेन्टिन र बेड थप्नुपर्ने देखिन्छ’, उनले भने।

क्वारेन्टिनमा बसेका तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको परीक्षण गरिनेछ। सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’ बसाइनेछ।

कोरोनाको जोखिम बढेदै गएपछि काभ्रेका १३ स्थानीय तहलगायत विभिन्न संघसंस्थामा ३४२ बेडको क्वारेन्टिन व्यवस्थित गरिएकोमा भारतबाट जिल्ला फर्कन थालेपछि त्यसमा थप गरी ६६५ बनाइएको छ।

भारतबाट जिल्ला फर्कने क्रम जारी रहेकाले आवश्यकता अनुसार थप्दै जाने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए।

‘हजारबढी जिल्लाका बासिन्दा भारतमा बस्दै आएको तथ्याङ्क देखिन्छ, सबै फर्कंदा बेड अपुग हुने हुँदा थप्ने योजना बनाइरहेका छौँ’, उनले भने।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष छ।

पोष्टका अनुसार शुक्रबार ८५, शनिबार ९९, आइतबार ९३ र सोमबार ११८ जिल्ला फर्किएकालाई स्थानीय क्वारेन्टिनमा राखिएको छ।

मजदूरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा रहेको केन्द्रले जनाएको छ। भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका नागरिक रहेको जनाइएको छ।

गतसाल माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएका थिए।

त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको थियो।

यसैबीच, जिल्लामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव रहेको छ।

झाले भने, ‘आरडीटी किट अभाव भएकाले स्वास्थ्य मन्त्रालय धाइरहेको छु, मन्त्रायले विभाग देखाउँछ विभागले प्रदेश, किट आवश्कयता भइसक्यो आफैं अलमलमा छु।’

उनका अनुसार जिल्लामा आएको २१०० आरडीटी किट सकिएको छ।

(रासस)

यो पनि पढौ:वि.सं.२०७७ साल जेठ २० गते मंगलबार यी राशिहरुका लागि लाभदायी पढ्नुहोस
प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६९५ पुग्यो
‘जुम एप’ मा नयाँ विषेशता थपिए

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar