नेकपा स्थायी कमिटाि बैठक चल्दै: यी ७ वटा एजेण्डामा स्थायी कमिटी सदस्यले विचार राख्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न सातवटा एजेण्डामा स्थायी कमिटीका सदस्यले आ-आफ्नो धारणा राख्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । बिहान ११ बजेका लागि तय भएको बैठक ४५ मिनेट ढिलोगरीमात्र सुरु भएको छ ।

बैठकको उद्घाटन मन्तव्यका क्रममा नेताहरुबीच परस्परविरोधी अभिव्यक्ति आएपछि दुवै पक्षले त्यसैअनुसार आजको बैठकमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूलाई घेराबन्दीमा पारिएको जनअपेक्षा अनुसार सरकारले काम गर्दा पनि आलोचना भएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसको प्रतिवाद गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम गराइको गतिले अबको ढाइवर्षमा पार्टी समाप्त हुँने बताएका थिए ।

प्रधानमन्त्री ओलीले बोल्दै गर्दा वरिष्ठ नेता माधव कुमार नेपालले त्यसको प्रतिवाद गरेका थिए । ओलीले सरकारको काम जनअपेक्षा अनुसार भएको तर्क गर्दा नेपालले ‘जनतालाई गएर सोध्नुस्, गुणगान सुनेर कानै दुखिसक्यो’भनेर टिप्पणी गरेका थिए ।

पार्टी अध्यक्षले प्रष्टसँग दुई लाइनमा आआफ्नो मन्तव्य राखेपछि स्थायी कमिटी सदस्यहरुले पनि दुईधारमा कुरा गर्ने तयारी गरेका छन् । ओली निकट नेताहरुले सरकारको कामको बचाउ गर्ने र पार्टीमा प्रधानमन्त्री ओलीलाई अप्ठयारोमा पार्न खोजिएको जिकिर गर्ने तयारी गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्रीको दुवै पदबाट राजीनामा माग्नेगरी तयारी थालेका छन् । उनीहरुले अनौपचारिक छलफल गरेर बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरेका छन् । प्रधानमन्त्री ओलीले कि प्रधानमन्त्रीबाट होइन भने अध्यक्षबाट राजीनामा दिनु नै अहिलेको निकास भएको एक सचिवालय सदस्यले बताएका छन् ।

यी हुन् ७ वटा एजेण्डाहरु

१.वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे संबाेधन ।

२.काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।

३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।

४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।

५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।

६.एममसीसीका सम्बन्धमा ।

७.विविध ।

क.रूकुम घटना

ख.नागरिकता विधेयक र

ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।

बुधबारको बैठकमा सरकार र पार्टी सञ्चालनका विषयमा ओली र प्रचण्डले फरक–फरक बुझाइको मन्तव्य राखेपछि तयार भएको ध्रुवीकरणको आधार बिहीबार भएका भेटमार्फत भत्काउने कोसिस भएको छ । बिहीबार ओली–प्रचण्ड र प्रचण्ड–नेपालबीच संवाद भएको छ । दुवै संवादमा महासचिव विष्णु पौडेल सहभागी थिए ।

दुई अध्यक्षले बुधबारको बैठकमा एक–अर्काप्रति आक्रामक अभिव्यक्ति दिएपछि उत्पन्न तरंग कम गर्न नेकपाभित्र गृहकार्य सुरु भएको छ । बैैठकको सुरुकै दिन बुधबार दुई अध्यक्षले सरकार र पार्टीका विषयमा फरक खालका अभिव्यक्ति दिएपछि त्यसको असर शुक्रबारको बैठकमा पर्ने आकलन भइरहेका वेला तरंग कम गर्ने कोसिस भएका हुन् ।

यसै सिलसिलामा बिहीबार शीर्ष नेताहरूबीच संवाद भएका छन् । बैठक सञ्चालनका विषयमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । भेटमा सकभर तीन दिनभित्र बैठक सक्ने गरी छलफललाई व्यवस्थित गर्ने गरी बैठक सञ्चालन गर्ने विषयमै केन्द्रित रहेर छलफल भएकोे जनाइएको छ । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

बालुवाटारको भेटघाटपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दागर्दै वरिष्ठ नेता नेपालले आपत्ति जनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नै पालोमा बोल्न सुझाएका थिए, जसको असर शुक्रबारको बैठकमा देखिने सम्भावना भइरहँदा बिहीबार भेट भएका हुन् । बालकुमारीस्थित एक नेताको घरमा भएको छलफलमा महासचिव पौडेल पनि सहभागी थिए ।

स्रोतका अनुसार बैठकको सुरुकै दिन देखिएको अविश्वास र असन्तुष्टि थप बढ्ने र जटिलता आउने आकलनपछि महासचिव पौडेलले बैठकलाई मर्यादित बनाउने र सहमतिमा टुंगाउने कोसिसका रूपमा यस्ता भेटघाट गराएको बताइएको छ ।

नेकपा स्थायी कमिटी बैठकमा प्रस्तावित सात एजेन्डामा तीन कोणबाट बहसको सम्भावना छ । मध्यमार्गी विकल्पमा जान केही नेताको सुझाब छ । पदीय जिम्मेवारीका कारण पनि पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलनका आधारमा ओली–प्रचण्डले कमजोरी स्वीकार गरेर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने र वरिष्ठ नेता नेपाललाई पनि सम्मानजनक भूमिका र विश्वाससहित लिएर अघि बढ्नुपर्ने ‘मध्यमार्गी’ धारको प्रतिनिधित्व गर्दै धारणा राख्ने उनीहरूको तयारी छ ।

रामबहादुर थापा ‘बादल’, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, शक्तिबहादुर बस्नेतसहित सरकारबाहिर रहेका टोपबहादुर रायमाझी र मणि थापालगायतले यस्तै तेस्रो धारको ‘मध्यमार्गी’ धारणा राख्ने तयारीमा छन् ।

ती नेताहरू ओली र प्रचण्डको समझदारीबाटै प्रधानमन्त्रीमा विकल्प नखोज्ने, तर अध्यक्षमा ‘पावरसेयरिङ’देखि मन्त्रिमण्डल पुनर्गठनसम्मका मुद्दामा सहमति खोजेर जानुपर्ने पक्षमा छन् । अहिलेको पेचिलो अन्तर्संघर्ष त्यसैगरी ‘गिभ एन्ड टेक’मा टुंगिने बुझाइमा रहेका उनीहरू बैठकमा समेत त्यसैगरी धारणा राख्ने तयारीमा छन् ।

‘दुवै अध्यक्षले उद्घाटन मन्तव्य राख्दा आफैँलाई केन्द्रमा राखेर कुरा गर्नुभयो, तर आफ्ना कमजोरी स्वीकार नगर्दा त्यसले सरकार, पार्टी र देशको हित गर्दैन, किनभने दुवैको कमजोरी छ भन्ने मत पनि स्थायी कमिटीदेखि पार्टीपंक्तिमा बलियो छ,’ मध्यमार्गी धारसहित प्रस्तुत हुने तयारीमा रहेका एक स्थायी कमिटी सदस्यले भने, ‘क्लाइमेक्समा झगडा गरे पनि विन–विनमा टुंग्याउने उहाँहरूको अढाई वर्षदेखिको खेलोमेलो त्यही छ, यो पुस्ताले केपी, प्रचण्ड र माधव तीनै नेतालाई राम्रैसँग चिनेकै छ, त्यसैले ढुक्क भए हुन्छ बैठकमा अल्पमत–बहुमत हुँदैन, गिभ एन्ड टेकमै सकिन्छ, त्यसभन्दा अर्को विकल्प पनि छैन ।’

शीर्ष नेताहरूको प्रस्तुतिप्रति जनता र कार्यकर्तापंक्तिमा राम्रो बुझाइ नरहेकाले पनि ‘फाइट टु फिनिस’को लडाइँ लड्ने स्थितिमा ओली र प्रचण्ड दुवै नभएकाले पनि परिस्थितिले लेनदेनमै सहमति हुने सम्भावना रहेको पनि ती सदस्यले बताए ।

एक व्यक्ति, एक पदको नीति कार्यान्वयनका लागि कार्यकारी अध्यक्ष प्रचण्डलाई यसअघिको समझदारीअनुसार स्थायी कमिटीबाटै मूर्त हुने गरी निर्णय गरेर अधिकार दिएर प्रधानमन्त्री सरकारको काममा केन्द्रित हुने, कमजोर कार्यसम्पादन भएका कम्तीमा आधा दर्जन मन्त्रीलाई बिदा दिएर मन्त्रिमण्डल हेरफेर गर्ने, कम्तीमा दुईदेखि तीन प्रदेशका मुख्यमन्त्री हेरफेर गरेर वरिष्ठ नेता नेपाललाई पनि स्पेस हुने गरी निर्णय गर्नेबित्तिकै अर्को चुनाव र महाधिवेशनसम्म पार्टी एकढिक्का भएर अघि बढ्न सक्ने मध्यमार्गी धारका ती सदस्यले शीर्ष तहमा त्यसका लागि गृहकार्यको संकेतसमेत देखिएको दाबी पनि गरे ।

पछिल्ला दिनमा ओली, प्रचण्ड र नेपालसँग निरन्तर संवादमा रहेका नेता मणि थापाले पनि दुई अध्यक्षबीच सहमति गरेर पार्टीलाई बचाउनुबाहेक अर्को कुनै विकल्प नरहेको बताए । ‘पार्टीमा छलफल हुनै बाँकी छ, अहिल्यै आन्तरिक विषयमा बोल्ने कुरा त उपयुक्त हुन्न, तर पार्टीको हितका लागि अरू नेतालाई समेत विश्वासमा लिएर दुई अध्यक्ष मिल्नुबाहेकको विकल्प म देख्दिनँ,’ थापाले भने ।

मन्त्रीको जिम्मेवारीमा रहेका पूर्वएमाले र पूर्वमाओवादी समूहका नेता र सरकारबाहिर रहेकासहित नौ–दशजना नेता पनि व्यक्तिकेन्द्रित नभईकन सरकार र पार्टी कामका कमजोरीको आलोचना पनि गर्ने र भएका राम्रा कामका सकारात्मक कोणबाट पनि कुरा उठाउने मनस्थितिमा छन् ।

दुवै समूहका तयारी उस्तै

बिहीबार साँझसम्मको अवस्थालाई हेर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू एक व्यक्ति ः एक पदको मुद्दा मुखर बनाउँदै प्रधानमन्त्री केपी ओली र उनको समूहलाई गलाउने रणनीति छन् ।

सरकार र पार्टी कामको समीक्षालाई मूल एजेन्डा बनाएर प्रधानमन्त्री ओलीलाई एक पद छाड्न बाध्य पार्ने रणनीतिविरुद्ध उनीनिकट नेताहरू भने सशक्त प्रतिवादको आन्तरिक तयारीमा छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबारबाट सुरु हुने एजेन्डाकेन्द्रित छलफलका लागि दुवै समूहले स–सानो समूहको भेटघाट र टेलिफोन संवादमार्फत आन्तरिक रणनीति बनाएका छन् ।

बुधबार र बिहीबारको आन्तरिक छलफलपछि ओली समूहका नेताहरू बहुमत–अल्पमतको खेलले पार्टी एकता, कम्युनिस्ट आन्दोलन धरापमा पर्ने भन्दै ओली समूहका नेताहरू पनि सशक्त प्रतिवादको तयारीमा जुटेका छन् । प्रचण्ड–नेपाल समूहभित्र सकभर बहुमत जुट्नै नदिने रणनीतिमा रहेको ओली समूह भने आन्तरिक गृहकार्यबाट अन्तिममा केही ‘पावर सेयरिङ’का साथ बैठक टुंग्याउने पक्षमा छ ।

दुई महिनादेखि लगातार बैठक माग गर्दै आएका प्रचण्ड–नेपालनिकट नेताहरू सरकार र पार्टी सञ्चालन दुवैतिर असफल देखिएका कारण पार्टी एकताका लागि ओलीले एक पद छाड्न संगठित दबाब दिएर झुकाउने रणनीतिमा लगातार क्रियाशील छन् ।

‘एउटा नाउमा चढ्दा पार तरिन्छ, दुई नाउमा खुट्टा हालेर पार तर्न खोज्दा ढलपल भएर डुंगै डुब्ने खतरा हुन्छ, अहिले प्रधानमन्त्रीको हकमा त्यस्तै स्थिति देखिएकाले त्यही कोणबाट छलफलमा कुरा उठ्नेछ,’ पछिल्लो समय नेपालनिकट रहेका नेता मुकुन्द न्यौपानेले भने, ‘त्यसकारण म अहिलेदेखि होइन, पहिल्यैदेखि पार्टीभित्र एक व्यक्ति : एक पदको सिद्धान्त लागू गरेर जानुपर्छ भन्ने पक्षमा छु ।’

दक्षिण एसियामै एउटै व्यक्तिमा शक्ति केन्द्रित गर्ने कुराले पार्टी र देश सञ्चालन हुन नसकेको उदाहरण रहेकाले बैठकको छलफल त्यसैमा केन्द्रित हुन सक्ने सम्भावनासमेत न्यौपानेले औँल्याए । ‘सबै पद एउटै व्यक्तिमा केन्द्रित हुँदा सञ्चालन हुन सक्दोरहेनछ भन्ने दक्षिण एसियाकै थुप्रै उदाहरण छन्, भारतको अनुभव पनि त्यस्तै हो,’ न्यौपानेले भने, ‘उहाँले सरकार चलाइरहनुभएको छ । अहिले सरकारले गर्ने कामबाटै मुलुकलाई प्रभाव पार्ने हो । राज्यसत्ता सञ्चालनको प्रमुखका रूपमा सरकार सञ्चालनलाई व्यवस्थित रूपमा गति दिनुभयो भने त राष्ट्र नै उहाँको पक्षमा भएपछि उहाँले किन दुईतिर लोभ गरिराख्नुपर्छ र ?’

स्थायी कमिटीको चालू बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने, एमसिसी र विविध विषयको एजेन्डा छलफलका लागि प्रस्तावित छ । विविधअन्तर्गत भने रुकुम घटना, नागरिकता विधेयक र संघीय संसद्का सदस्यहरूको भत्ता कटौतीको विषय एजेन्डामा राखिएको छ ।

ओली समूहका नेताहरू भने सरकारले नक्सा प्रकाशन, नागरिकता विधेयक, कोभिड–१९ को महामारीको सफल ढंगले सामना गरिरहेका वेला एक व्यक्ति : एक जिम्मेवारीको मुद्दा उठाएर राष्ट्रिय हितविरोधीलाई टाउको उठाउने, विदेशी शक्तिलाई खेल्ने मैदान खडा हुने र त्यसले अन्ततः पार्टी एकतालाई नै ध्वस्त बनाउन सक्ने भन्दै सरकारको सकारात्मक कामको फेहरिस्तसहित प्रतिवादमा उत्रिने तयारी गरेका छन् ।

बिहीबार संसदीय दलको कार्यालयमा केही सञ्चारकर्मीसँगको कुराकानीमा दलका उपनेता सुवास नेम्वाङले सरकारको समीक्षा अपरिहार्य रहे पनि अहिलेको अवस्था उपयुक्त नरहेको बताएका छन् ।

ओलीनिकट अर्का नेता सत्यनारायण मण्डलले पनि कोरोना महामारीविरुद्ध एकजुट हुनुपर्ने र भू–राजनीतिक तनाव, नक्सा प्रकाशनपछि राष्ट्रिय एकता मजबुत बनाएर जाने वेला पार्टीभित्रै नेताहरूले ‘गाँड कोराकोर’ गरेर जाने उपयुक्त समय नै नभएको बताए ।

‘पार्टी एकीकरणपछिको दुई वर्षको काम र सरकारको कामको एकचोटि समीक्षा गर्नैपर्छ, तर अहिले गाँड कोराकोर गर्ने वेलै होइन,’ मण्डलले भने, ‘सत्य–तथ्यका आधारमा गल्ती औँल्याइयो भने कम्युनिस्ट पार्टीका नेताहरूले महसुस गरेरै जानुपर्छ, तर संयमता नअपनाई अनिष्ट निम्त्याउने गरी जाने हो भने आफूसँगै कम्युनिस्ट आन्दोलन पनि खाडलमा पुरिन्छ भन्ने तथ्यलाई शीर्ष नेताहरूले ख्याल गर्ने गरी प्रस्तुत हुनुपर्छ ।’

बुधबार बसेको बैठकमा अध्यक्ष ओली र प्रचण्डबाट सरकार र पार्टी सञ्चालनका विषयमा फरक–फरक बुझाइको मन्तव्य आएपछि शुक्रबारबाट सुरु हुने छलफलमा ध्रुवीकरणको आधार खडा गरिसकेको छ ।

तपाइलेDigital currency exchangers यो पनि पढ्नुहोस।

यो पनी पढौ:‘आगामी आर्थीक वर्षमा १५ सयमेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थपिन्छ’ उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन मगर’अनन्त’
मगर भाषिक रचना वाचन प्रतियोगितामा पुरुष तर्फ बिजेता बनेका दिलु आलेले गरे मृगौला रोगिलाई सहयोग
थप संक्रमण ६२९ जना,कुल संक्रमितको १०,७२८ जना पुग्यो, निको हुनेको संख्या २,३३८ जना पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar