मेरो धर्म के हो ? -बलबहादुर घर्तीमगर

📝बलबहादुर घर्तीमगर

म हुर्केकोको समाज आजका तथाकथित आधुनिक धार्मिक सम्प्रदायभन्दा निक्कै फरक थियो । त्यहाँ कुनै पाप र धर्मको कुरा थिएन । त्यहाँ कुनै भगवान र राक्षसको कल्पना थिएन । त्यहाँ नत स्वर्ग र नर्कको कुरा नै थियो ।
बरु त्यहाँ बुज्यूहरुको चोखो चुल्हो थियो । वंशको प्रतिक मयनखम्बा थियो । पितृलाई सास दिने खोपी थियो । शिरे, सिमेभूमे, सातसल्ले र देउरालीको अस्तित्व थियो ।
चोखो चुल्होमा जुठो पार्न नहुने आमाबाट पाठ सिकेर हुर्केँ । औँसी र पुन्नीमा चुल्हो चोख्याएको देखेँ । टिमूर र जहूँ पोलेको देखेँ । तितेपातीको धुप दिएको देखेँ । बाली पाकेपछि पहिलो छाक पकाएर उनै बुज्यूहरुलाई चुल्होमा अर्पेको देखेँ ।
मयनखम्बामा मेरा बाले पूर्वजहरुको नाममा धजापाती दिएको देखेँ । सुँगुरको वितलो परेको बखत मयनखम्बालाई तिते पातीले चोख्याएको देखेँ । त्यही खम्बालाई साक्षी राखेर धेरै ठूला निर्णय गरेको देखेँ । लाहुर जाँदा र आउँदा लाहुरेहरु खम्बा ढोगेर आशिर्वाद लिएको देखेँ ।
मिठो मसिनो पाक्दा आमाले पितृको नाममा टपरी खुटेर खोपीमा सास दिएको देखेँ । इस्टको पाहुर पितृको नाममा सास दिएको देखेँ । बाले बटुकाको जाँड पितृको नाममा सक्क फालेर मात्र पिएको देखेँ । बाटाघाटामा अर्नी खानु अघि लागोभागो र वायो नलागोस् भनेर अर्नीको सानो भाग सक्क फालेको देखेँ ।
सिमेभूमेको अनुष्ठान गरेको देखेँ । सातसल्लेलाई धजापाती फाल्दै मान राखेको देखेँ । पालुथानमा पूजा गरी पशुधनको रक्षा गरेको देखेँ । वर माग्न बराहाको पूजा गरेको देखेँ । देउरालीमा पाटी फालेको देखेँ । विसौनामा पितृको सामुहिक अनुष्ठान गरेको देखेँ ।
यी अनगिन्ती संस्कारका श्रृंखलाले एउटा मानव व्यक्तित्व निर्माण गर्दो रहेछ । सही र गलत छुट्याउने मानक दिदोरहेछ । व्यक्तिको चरित्रको रचना गर्दोरहेछ । मान्छेको भावनासँग जोडिएका खुशी, दु:ख, रिस, आरिस, लोभ जस्ता आवेगको प्रारुप दिदोरहेछ । संसार हेर्ने दृष्टिकोण तय गर्दो रहेछ ।
हरेक मानिसले जीवन र जगतलाई आ-आफ्नो ढंगले हेर्छन् भन्ने थाहा थियो । मानिसहरुमा फरक सोँच मात्र होइन उनीहरु भिन्न पनि हुन्छन् भन्ने थाहा थियो । मेरी बज्यूले गर्मी याममा घामसँग गुनासो गरेको सुनेको छु, अनि जाडोमा ठण्डीसँग । बर्षातमा आकाशसँग झर्किनु भएको देखेकोछु । यही विरोधाभाषकाबीच बालबालिका, प्रौढ र बुढाबुढीहरु फरक भएपनि एउटै घरमा अटाएको देखेकोछु ।
जन्ममा मौन मानिसहरु मृत्युमा शोकाकूल भएको पाएकोछु । यी दृष्टान्तहरुले मेरो जीवन दर्शनको मौलिक विश्वास पैदा गरेको थियो । म मेरो हुर्काईसँगै पूर्ण मानव जीवनको निर्धारक बुझेको थिएँ ।
कूलप्रतिको इमान्दार प्रतिवध्दता, पितृप्रतिको अगाढ श्रध्दा तथा प्रकृतिमा मौजुद जीवनप्रति विश्वास जगाएर सम्पूर्ण मानव बन्न मेरो बुज्यू, आमा, बा र मेरो समुदायबाट सिकेँ । मैले सिकेको जीवन दर्शनको सार नै कूल, प्रकृति र पितृ थियो ।

धर्मले मलाई कन्फ्युज बनायो
राज्यले माग गरेका बखत एक नागरिकका हैसियतले विभिन्न व्यक्तिगत विवरण उपलब्ध गराउने बेला त्यहाँ धर्मको महल हुन्थ्यो । मलाई त्यही महलले कन्फ्यूज पार्थ्यो । मेरो बुज्यूले मलाई कहिल्यै पनि मेरो धर्मको नाम बताएनन् । तिम्रो आचरणको उपज फलानो धर्म हो भनेर कसैले सिकाएन । यस्ता प्रशासनिक बाध्यता आइपर्दा म ती महलहरु त्यत्तिकै खाली छोड्थेँ । सायद खाली ठाउँ देखेपछि बहिदारले आफै भरिदिन्थ्यो । त्यसैले होला धर्म नमान्नेको जनसंख्या नेपालको जनगणनामा पनि देखिएन । अर्थात म देखिएन ।
कतिपय ठाउँमा कसैले सुझाएपछि धर्मको महलमा हिन्दु पनि लेख्थेँ तर मेरो चित्त पटक्कै बुझ्दैन थियो । म हिन्दु धर्म संस्कृतिका केही कुरा बुझ्ने भएपछि हिन्दु धर्मसँग मेरो आचारण निकै विरोधाभाषपूर्ण देखेँ । मेरो कर्महरु हिन्दु वर्णाश्रम अनुसार भएकै थिएनन् । अनि म हिन्दु वर्णव्यवस्थाको कुनै पनि संरचनामा आफूलाई भेटाएन । म हुर्केको संस्कारमा पुरेतको भूमिका नै छैन । मैले मन्दिरहरु देखेकै थिएन । मन्दिरमा कसरी पूजा गर्छन् त्यो पनि थाहा थिएन । म त देवीदेउतालाई थानमा पाटी अर्पेर हुर्केको थिएँ । धजा अच्छेटा बुझाएको देखेको थिएँ । मन्दिरमाको मुर्ती रिझाउन फूलप्रसाद टकराउन आउँदैनथ्यो । नत म भगवान बुझेको थिएँ नत भगवानसँग के माग्नु पर्थ्यो भन्ने थाहा थियो ।
मैले त कन्यादान भन्ने सुनेकै थिएन । बरु भान्जबाट चार बजाएको थाहा छ । विवाहमा बेहुलीले वंशको मयनखम्बा र चोखो चुल्हो अनुष्ठान गरेको थाहा छ । समस्त बन्धु र कुटुम्बको आशिर्वादमा सात्ताली बाचासहित बेहुलाबेहुलीको निधारमा अखण्ड दहीचामलको सेतो सगुन टीका समपुरा कन्याबाट लगाईदिएको थाहा छ ।
मृत्यू संस्कारमा न त शंख बजाएको थाहा छ न त गरुढ पुराण नै सुनाएको । बरु दमा बजाएर शोक गीत गाएको सुनेको छु । पितृलोकसम्म सजिलै पुग्न सेतो गजिनाको बाटोसँगै शवयात्रा गरेको थाहा छ । मृतकको भिरामा कुटुम्बको भूमिका देखेको छु ।
केही वर्ष अघि मगर जाति बौध्द धर्मालम्बी भन्ने ह्वीम आयो । मगरहरुको धर्म बौध्द धर्म हो रे भन्ने चेतना मगरहरुको घर घरसम्म सल्कियो । म पनि त्यही लहलहैमा मिसिएँ । मैले पनि कतिपय सरकारी विवरणमा मेरो धर्मको महलमा बौध्द लेखाएँ । यसले पनि मलाई शान्ति भएन । यसले मलाई आफूले आफैलाई ढाँटेको महसुस भयो । मैले बौध्द धर्मालम्बीका आचरण हेरेँ ती विल्कुल भिन्न थिए ।
एकताका हाम्रो जिल्लामा काठमाण्डौबाट केही भिक्षुहरु आए । उनीहरुले बौध्द धर्म सम्बन्धी प्रवचन चलाए । मगर सम्बध्द कुनै संस्थाको व्यवस्थापनमा थियो त्यो कार्यक्रम । त्यहाँ पनि सहभागी भएँ । ती लामा गुरुहरुले नव बौध्दमार्गीहरुलाई नयाँ नाम दिदा रैछन् । तिब्बती भाषाको नाम । म आफै उच्चारण गर्न नसक्ने भिन्न नाम । मैले पनि त्यो नाम पाएँ । उनीहरुले मानव जीवनको सार्थकता वौध्द दर्शनको आधारमा बताए । बौध्द गुरुहरु मार्फत बुध्दसँग जोडिने कुरा सुनाए । कर्मकाण्डको बारेमा चर्चा गरे ।
साँझ घर फर्केर आएँ । मेरो मनमा द्विविधा र अनेकौँ प्रश्नहरु उठिरहेका थिए । त्यो रात म भयानक सपनाको सामना गर्नु पर्यो । रमा जस्ता अनौठा रुप धारण गरेकाहरुले मलाई ढ्याङ्ग्रो ठटाउँदै लखेट्न थाले । म निकै भागेँ । व्युझिएँ । फेरी निदाएँ । फेरी त्यही भयानक डरलाग्दो सपना दोहोरियो । म मध्येरातमा बाहिर गई तितेपाती टिपेर ल्याएँ । अनि मेरो कूल र पितृको नाममा मयनखम्बामा तितेपाटी अर्पेँ । म विराएँ अब कहिल्यै पनि तिम्रो अवमुल्यन गर्ने छैन भनि माफी मागेँ । त्यसपछि म सुतेर भोलिपल्ट व्युझिएँ । त्यो सपना फेरी दोहोरिएन ।
त्यो सपनाले मलाई नयाँ धर्म ग्रहण गर्न रोक्यो । मेरो कुलकुलामी, पितृ र मैले घरमा गर्दै आएको मेरो आफ्नो संस्कारलाई निरन्तरता दिइरहेँ । मेरो बाल्यकाल पुजारीको भूमिकामा हुर्केको थियो । मेरो गाउँ छिमेक र मेरै घरमा पनि सबै प्रौढपुरुषहरु लाहुर जाने भएकोले बज्यु र आमाले मलाई पुजारीको भूमिका निर्वाह गर्न लगाउँथे । म बाल पुजारी थिएँ । मेरो आफ्नै पूर्वजहरुले विकास गरेको संस्कारले निर्माण भएको मेरो मनोवैज्ञानिक सफ्टवेयरले अर्को संस्कारलाई सहज स्वीकार गर्न सक्दो रहेनछ भन्ने बुझेँ ।
म एक पटक दाङ झरेको थिएँ । त्यहाँ एक निजी विध्यालयका प्रिन्सिपल ईसाई रहेछन् । तिनले होस्टेलमा बस्ने बच्चाहरुलाई हरेक शनिवारका दिन स्कूलकै हलमा प्रार्थना गर्न लगाउँदा रैछन् । म विध्यालयको अभिभावकको हैसियतले ईशाइ प्राथना कार्यक्रममा सहभागी भएँ । त्यहाँ आसपासका ईशाइ छिमेकीहरु पनि आउँदा रैछन् । पाश्चरले दिएको प्रवचन सुनेर त्यहाँ जम्मा भएका केही व्यक्ति बौलाए झै रोएको देखेँ । मैले सोधेँ, यो कसरी संभव हुँदो रहेछ ? त्यहाँ उपस्थितहरुले भन्थे पाप पखालिन थालेको बेला मान्छे यसरी नै रुन्छ । बटिस्मा गरेर आत्मा शुध्दिकरण गर्न सकिने बताए । हरेक मानव अशुध्द हुने र ईशाइ अंगालेपछि शुध्द हुने धारणाले मलाई आकर्षित गरेन ।
२ वर्ष हिरोशीमा विश्वविध्यालमा रहँदा बङ्गाली, पाकिस्तानी, अफगानी, किर्गिज र इन्डोनेसीयन मुस्लिम साथीहरुसँग बसियो । उनीहरुको धर्ममा पनि दुष्टको अवधारणा रहेछ । उनीहरुको धर्मले खानालाई परिभाषित गरेको रैछ । हलाल र हराम गरी दुई किसिमको खाना हुँदो रैछ । मुस्लिम समुदायले हलाल खाना मात्र खाँदा रैछन् । जापानका हरेक सहरमा ती समुदाय लक्षित हलाल पसलहरु पनि छन् । मुस्लिमहरुका निमित्त विश्वविध्यालयका हरेक विभागमा नमाज गर्न अलग्गै रुमहरु पनि थिए । हरेक दिन दिउँसो ती साथीहरु नमाज रुममा भेला हुन्थे र प्रार्थना गर्थे । कतिपय मुस्लिम साथीहरुले पाटीहरुमा हराम खाना नखाने बताए पनि कतिपयले हामीसँगै सुँगुर र रक्सी खाने गरेको देखेँ ।
जापानमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार ६९ प्रतिशत मानिसहरु एनिमिष्ट छन् अर्थात आफ्नो लोक परम्परा सिन्थोलाई आफ्नो धर्म मान्छन् । यदि तथाकथित विश्वका मुख्य धर्मका अनुयायीहरु मात्र मानवीय र नैतिकवान हुने भए जापानीहरु संसारकै नैतिकवान मानव कसरी बने ? उनीहरुमा करुणा कसरी विकास भयो ? मान्छेलाई मानवीय बनाउन धर्मको फ्रेममा नभएका अन्य थुप्रै प्रकृतिवादी मानव सृजित संस्कार र संस्कृतिबाट पनि संभव छ भन्ने यसले सिध्द गर्दछ ।
त्यही बखत धर्म नै नभएका थुप्रै साथीहरु पनि भेटेँ । अमेरिकन, युरोपियन, चिनीयाँ र भेटनामीहरु जसको कुनै धर्म नै छैन । उनीहरु धर्मको कुरामा रुचि नै राख्दैनन् । कतिपयले मानव जीवन स्वच्छन्द हुनु पर्छ भन्ने धारणा राख्थे । जीवनलाई कुनै धार्मिक विश्वास वा राजनीतिक विचारधाराको वन्धनमा बाँध्नु हुँदैन भन्ने ठान्थे । कतिपयले धर्म एक रुढी मनोविज्ञान भन्ने बुझ्थे । कतिपयले धर्म भनेको के रैछ आफूले बुझ्दै नबुझेको भन्थे ।
यी परिस्थिति र अनुभवले मलाई सबै धर्मबारे बुझ्ने अवसर मिल्यो । ब्रमाण्डमा हाल ७.८ अर्व मानिसहरु बसोबास गर्छन् । यी मध्ये ३१.४ प्रतिशत मानिसहरु ईशाइ छन् । २३.२ प्रतिशत मुस्लिम छन् । १५ प्रतिशत मानिसहरु हिन्दु छन् । ७.१ प्रतिशत मानिसहरु बौध्द धर्म मान्दछन् । आफ्नो लोक धर्म अर्थात एनिमिष्ट मान्नेहरु ५.९ प्रतिशत रहेछन् । अन्य धर्म मान्नेहरु १ प्रतिशत रहेछन् । बाँकी १६.४ प्रतिशत अर्थात १.२७ अर्व मानिसहरुको कुनै पनि धर्म रहेनछ ।
धर्म नभएका मानिसहरुको संख्या विकसित भनिएका मुलुकहरु अमेरिका बेलायत अष्ट्रेलियामा बृध्दि भैरहेको छ । अमेरिका बेलायत र अष्ट्रेलीयामा क्रमश २६, २५.७ र ३०.१ प्रतिशत मानिसहरु कुनै पनि धर्मसँग सम्बध्द नरहेको ती देशका पछिल्ला जनगणनाले उल्लेख गरेका छन् ।
पाप र धर्मलाई विपरितार्थ शब्दको रुपमा बुझ्ने गरिन्छ । तत्कालिन मानव समाजमा बढ्दो अमानवीय आचरणलाई हटाई सबैमा मानवता भर्न सबै धर्मको विकास भएको हो । आजको आधुनिक राज्यहरुमा विध्यालय, राजनीति, प्रशासन, न्यायलय र समाजले आफै सक्षम र अशल नागरिक विकास गर्ने भएपछि विकसित मुलुकहरुमा धर्मको ‍औचित्य सकिएको हो । यहि कारण धर्मबाट विच्छेद संख्या विकसित मुलुकमा बढीरहेको छ ।
नेपालको सन्दर्भमा भने धेरै जसो सरकारी विवरणमा धर्म नमान्नेहरुको महल छैन । आफ्नै लोक परम्परा अनुसार एनिमिष्ट संस्कार भएका धेरै आदिवासीहरुलाई पनि तिम्रो मूलधर्म यो हो भनि हिन्दु बौध्द वा अन्य अमूक धर्मको फ्रेमभित्र राखेर उपनिवेशीकरण (Colonization) गरिएकोछ । ‘एनिमिष्ट’ प्रकृतिका हरेक पदार्थहरु जस्तो पहाड पर्वत नदी ढुंगा रुख लगायत सम्पूर्णमा आत्मा हुन्छ भन्ने मान्यता हो ।
धेरैलाई लाग्छ धर्म विना मानिस पशु समान हुन्छ । तर यो अवधारणा थोत्रो भइसकेको छ । बरु धर्मले मानिसलाई पशु बनाएको छ । आँखामा पट्टी लगाएको छ । तर्क गर्ने क्षमता घटाइदिएको छ । प्रश्न गर्ने आत्म विश्वास लुटिदिएको छ । इश्वरको नाममा सवालहरुलाई पूर्णविराम लगाइएको छ ।
धार्मिक विश्वास नितान्त व्यक्तिगत भएकोले व्यक्तिको विश्वासप्रति प्रश्न गर्ने मेरो हक छैन । तर सबै मानिसहरु कुनै न कुनै धर्मको अनुयायी हुन्छन् र हुनुपर्छ भन्ने रुढी र अतिवादी सोँचबाट मुक्त हुनै पर्छ । मानवताका निमित्त अमूक धर्मको अनिवार्यता छैन । कुनै पनि व्यक्ति आफ्नो लोकपरम्परा अनुसार जीवनदृष्टिकोण बनाउन पाउने हक छ । त्यस्तै कुनै पनि व्यक्तिले कुनै पनि धर्म प्रति विश्वास नराख्ने हक पनि छ । यो धर्म निरपेक्षताको शास्त्रीय सार पनि हो ।
धर्म निरपेक्षताको सन्दर्भमा राज्यले व्यक्तिगत विवरणको प्रवन्ध मिलाउँदा उल्लेखित मुध्दालाई ध्यान पुर्याउन आवश्यक छ । कुनै पनि मौलिक रिवाजमाथि अमूक धर्मलाई उपनिवेशीकरण गर्ने हक छैन । मानव हुनुले म के गर्नुपर्छ भन्ने राम्ररी थाहा छ । त्यो कुनै अमूक धर्मले होइन, मेरो पूर्वजले दिएको संस्कारले हो । मेरो पूर्वजहरुले मलाई मानव हुनुले यो गर्नु र यो नगर्नु भनि सिकाएका छन् । ममा मानवीय आचरण छ । यो नै मेरो धर्म हो । मानव हुनलाई कुनै अमूक धर्मको अनुयायी हुनु पर्छ भन्ने छैन ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:कोरोना भाइरसको संक्रमणपछि नेपालमा पनि देखिँदैछ ‘लङ कोभिड’
सामुहिक व्यवसाय र आर्थिक समृद्धिका लागि स्थापित रिडी ग्रुप लिमिटेड सुदुर पश्चिम प्रदेशको आयोजना सम्पन्न
सामुहिक व्यवसाय र आर्थिक समृद्धिका लागि स्थापित रिडी ग्रुप लिमिटेड सुदुर पश्चिम प्रदेशको आयोजना सम्पन्न
प्रहरीको रासन सुविधा बढाउन तयार छुः गृहमन्त्री रामबहादुर थापा मगर(वादल)
गृहमन्त्री रामबहादुर थापा मगर (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ(इयू)का राजदूत नोना देप्रेजले बुधबार शिष्टाचार भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को पहलमा हट्यो सोलु करिडोर प्रसारण लाइन निर्माणको अवरोध
हवाई प्रतिवन्ध हटाउन इयुलाइ गृहमन्त्री रामबहादुर थापा मगर (बादल)को अपिल
आगामी वर्ष पनि विद्युत् शुल्क घटाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर(अनन्त)को उद्घोष
गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले जनताको सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई कडा निर्देश
प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिको माग
एसपी ओम राना मगरको नया कडा एक्सन: वडा दशै,तिहार तथा छटमा सुरक्षा योजना सार्वजानिक
आज अनसन तोडिदै:डाक्टर केसी र सरकार विच के भयो सहमती? (पुर्णपाठ सहित)
प्रदेश नं.५ लाइ मानव पहिचान र सभ्यताको आधारमा मगरात गर्न मगर संघको माग नगरे अन्तराष्ट्रिय अदालतमा दर्ज गर्ने
प्रदेश नं. ५ नामाकरण ‘मगरात थरुहट अवध’ संसदमा प्रस्ताव दर्ता गर्दै एेतिहासिक कार्य
वलात्कार तथा हत्याका अपराधीलाइ कठघरमा ल्याउन कडा कदम चालिएको छ: गृहमन्त्री राम वहादुर थापा मगर(वादल)
गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ भन्नुहुन्छ,’सिमाको सुरक्षाको लागी सवै एक हौँ।


मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar